यी हुन् चुनावी सरकारका प्रधानमन्त्री

हिमाल प्रेस २१ माघ २०८२ १६:०८ | Wednesday, February 4, 2026
10
SHARES
यी हुन् चुनावी सरकारका प्रधानमन्त्री

काठमाडौँ- २०४६ सालमा प्रजातन्त्रको पुनर्बहाली भएदेखि हालसम्म नेपालमा सातवटा आमनिर्वाचन सम्पन्न भइसकेका छन्। रोचक तथ्य के छ भने यस अवधिमा प्रधानमन्त्री बनेका दर्जनौँ अनुहारमध्ये सीमित नेतृत्वले मात्रै चुनाव गराउने ऐतिहासिक अवसर पाएका छन्।

२०४६ पछि  २०४८, २०५१ (मध्यावधि), २०५६, २०७४ र २०७९ मा आमनिर्वाचन भएका छन्। २०६४ र २०७० मा संविधानसभा निर्वाचन भएका थिए। आगामी फागुन २१ गते हुन लागेको चुनाव बहुदलीय व्यवस्था पुनस्र्थापनापछिको आठौँ संसदीय चुनाव हो।

२०४६ यता कृष्णप्रसाद भट्टराई दुईपटक, गिरिजाप्रसाद कोइराला पाँचपटक, मनमोहन अधिकारी एकपटक, शेरबहादुर देउवा पाँचपटक, लोकेन्द्रबहादुर चन्द दुईपटक र सूर्यबहादुर थापा दुईपटक प्रधानमन्त्री भए।

यसैगरी पुष्पकमल दाहाल ‘प्रचण्ड’ तीन पटक, माधवकुमार नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराई, सुशील कोइराला, खिलराज रेग्मी एक-एकपटक, केपी शर्मा ओली चारपटक प्रधानमन्त्री भएको इतिहास छ। यी सबै जननिर्वाचित प्रधानमन्त्रीहरू हुन्। गत भदोमा भएको जेनजी प्रदर्शनपछि संसद विघटन भयो। त्यसपछि पूर्वप्रधानन्याधीश  सुशीला कार्की प्रधानमन्त्री बनेकी छन्।

यीमध्ये पाँचजनाले मात्रै चुनावी सरकारको नेतृत्व गर्ने अवसर पाएका छन् र उनीहरूकै नेतृत्वको सरकारले चुनाव गराएको छ। चुनाव गराउने पूर्वप्रधानमन्त्रीमा कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, शेरबहादुर देउवा, खिलराज रेग्मी र सुशीला कार्की छन्। भट्टराई, कोइराला र देउवा कांग्रेसका हुन्। रेग्मी र कार्की गैरदलीय हुन्।

कम्युनिस्ट प्रधानमन्त्रीहरू मनमोहन अधिकारी, प्रचण्ड, माधवकुमार नेपाल, बाबुराम भट्टराई, झलनाथ खनाल र केपी शर्मा ओलीले भने चुनाव गराउने अवसर पाएनन्।

२०४७ सालमा अन्तरिम संविधान घोषणा भएपछि कांग्रेसका तत्कालीन सभापति कृष्णप्रसाद भट्टराईको नेतृत्वमा २०४८ सालमा आमनिर्वाचन भयो। यो प्रजातन्त्र पुनस्र्थापनापछिको यो पहिलो संसदीय निर्वाचन थियो।

उक्त चुनावमा नेपाली कांग्रेसले बहुमत पाएर सरकार गठन गरेको थियो। कांग्रेस नेता गिरिजाप्रसाद कोइराला पहिलोपटक प्रधानमन्त्री बने। कांग्रेसको आन्तरिक खिचातानीका कारण कोइराला सरकार लामो समय टिक्न सकेन। २०५१ सालमा मध्यावधि निर्वाचन भयो।

मध्यावधि निर्वाचन कोइराला नेतृत्वको सरकारले गरेको थियो। मध्यावधि निर्वाचनमा कुनै पनि दलको स्पष्ट बहुमत आएन। एमाले संसद्को सबैभन्दा ठूलो दल बन्यो। नेकपा एमालेले अल्पमत सरकारको नौ महिनासम्म नेतृत्व गर्‍यो। २०५१ मा मनमोहन अधिकारी पहिलो जननिर्वाचित कम्युनिस्ट प्रधानमन्त्री बने। उनको सरकार अल्पमतको थियो।

कांग्रेसले एमालेको अल्पमतको सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेपछि प्रधानमन्त्री अधिकारीले संसद् भंग गरेर मध्यावधिमा जाने निर्णय गरे। अदालतले उक्त निर्णय खारेज गरिदियो। अधिकारी नेतृत्वको सरकारले चुनाव गराउने अवसर पाएनन्।

२०५६ सालमा मुलुकमा तेस्रो पटक संसद्को निर्वाचन भयो। गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा भएको निर्वाचनमा फेरि कांग्रेस ठूलो दल बनेको थियो।

सुरुमा कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री बने त्यसपछि गिरिजाप्रसाद कोइराला र शेरबहादुर देउवा प्रधानमन्त्री भए। माओवादीको हिंसात्मक द्वन्द्व र तत्कालीन राजा ज्ञानेन्द्रको सत्ता चलाउने महत्वाकांक्षाले देशमा अस्थिरता बढ्यो। राजाले प्रत्यक्ष शासन गर्न थाले। ०६२/०६३ सालको जनआन्दोलनपछि संसद् पुनर्स्थापना भयो। प्रधानमन्त्री बने कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला। शान्तिपूर्ण राजनीतिमा आएको माओवादीलाई समेत समेटेर बनेको कोइराला नेतृत्वको अन्तरिम सरकारले २०६४ मा संविधानसभाको पहिलो निर्वाचन गराएको थियो।

उक्त निर्वाचनमा माओवादी सबैभन्दा ठूलो दल बन्यो। तत्कालीन नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पहिलोपटक प्रधानमन्त्री बने। तत्कालीन प्रधानसेनापति रुक्मांगद कटवाललाई हटाउन खोज्दा प्रचण्ड विवादित भए र प्रधानमन्त्रीबाट राजीनामा दिन बाध्य भए। यही बेला दुई ठाउँबाट चुनाव हारेका माधवकुमार नेपाललाई जस्केलाबाट संसद् सदस्य बनाइयो। उनी प्रधानमन्त्री नियुक्त भए। त्यसपछि एमाले अध्यक्ष झलनाथ खनाल र नेकपा माओवादीका उपाध्यक्ष डा. बाबुराम भट्टराई प्रधानमन्त्री बने। भट्टराईले संविधान जारी गर्न सकेनन्। उल्टै पहिलो संविधानसभा विघटन गरिदिए। अनि तत्कालीन प्रधानन्यायाधीश खिलराज रेग्मी मन्त्रिपरिषद् अध्यक्ष बनाइए। उनकै नेतृत्वको सरकारले २०७० सालमा दोस्रो संविधानसभा निर्वाचन गराएको थियो।

निर्वाचनमा पहिलो दल बनेपछि कांग्रेस सभापति सुशील कोइरालाको नेतृत्वमा सरकार बन्यो र त्यही सरकारको नेतृत्वमा मुलुकले संविधान पायो। कोइरालापछि २०७२ मा प्रधानमन्त्री बने तत्कालीन एमाले अध्यक्ष केपी शर्मा ओली।

२०७३ सालमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कांग्रेससँग मिलेर सरकार बनाए र चुनावी सरकारको नेतृत्वका लागि कांग्रेस सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गरेका थिए। देउवाको नेतृत्वमा २०७४ को आमनिर्वाचन सम्पन्न भयो। संघीयता र गणतन्त्र कार्यान्वयनमा आइसकेपछि पहिलोपटक भएको यो निर्वाचनमा संघीय र प्रदेश सांसदहरू निर्वाचित भएका थिए।

२०७४ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा एमाले ठूलो दल बन्यो। वाम गठबन्धन गरेर चुनावमा गएका एमाले र माओवादी सम्मिलित नेकपा नेतृत्वमा झन्डै दुई तिहाइ बहुमतको सरकार गठन भयो। नेकपाको किचलोका कारण पार्टी विभाजन हुन पुग्यो भने दोस्रो ठूलो दल कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री बन्ने अवसर पाए। २०७९ सालमा देउवा नेतृत्वको सरकारले निर्वाचन गराएको थियो।

२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस पहिलो दल बनेको थियो। एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी क्रमशः दोस्रो, तेस्रो र चौथो दल बनेका थिए। कुनै पनि दलको बहुमत नआएका कारण पटकपटक गठबन्धन सरकार बने।

पहिला तत्कालीन माओवादी अध्यक्ष प्रचण्ड नेतृत्वमा सरकार गठन भयो। त्यो सरकार ढलेपछि एमाले अध्यक्ष केपी शर्मा नेतृत्वमा बनेको सरकार भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनले ढालिदियो। प्रधानमन्त्री बनिन् पूर्वप्रधानन्यायाधीश सुशीला कार्की। कार्की नेतृत्वको सरकारले फागुन २१ गते तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचन गराउने जिम्मेवारी पाएको छ। निर्वाचन आयोगका अनुसार उम्मेदवारको मनोनयन दर्ता प्रक्रिया सकिएको छ। राजनीतिक दलहरू चुनावी घोषणापत्र निर्माणमा जुटेका छन्।

नेपालमा पहिलो प्रजातान्त्रिक आमनिर्वाचन २०१५ सालमा राजा महेन्द्रको सक्रिय शासनकालमा भएको थियो। त्यसबेला मन्त्रिपरिषद् अध्यक्ष कांंग्रेस नेता सुवर्णशमशेर राणा थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast