काठमाडौँ- फिल्म ‘परालको आगो’ को पहिलो पोस्टर सार्वजनिक गरिएको छ। पोस्टरमा फिल्मका मुख्य तीन पात्र सुहाना थापा, सौगात मल्ल र प्रकाश सपुतलाई देख्न सकिन्छ।
तीनै जना गम्भीर भावमा छन्। जहाँ सुहानाले सिउँदोमा सिन्दुर, अनि निधारमा टीका लगाएकी छन्। प्रकाशले घुम ओडेर रसिला आँखा पारेका छन्। प्रकाश र सौगात मल्लको अनुहार रुन्चे देखिन्छ।
पृष्ठभूमिमा देखिएको आगोको झिल्को र अँध्यारो प्रकाशले कथा प्रतीकात्मक रूपमा ‘परालको आगो’ जस्तै सानो कारणले ठूलो परिणाम निम्त्याउने विषयवस्तुमा केन्द्रित हुनसक्ने संकेत गर्छ।
फिल्म आगामी नयाँ वर्ष वैशाख ११ मा प्रदर्शन हुनेछ। फिल्म लक्ष्मण सुनारले निर्देशन गरेका छन्। फिल्मको कथा साहित्यकार गुरुप्रसाद मैनालीको कथा ‘परालको आगो’ मा आधारित छ।
ग्रामीण परिवेश, पारिवारिक सम्बन्ध र समाजभित्र लुकेका मनोवैज्ञानिक तथा भावनात्मक संघर्षलाई फिल्मले उठान गर्ने निर्माण टिमले जनाएको छ।
फिल्ममा अन्य कलाकार सिर्जना अधिकारी, किशोर भण्डारी, ज्याक श्रेष्ठ, सरिता भण्डारी, रेणु न्यौपाने, बाल कलाकार मन्जिला बाँनियालगायतले अभिनय गरेका छन्।
हरि ॐ सिने मेकर्सले निर्माण गरेको फिल्मका निर्माता सुशील पोखरेल हुन्। फिल्म संकल्प भुजेलको छायांकन, रामजी लामिछानेको नृत्य निर्देशन, मिलन श्रेष्ठको सम्पादन, कनाल कँुवरको रंग संयोजन, समिर मिया, सत्यम रानाको भि.एफ.एक्स.मा बनेको छ।
साहित्यकार मैनालीको ‘नासो’ कथा संग्रहमा समावेश कथा ‘परालको आगो’ मा ४५ वर्षअघि प्रताप सुब्बाले पनि फिल्म निर्देशन गरेका थिए।





