‘जनताको भट्टिमा खारिएर’को एमालेको विजय सुनिश्चित छ : आनन्द पोखरेल

हिमाल प्रेस २९ माघ २०८२ १०:३१ | Thursday, February 12, 2026
4
SHARES
‘जनताको भट्टिमा खारिएर’को एमालेको विजय सुनिश्चित छ : आनन्द पोखरेल

काठमाडौँ- नेकपा एमालेका नेता आनन्द पोखरेलले आगामी निर्वाचनलाई ‘सत्ता परिवर्तनको मात्र प्रक्रिया नभई देशको स्वाधीन र आत्मनिर्भर राजनीतिक दिशा तय गर्ने निर्णायक घडी’का रूपमा व्याख्या गरेका छन्। उनले एमालेको जितलाई नै ‘सार्वभौमसत्ता र नेपालीको जित’ भएको दाबी गरेका हुन्।

एक लिखित धारणा सार्वजनिक गर्दै नेता पोखरेलले वर्तमान राजनीतिक परिस्थितिमा एमाले देशी–विदेशी शक्ति, प्रतिस्पर्धी दल तथा ‘विभिन्न प्रतिक्रियावादी स्वार्थ’को दबाबमा परेको अनुभूति कार्यकर्ता र समर्थकले गरिरहेको उल्लेख गरेका हुन्। उनका अनुसार यस्तो ‘घेराबन्दी’ चिर्दै निर्वाचन जित्न भावनात्मक नाराभन्दा पनि राजनीतिक, संगठनात्मक र व्यावहारिक कदम चाल्नुपर्ने आवश्यकता छ।

‘यो केवल निर्वाचन प्रक्रिया जस्तो देखिए पनि सारमा नेपाली मूलधारको राजनीतिबाट एमालेलाई बाहिर धकेल्ने षड्यन्त्र हो,’ उनले भने, ‘यो हाम्रो पार्टी, केपी ओली, मार्क्सवाद र राष्ट्रियताविरुद्धको अभियान हो।’ पोखरेलले एमालेमाथिको दबाब पार्टीको कमजोरीका कारण नभई राष्ट्रिय स्वाधीनता, आत्मनिर्भर अर्थतन्त्र र स्थायित्वको राजनीतिप्रतिको दृढ अडानका कारण आएको जिकिर गरेको छ।

बाह्य शक्तिसामु नझुक्ने नेतृत्व ‘स्वार्थ साधनको बाधक’ बनेकाले निर्वाचनमार्फत एमालेलाई कमजोर पार्ने प्रयास भइरहेको उनको आरोप छ। उनले भदौ २४ को ‘विध्वंस’पछि सुरु भएको राजनीतिक क्रमकै निरन्तरता वर्तमान निर्वाचन भएको उल्लेख गर्दै यसलाई एमालेविरुद्ध प्रयोग गर्न खोजिएको ‘हतियार’को संज्ञा दिएका छन्।

इतिहासमा कम्युनिष्ट आन्दोलनले घेराबन्दी र दमन सामना गर्दै विजय हासिल गरेको स्मरण गराउँदै उनले एमाले कुनै पनि प्रतिस्पर्धाबाट पछि नहट्ने बताएका छन्। ‘हाम्रो मार्गदर्शन जनताको बहुदलीय जनवाद हो। प्रतिस्पर्धामार्फत जनताको मत, विश्वास र सहभागिताबाट राजनीति गरेका छौं,’ उनले उल्लेख गरेका छन्।

पोखरेलले २०४८ सालदेखि ‘जनताको भट्टिमा खारिएर’ आएको एमालेको विजयलाई यसपटक पनि कसैले रोक्न नसक्ने दाबी गरेका छन्।

प्रकाशित: २९ माघ २०८२ १०:३१ | Thursday, February 12, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast