बुटवल- नेकपा एमालेका उपाध्यक्षसमेत रहेका पूर्वअर्थमन्त्री तथा रुपन्देही निर्वाचन क्षेत्र न.२ का उम्मेदवार विष्णुप्रसाद पौडेलले अहिलेको निर्वाचन राजनीतिक दलका लागि समीक्षाको निर्वाचन हुने बताएका छन्।
बुटवलमा साहित्यकार तथा लेखकहरूसँगको भेटमा उनले जेनजी आन्दोलनपछि सबै दल समीक्षाको कठघरामा रहेको बताएका हुन्।
उनले गत भदौ २३ र २४ गतेको घटनासमेत समीक्षामा रहेको बताए। ‘घटनादेखि दल मतदाताको समीक्षाको निर्णयमा छौं,’ उनले भने, ‘म स्वयं समीक्षाको कठघरामा छु।’
भेटघाटका क्रममा अध्येता रामचन्द्र श्रेष्ठले भदौ २३ र २४ को जेनजी घटना र राजनीतिक विषयमा कम बोलेको विषयमा जिज्ञासा राखेपछि उम्मेदवार पौडेलले आफू राजनीतिमा ठीक मात्रै बोलेको बताए। ‘राजनीतिमा बोल्दिन भन्ने त हुँदैन, बोल्छु तर ठिक्क बोल्दा पुग्छ नि भनेर हो,’ उनले भने।
उनले नयाँ र पूराना भन्ने चर्चाका सन्दर्भममा रिफर्म नेतृत्वसँगै नीतिमा पनि जरुरी रहेको बताए। ‘पोलिसि र लिडरसिप दुवैको रिफर्म गर्नुपर्छ’ उनले भने। उनले नेतृत्व रूपान्तरणका विषयमा आलोचनाका कोणहरू पनि रहेको बताउँदै आफू सबै आलोचनालाई स्वागत गर्ने बताए।
उनले आफू रुपन्देहीको विकासमा निरन्तर लागि पर्ने पनि बताए। अधुरा आयोजनाहरूलाई पूरा गर्ने योजना रहेको उनको भनाइ छ।



