विशेष महाधिवेशन आह्वान गरेका कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा।
काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आज मधेश प्रदेशका चार जिल्लाका चुनावी सभामा सम्बोधन गर्ने भएका छन्। उनले सर्लाहीको लालबन्दी, रौतहट र बारा हुँदै पर्साको वीरगञ्जमा पुगेर चुनावी सभालाई सम्बोधन गर्ने भएका हुन् । सो क्रममा रोड शोमा पनि सहभागी हुने सभापति थापाको सचिवालयले जनाएको छ । त्यस्तै सभापति थापाले आइतबार फागुन १७ गते काठमाडौँ उपत्यकामा हुने कार्यक्रममा सम्बोधन गर्नेछन् ।
गत फागुन ६ गते जनकपुरधाममा पार्टीको प्रतिज्ञा पत्र सार्वजनिक गरेपछि फागुन ७ गते काठमाडौँको राष्ट्रिय सभागृहमा प्रतिज्ञा पत्रबारे चर्चा गर्दै प्रतिज्ञा पत्रबारे उठेका प्रश्नको जवाफ दिएका थिए ।
सभापति थापाले गत बिहीबार सुर्खेत र बाँकेको चुनावी सभालाई सम्बोधन गरेका थिए । त्यस्तै सभापति थापाले शुक्रबार रुपन्देही, कपिलवस्तु, बागलुङ र कास्कीमा भएको चुनावी सभालाई सम्बोधन गरेका थिए ।
बुटवलको सभामा उपसभापति पुष्पा भुसाल गौतम पनि थिइन् भने पोखराको सभामा उपसभापति विश्वप्रकाश शर्मा रहेका थिए। शनिबार सभापति थापा एक्लै जानेछन् भने आइतबारको सभामा काठमाडौँमा उपसभापति शर्मा सहभागी हुनेछन् । उपसभापति शर्मा आज तीन जिल्ला घुम्ने कार्यक्रम रहेको छ । शुक्रबार पोखरामा बसेका उपसभापति शर्मा शनिबार पहिले गुल्मीको कार्यक्रममा सम्बोधन गर्नेछन् । त्यसपछि डोल्पा जानेछन् ।
डोल्पाबाट अछाममा दुई ओटा कार्यक्रममा सम्बोधन गर्ने कार्यक्रम रहेको उपसभापतिको सचिवालयले जनाएको छ ।
आजै साँझ उपसभापति शर्मा काठमाडौँ फर्कने छन् । सचिवालयका अनुसार मध्यान्ह १२ बजे गुल्मीको छत्रदेव, दिउँसो १ बजे डोल्पाको जुफाल, २ बजे अछामको साँफेबगर, ३ः१५ बजे अछामको कमलबजार जानेछन् भने अपराह्न ४ः२० बजे कमलबजारबाट काठमाडौँ फर्कने कार्यक्रम रहेको छ ।





