उपत्यका मेयर्स फोरमले फोहोरको दिगो व्यवस्थापनका लागि सरकारसँग सहकार्य गर्ने

हिमाल प्रेस ८ फागुन २०८२ ७:२७ | Friday, February 20, 2026
6
SHARES
उपत्यका मेयर्स फोरमले फोहोरको दिगो व्यवस्थापनका लागि सरकारसँग सहकार्य गर्ने

काठमाडौँ- उपत्यका मेयर्स फोरमले काठमाडौँ उपत्यकाबाट उत्पादन हुने फोहोरको वैज्ञानिक एवं दिगो व्यवस्थापन अध्ययन गर्न सरकारसँग सहकार्य गर्ने भएको छ।

फोहोर व्यवस्थापन अध्ययन तथा समन्वय समितिले फोहोर व्यवस्थापनको विधि तथा प्रविधि अध्ययन गर्नुका अतिरिक्त सबै स्थानीय तहका बीचमा आवश्यकताअनुसार समन्वय, सहजीकरण र सामूहिक व्यवस्थापनका लागि सरकारसँग सहकार्य गर्ने जनाएको हो।

काठमाडौँमा फोरमका अध्यक्ष एवं ललितपुर महनगरपालिकाका प्रमुख चिरीबाबु महर्जनको अध्यक्षतामा बसेको १३औँ बैठकले गोदावरीदेखि बूढानीलकण्ठसम्म साइकल लेनसम्बन्धी कानुन निर्माण गरी गुरुयोजना बनाउने, पूर्वाधार निर्माण र सञ्चालनका लागि सरकारसँग सहकार्य गर्ने निर्णय गरेको छ।

उपत्यकाको एकीकृत विकास गरेर नागरिक जीवन सहजताका लागि सहकार्य र समन्वय गर्नुपर्ने धेरै काम छन्। बैठकपछि फोरमका अध्यक्ष महर्जनले मेट्रोको अवधारणा कार्यान्वयनका लागि संघ सरकारसँग सहकार्य गर्न उपत्यकाका स्थानीय तहहरू तत्पर रहेको उल्लेख गर्दै मेट्रोको अवधारणाअनुसार पूर्वाधार निर्माण तथा सञ्चालन गर्न आफूहरू तयार रहेको बताए।

बैठकमा कामपाको कार्यवाहक प्रमुख सुनिता डंगोलले सार्वजनिक यातायात सञ्चालन गर्दा उपत्यकाको भूगोल, बस्तीको मौलिकता, सांस्कृतिक तथा सामाजिक चालचलन सुहाउँदो ढाँचाको उपयुक्त माध्यमको छनोट गरी पूर्वाधार निर्माण गर्न सरकारसँग सहकार्य गर्नुपर्ने बताइन्।

यसअघि सार्वजनिक यातायात प्रणालीका विषयमा अध्ययन भएका कुन उपयुक्त छन् भन्ने कुराको ठोस निष्कर्षमा पुग्न विगतका अध्ययनहरूको पुनरावलोकन आवश्यक रहेको उनको भनाइ थियो।

प्रकाशित: ८ फागुन २०८२ ७:२७ | Friday, February 20, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast