व्यापार घाटा झन्डै १० खर्ब

हिमाल प्रेस ८ फागुन २०८२ १५:२५ | Friday, February 20, 2026
16
SHARES
व्यापार घाटा झन्डै १० खर्ब वीरगन्ज भन्सार। फाइल तस्बिर

काठमाडौँ- नेपालको व्यापार घाटा चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो सात महिनामा १०.९१ प्रतिशतले बढेर नौ खर्ब ५५ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ। भन्सार विभागले शुक्रबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो सात महिनाको वैदेशिक व्यापार तथ्यांकअनुसार यस अवधिमा नेपालले दुई खर्ब २३ अर्ब ४८ करोड रुपैयाँ बराबरको वस्तु आयात गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको नौ खर्ब ८८ अर्ब ५९ करोड रुपैयाँभन्दा बढी हो।

निर्यातमा पनि उल्लेखनीय वृद्धि भएको छ। यस अवधिमा निर्यात ३२.१९ प्रतिशतले बढेर एक खर्ब ६८ अर्ब १५ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको एक खर्ब २७ अर्ब २० करोड रुपैयाँ थियो।

तर समीक्षा अवधिमा निर्यात वृद्धि अघिल्ला महिनाको तुलनामा सुस्त रहेको छ। नेपालको कुल वैदेशिक व्यापार तीन खर्ब ९१ अर्ब ६३ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १५.७६ प्रतिशतले बढी हो।

तथ्यांकअनुसार आयातनिर्यात अनुपात अघिल्लो वर्षको ७.७७ बाट सुधार भई ६.६८ मा झरेको छ, जसले निर्यातको सापेक्षिक प्रदर्शनमा केही सुधार भएको संकेत गर्छ।

चालु आर्थिक वर्षको माघ मसान्तसम्म कुल व्यापारमा निर्यातको हिस्सा ११.४ प्रतिशतबाट बढेर १३.०२ प्रतिशत पुगेको छ। त्यसैगरी आयातको हिस्सा ८८.६ प्रतिशतबाट घटेर ८६.९८ प्रतिशतमा झरेको छ।

चालु आर्थिक वर्षको पहिलो सात महिनामा भटमासको कच्चा तेल नेपालको सबैभन्दा ठूलो आयात हुने वस्तु बनेको छ, जसको आयात ७० अर्ब ९९ करोड रुपैयाँ पुगेको छ। डिजेल दोस्रो स्थानमा छ।

यस अवधिमा ६९ अर्ब ९० करोड रुपैयाँको डिजेल आयात भएको छ।  ३८ अर्ब १३ करोडको पेट्रोल, ३१ अर्ब ८५ करोडको एलपी ग्यास र ३१ अर्ब नौ करोड रुपैयाँको स्पन्ज आइरन आयात भएको विभागको तथ्यांकमा उल्लेख छ।

निर्याततर्फ भटमासको तेलले नेपालको बाह्य व्यापारमा प्रभुत्व जमाएको छ, जसबाट ६६ अर्ब ७८ करोड रुपैयाँ आम्दानी भएको छ। अलैँची दोस्रो ठूलो निर्यातवस्तु बनेको छ। आठ अर्ब ६१ करोड रुपैयाँको अलैँची निर्यात भएको छ। सूर्यमुखी तेल पाँच अर्ब ७८ करोडको, हस्तकलाका सामग्री पाँच अर्ब ७१ करोडको र जुट चार अर्ब एक करोड रुपैयाँको निर्यात भएको विभागले जनाएको छ।

प्रकाशित: ८ फागुन २०८२ १५:२५ | Friday, February 20, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast