यस कारण भारतको सेमिफाइनल यात्रा संकटमा

हिमाल प्रेस १२ फागुन २०८२ ११:४५ | Tuesday, February 24, 2026
10
SHARES
यस कारण भारतको सेमिफाइनल यात्रा संकटमा

काठमाडौँ- जारी टी-२० विश्वकपमा भारतको सेमिफाइनल यात्रा कठिन बनेको छ। सुपर-८ चरणको पहिलो खेलमा वेस्टइन्डिजले जिम्बाब्वेलाई १०७ रनले पराजित गरेपछि भारतमाथि दबाब बढेको हो।

भारत आफ्नो पहिलो खेलमा दक्षिण अफ्रिकासँग ७६ रनले पराजित भएको थियो। समूहका शीर्ष दुई टोली मात्र सेमिफाइनलमा पुग्ने भएकाले भारतका लागि अब हरेक खेल ‘गर या मर’ जस्तै बनेको छ।

यदि भारतले जिम्बाब्वे र वेस्टइन्डिजविरुद्ध जित्न सफल भयो भने उसले ४ अंक हासिल गर्नेछ। यस्तो अवस्थामा दक्षिण अफ्रिकाले पनि आफ्ना बाँकी खेल जितेमा भारत समूहमा दोस्रो स्थानमा रहँदै सेमिफाइनल पुग्न सक्छ। तर दक्षिण अफ्रिका कुनै एक खेलमा पराजित भए र तीन टोलीको समान ४-४ अंक भएमा नेट रन रेटले निर्णय गर्नेछ। त्यसैले भारतलाई बलियो नेट रन रेट आवश्यक पर्नेछ।

यदि भारतले दुईमध्ये केवल एक खेल मात्र जित्यो भने अन्य नतिजा जस्तोसुकै आए पनि सेमिफाइनल पुग्ने सम्भावना लगभग समाप्त हुनेछ।

विशेषगरी वेस्टइन्डिजलाई हराउन सजिलो देखिएको छैन किनकि टोलीका ब्याट्सम्यान र बलर दुवै उत्कृष्ट फर्ममा छन्। वेस्टइन्डिजले अहिलेसम्म खेलेका पाँचै खेल जितिसकेको छ।

भारतले आफ्नो अर्को खेल २६ फेब्रुअरीमा जिम्बाब्वेविरुद्ध खेल्नेछ भने अन्तिम सुपर-८ खेल १ मार्चमा वेस्टइन्डिजसँग हुनेछ।

उता दक्षिण अफ्रिकाले भारतलाई हराउँदै राम्रो सुरुवात गरिसकेको छ र अब उसले वेस्टइन्डिज तथा जिम्बाब्वेसँग खेल्न बाँकी छ। यदि दक्षिण अफ्रिकाले यी दुवै खेल जित्यो भने उसको सेमिफाइनल यात्रा लगभग सुनिश्चित हुनेछ।

सुपर-८ चरणमा चार-चार टोलीका दुई समूह बनाइएका छन्। प्रत्येक टोलीले आफ्नो समूहका अन्य टोलीसँग तीन-तीन खेल खेल्नेछ।

एक समूहमा कुल ६ खेल हुने भएकाले दुवै समूह मिलाएर १२ खेल खेलाइने छन् जसमध्ये हालसम्म ४ खेल सम्पन्न भइसकेका छन्। प्रत्येक समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्।

पहिलो सेमिफाइनल ४ मार्चमा हुनेछ भने दोस्रो सेमिफाइनल ५ मार्चमा वानखेडे स्टेडियममा खेलाइनेछ। यी खेल जित्ने टोलीहरू ८ मार्चमा हुने फाइनलमा उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।

प्रकाशित: १२ फागुन २०८२ ११:४५ | Tuesday, February 24, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast