काठमाडौँ- फिल्म ‘मालती मंगले’ आगामी वर्ष वैशाख २५ देखि प्रदर्शन हुने भएको छ। फिल्मको पोस्टर सार्वजनिक गर्दै निर्माण टिमले वैशाख २५ लाई प्रदर्शन मिति तोकेका हुन्।
पोस्टरमा फिल्मका मुख्य पात्र विजय बराल र वर्षा राउतलाई प्रेमिल मुद्रामा देखाइएको छ।
विजयले वर्षाको काखमा टाउको राखेका छन् भने रातो रंगको ग्रामीण पहिरनमा सजिएकी वर्षाले विजयको टाउकोमा आफ्नो टाउको अड्याउँदै मुस्कुराइरहेकी छिन्।
विजय बस्यालले डिजाइन गरेको पोस्टरको पृष्ठभूमि र पात्रहरूको हुलियाले फिल्मले ग्रामीण प्रेमकथा वा सामाजिक परिवेशलाई उठान गरेको आभास दिन्छ।
फिल्म प्रकु पाण्डेयले निर्देशन गरेका हुन्। फिल्म विशुद्ध नेपाली पारिवारिक प्रेमकथामा बनेको उनले बताए।
‘यो परिवारिक फिल्म हो। यसले हाम्रो समाजको एउटा बलियो पाटोलाई उजागर गर्ने प्रयास गरेको छ,’ उनले भने।
निर्देशक पाण्डेयकै कथा रहेको फिल्मको पटकथा तथा संवाद संयोग गुरागाईँले तयार पारेका हुन्।
फिल्म चर्चित गायक रामकृष्ण ढकालले निर्माण गरेका हुन्। रानी म्युजिक इन्टरनेसनलको ब्यानरमा बनेको फिल्ममा युनी इन्टरटेनमेन्टले सहकार्य गरेको छ।
विजय र वर्षाका अलवा मेक्सम गौडेल, प्रकाश घिमिरे, सरिता गिरी, सुस्मा निरौला, सुनिल तामाङ, उमेश सुनाम, शकु शाह, सुचित्रा उप्रेती, दिनेश शाही, रिजन परियार, तारा शर्मा, गीता श्री, राज पंगेनी, सुस्मिता गुरुङ र सागर भट्टराईलगायत कलाकारले अभिनय गरेका छन्।
महेश पौडेलले छायांकन गरेको फिल्म रोमी मोजेजको सम्पादन, कृष्ण भण्डारीको रंग संयोजन, डिकेश खड्गीको ध्वनि मिश्रणमा बनेको छ।




