कांग्रेसप्रति मतदाताको आकर्षण बढ्दै गएको छ : डा. शेखर कोइराला [अन्तरवार्ता]

विवेक विवश रेग्मी १५ फागुन २०८२ १०:३९ | Friday, February 27, 2026
6
SHARES
कांग्रेसप्रति मतदाताको आकर्षण बढ्दै गएको छ : डा. शेखर कोइराला [अन्तरवार्ता]

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि यतिबेला उम्मेदवारहरू घरदैलो अभियानमा व्यस्त छन्। मतदातालाई आफ्नो पक्षमा पार्न विभिन्न एजेन्डासहित उम्मेदवारहरूले चुनावी सभासँगै घरदैलो र भेटघाट बाक्लो बनाएका छन्। नेपाली कांग्रेसका नेतास मोरङ क्षेत्र नम्बर ६ का उम्मेदवार डा. शेखर कोइराला पनि चुनावी अभियानमा व्यस्त छन्। उनी मोरङ-६ सहित देशैभर कांग्रेसप्रति मतदाताको आकर्षण बढेको कोइराला बताउँछन्। संविधान र लोकतन्त्र रक्षाका लागि आसन्न चुनाव अत्यन्तै महत्त्वपूर्ण रहेको उनको भनाइ छ। निकै सुझबुझका साथ मतदान गर्न कोइरालाले मतदाताहरूलाई आग्रह गरेका छन्। कोइरालाले सार्वजनिक गरेको अठोटपत्रसहित मोरङ-६ को विकास निर्माणलगायत विषयमा केन्द्रित रहेर विवेक विवश रेग्मीले गरेको कुराकानीको सारसंक्षेप :

तपाईंले सार्वजनिक गर्नुभएको ८ बुँदे अठोट पत्रको मुख्य सार के हो ?

मेरो अठोटपत्र कुनै औपचारिक दस्ताबेज मात्र होइन, यो मोरङ-६ र देशको भविष्यप्रतिको जिम्मेवारीबोध हो। यसमा पूर्वाधार विकास, शिक्षास्वास्थ्य सुधार, कृषिमा आधुनिकीकरण, उद्योग प्रवर्द्धन, रोजगारी सिर्जना, सुशासन, संविधान र लोकतन्त्रको रक्षा तथा युवामैत्री नीति समेटिएका छन्। यो जनतासँग मेरो बाचा पनि हो।

मोरङ क्षेत्र नम्बर ६ को विकासका लागि तपाईंको पहिलो प्राथमिकता के हुनेछ?

पहिलो प्राथमिकता पूर्वाधार र रोजगारी हो। सडक, खानेपानी, स्वास्थ्यचौकी, विद्यालयको स्तरोन्नति जस्ता आधारभूत काम तुरुन्तै अघि बढाइनेछ। साथै साना तथा मझौला उद्योगलाई प्रोत्साहन गरेर स्थानीयस्तरमै रोजगारी सिर्जना गर्ने स्पष्ट योजना छ।

मुलुकको आर्थिक विकासका लागि तपाईंले के फरक योजना अघि सार्नुभएको छ?

उत्पादनमुखी अर्थतन्त्र निर्माण नगरी देश समृद्ध हुँदैन। कृषि, पर्यटन, ऊर्जा र साना उद्योगमा लगानी वृद्धि गर्नुपर्छ। निजी क्षेत्रलाई प्रोत्साहन गर्दै पारदर्शी नीतिगत वातावरण सिर्जना गर्नु आवश्यक छ। आयातमा निर्भर अर्थतन्त्रलाई निर्यातमुखी बनाउने दीर्घकालीन रणनीति जरुरी छ।

रोजगारी सिर्जनाका विषयमा तपाईंको ठोस योजना के छ ?

युवालाई सीप, प्रविधि र लगानीसँग जोड्नु समाधान हो। प्राविधिक शिक्षा विस्तार, स्टार्टअप कोष स्थापना र कृषि तथा उद्योगमा आधारित रोजगारी कार्यक्रम ल्याउने मेरो अठोट छ। विदेश पलायन रोक्न देशमै अवसर सिर्जना गर्नुपर्छ।

मोरङ-६ लाई औद्योगिक केन्द्रका रूपमा विकास गर्ने कुरा गर्नुभएको छ, कसरी सम्भव छ ?

यो क्षेत्र ऐतिहासिक रूपमा औद्योगिक सम्भावना बोकेको भूगोल हो। लगानीमैत्री वातावरण, कर सहुलियत, सीपयुक्त जनशक्ति र पूर्वाधार विकासमार्फत निजी क्षेत्रलाई आकर्षित गर्नुपर्छ। उद्योग बढेपछि रोजगारी स्वतः सिर्जना हुन्छ, स्थानीय अर्थतन्त्र बलियो बन्छ।

तपाईंको अठोटपत्र अन्य उम्मेदवारभन्दा कसरी फरक छ ?

मेरो प्रतिबद्धता भाषणमा सीमित छैन। विगतको अनुभव, नीति निर्माणमा संलग्नता र विकासप्रतिको स्पष्ट दृष्टिकोणले यसलाई कार्यान्वयनयोग्य बनाउँछ। जनताको विश्वास जितेर परिणाम दिने नेतृत्वको आवश्यकता छ।

संविधान र लोकतन्त्रको रक्षा किन अहिले विशेष मुद्दा बनेको छ ?

संविधान कागजको दस्ताबेज होइन, जनआन्दोलनको बलिदानको परिणाम हो। लोकतन्त्र कमजोर भयो भने विकास सम्भव हुँदैन। अहिले विभिन्न कोणबाट संघीयता, समावेशिता र लोकतान्त्रिक मूल्यमान्यतामाथि प्रश्न उठाइँदै छ। त्यसैले संसद्‌मा सशक्त आवाज आवश्यक छ, जसले संविधानको रक्षा मात्र होइन, यसको प्रभावकारी कार्यान्वयन सुनिश्चित गरोस्। अधिकार, स्वतन्त्रता र समावेशिताको रक्षा गर्दै संस्थागत स्थायित्व कायम गर्नु अहिलेको आवश्यकता हो। यसका लागि दृढ राजनीतिक प्रतिबद्धता चाहिन्छ।

‘अबको नेपाल’ तपाईंको दृष्टिमा कस्तो हुनुपर्छ ?

अबको नेपाल आत्मनिर्भर, समावेशी र अवसरयुक्त हुनुपर्छ। युवाले देशमै भविष्य देख्ने, किसानले उत्पादनको उचित मूल्य पाउने, श्रमिकले सम्मान पाउने र नागरिकले गुणस्तरीय सेवा पाउने नेपाल निर्माण गर्नुपर्छ।

घरदैलो अभियानमा जनताबाट कस्तो प्रतिक्रिया पाइरहनुभएको छ?

अत्यन्तै उत्साहजनक प्रतिक्रिया पाइरहेको छु। जनतामा आशा छ- स्थिरता, विकास र इमानदार नेतृत्वको। त्यो विश्वासलाई परिणाममा बदल्नु मेरो दायित्व हो। यतिबेला कांग्रेस चलायमान भएको छ। क्रियाशील सदस्यदेखि लिएर शुभेच्छुक र पार्टीका विभिन्न जिम्मेवारीमा रहेका साथीहरू अहोरात्र खट्नुभएको छ। भ्रातृ संगठनहरू टोलदेखि वडा हुँदै पालिका र क्षेत्रसम्मै चलायमान भएका छन्। सबै साथीहरूले आआफ्नो जिम्मेवारी पूरा गरिरहनुभएको छ। सबैको सक्रियताले परिणाम कांग्रेसका पक्षमा आउनेमा म ढुक्क छु। मोरङ-६ मा मात्रै होइन देशैभरि कांग्रेसप्रति आममतदाताको आशा र विश्वास रहेको पाएको छ।

निर्वाचनप्रति मतदाता त त्यति उत्साहित छैनन् भन्ने आइरहेको छ नि?

विशेष राजनीतिक परिस्थितिका कारण नेपालमा निर्वाचन हुन गइरहेको छ। यो निर्वाचनले मात्रै मुलुकलाई राजनीतिक निकास दिन्छ। संविधान र लोकतन्त्रलाई सही ट्रयाकमा लान्छ। त्यसो भएकाले मतदाताले पनि परिस्थितिलाई बुझ्नुभएको छ। पाँच वर्षका लागि म्यान्डेट दिएर सांसदहरूलाई निर्वाचित गरेर पठाएका थिए मतदाताले। परिस्थतिले गर्दा बीचमै निर्वाचन हुने अवस्था आयो। सुरुका दिनमा मतदातामा तपाईंले भनेजस्तै केही निराशा र अन्योलको अवस्था थियो। अब त्यस्तो छैन। सबै मतदाता फागुन २१ गतेको पर्खाइमा छन्। असल जनप्रतिनिधि छनोट गर्न उनीहरू आतुर छन्।

विदेश पलायन समाधान होइन। अवसर यहीँ सिर्जना गर्नुपर्छ। सीप विकास, स्टार्टअप प्रोत्साहन, कृषि आधुनिकीकरण र सूचना प्रविधि क्षेत्रमा लगानीमार्फत युवालाई आफ्नै माटोमा भविष्य देखाउने प्रतिबद्धता गरेको छु। – डा. शेखर कोइराला

२०४६ सालको जनआन्दोलनको नेतृत्व गरेको, माओवादीलाई शान्ति प्रक्रियामा ल्याएको, २०६२/६३ को दोस्रो जनआन्दोलनको नेतृत्व गरेको, संविधान निर्माणमा नेतृत्व गरेको, संविधान जारी भएपछि तीनै तहको सफलतापूर्वक निर्वाचन गराएको, संघीयता र लोकतन्त्र संस्थागत गर्न नेतृत्वदायी भूमिका निर्वाह गरेको कांग्रेसप्रति मतदाताहरूको आकर्षण बढ्दै गएको छ। कांग्रेसले मात्रै देशलाई निकास दिन सक्छ भन्ने कुरा आममतदाताले बुझिसक्नुभएको छ।

मोरङ-६ का युवालाई तपाईं के अपिलर गर्न चाहनुहुन्छ ?

तपाईंहरू नै परिवर्तनका वाहक हुनुहुन्छ। राजनीतिलाई दोष मात्र नदिनुहोस्- सक्रिय सहभागिता जनाउनुहोस्। म युवाको ऊर्जा र सिर्जनशीलतालाई नीतिमा रूपान्तरण गर्ने प्रतिबद्धता व्यक्त गर्दछु। विदेश पलायन समाधान होइन। अवसर यहीँ सिर्जना गर्नुपर्छ। यो चुनाव केवल प्रतिनिधि छान्ने प्रक्रिया होइन, भविष्यको दिशा तय गर्ने अवसर हो भन्ने मलाई लाग्दछ। मोरङ-६ को विकास, संविधानको रक्षा र समृद्ध नेपालको यात्रामा म तपाईंहरूको साथ, विश्वास र मतको अपेक्षा गर्छु। म वाचा होइन, काम गर्ने अठोटका साथ तपाईंहरूमाझ आएको छु।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast