आजको भूराजनीतिमा मुख्य खेल भनेको शक्ति र समय को हो। यो एकविरुद्ध अर्कोको खेल होइन। यी दुई कुराहरू उल्टा होइनन्। तपाईंसँग जति धेरै शक्ति हुन्छ, त्यति नै धेरै समय तपाईंको नियन्त्रणमा हुन्छ। जुनसुकै सार्वभौमसत्ता सम्पन्न राष्ट्र, चाहे त्यो जतिसुकै सानो वा किनारामा देखिएको किन नहोस्, यही खेल खेलिरहेको छ।
पहिला अफ्रिकी मुलुक लेसोथोका बारेमा कुरा गरौँ। २३ लाख जनसंख्या भएको यो पहाडी देश चारैतिरबाट दक्षिण अफ्रिकाले घेरेको छ। चरम गरिबीसँग जुधिरहेको यस देशमा एड्स संक्रमित मानिसको प्रतिशत सबैभन्दा धेरै छ।
लेसोथोसँग एउटा विशेष औद्योगिक शक्ति छ। यसलाई विश्वको ‘जिन्स’ केन्द्र भनिन्छ। यहाँ सबैभन्दा बढी रोजगारी गार्मेन्ट उद्योगले दिन्छ। जसमा ५० हजार मानिस काम गर्छन्। सबैभन्दा बढी सामान निर्यात अमेरिकामा गर्छ। यसको निर्यातको मूल्य कुल गार्हस्थ्य उत्पादनको १० प्रतिशत बराबर छ। उसले यो शक्ति ‘अफ्रिकन ग्रोथ एन्ड अपरच्युनिटी एक्ट’ अन्तर्गत अमेरिकामा भन्साररहित व्यापार गर्ने सुविधाबाट पाएको हो।
सन् २०२५ मा अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प आए। लेसोथोलाई ५० प्रतिशतको भन्सार शुल्कले ठूलो झट्का दियो। जसलाई पछि १५ प्रतिशतमा झारिएको थियो। गरिब लेसोथोले अब बंगलादेश, भियतनाम र भारतसहितका ठूला एसियाली उत्पादकहरूसँग प्रतिस्पर्धा गर्न सक्दैन। उसले आधिकारिक रूपमा संकटकाल घोषणा गरेको छ।
शक्ति र समय दुवै नभएको देशको उदाहरणका रूपमा लेसोथो हो। यसको अर्थतन्त्रले ट्रम्पको कार्यकाल सकिन बाँकी तीन वर्षसम्म पनि पर्खिन सक्ने अवस्था छैन।
अब हामी सबैभन्दा बढी शक्ति र समय भएको राष्ट्रतर्फ लागौँ। तपाईंले सही अनुमान लगाउनुभयो, त्यो चीन हो। व्यापारमा चीन विक्रेता (अत्यन्त आवश्यक खनिज र चुम्बक) र क्रेता (भटमास, मकै) दुवैका रूपमा बलियो अवस्थामा छ।
सैन्य शक्तिमा चीन अमेरिका हाराहारीमा पुग्दै छ। उता ट्रम्प अमेरिकी सहयोगीहरूलाई धम्की दिइरहेका छन्। चीनसँगको समय ट्रम्पको तीन वर्षसम्मका लागि मात्र सीमित छैन। यी वर्षहरू उसका लागि अवसरजस्तै हुन्। अमेरिकाको ध्यान अन्यत्र छ र रणनीतिक दबाब कम छ, तब यस अवधिमा चीनले आफ्नो शक्ति यति धेरै बढाउन सक्छ। परिणामस्वरूप ट्रम्पपछि आउने कुनै पनि नेताले उसको बराबरी गर्न सक्ने छैनन्।
यी उदाहरणमा लेसोथो सबैभन्दा तल र चीन सबैभन्दा माथि छ भने बाँकी देशहरूको अवस्था के त?
युरोपको कठिन परिस्थितिलाई लेसोथोसँग तुलना गर्नु अलि व्यंग्यजस्तो सुनिन सक्छ, तर यो त्यस्तो होइन। यो एउटा यस्तो तथ्य हो जुन कुरा युरोपेलीहरूले गत शुक्रबार ‘म्युनिख सुरक्षा सम्मेलन’ मा बसेका बेला अनुभव गरे- उनीहरूसँग कुनै शक्ति छैन, किनकि उनीहरू आफ्नो रक्षाका लागि अमेरिकामाथि निर्भर छन्। उनीहरूले अब खर्च बढाउन त थालेका छन् तर आफ्नै रक्षामा विश्वस्त हुन उनीहरूलाई अझै धेरै वर्ष लाग्नेछ।
हामी चीनलाई अमेरिकाभन्दा माथि कसरी राख्न सक्छौँ? अमेरिकाको शक्ति चीनको भन्दा धेरै छ तर उसको समय ट्रम्पको कार्यकालको बाँकी तीन वर्षमा मात्र सीमित छ। अमेरिका अरू सबैका लागि निर्यातको सबैभन्दा ठूलो बजार हो र यससँग भन्सार शुल्कको शक्ति छ। यसको सेना सबैभन्दा बलियो छ। विगत ८० वर्षदेखिका अमेरिकाका सबैभन्दा बफादार सहयोगीहरू उसको साथमा छन्। बेलायत, जापान, दक्षिण कोरिया, अस्ट्रेलिया र ताइवान अमेरिकामा निर्भर छन्। भारतसहितका अर्धसहयोगी वा रणनीतिक साझेदारलाई पनि उदाउँदो चीनलाई सन्तुलनमा राख्न अमेरिका नै चाहिएको छ।
प्रविधिका ठूला कम्पनीहरू, एआईमा नेतृत्वदायी भूमिका र विश्वकै ‘रिजर्भ करेन्सी’ अमेरिकासँग छ तर ट्रम्पले यसमा लगानी गर्नुको सट्टा खर्च गरिरहेका छन्। फलस्वरूप अमेरिकाको शक्ति घट्दै गइरहेको छ। ट्रम्पको समय हातबाट उम्किँदै छ।
तीन वर्षपछि अमेरिका सायद भिन्न प्रकारको महाशक्ति हुनेछ। के अमेरिका चीनसँग पराजित भएर एक कमजोर शक्तिमा परिणत होला? अमेरिकाका सहयोगीहरूले फेरि कहिल्यै भरोसा गर्लान्? एउटा नाम याद राख्नुहोस्- युक्रेन होइन, बरु ग्रिनल्यान्ड। अमेरिकी सहयोगीहरूलाई यो चिन्ता हुनेछ- भोलि ओभल अफिसमा योभन्दा पनि बढी ‘सनकी’ वा अप्रत्याशित नेता बसिदियो भने के होला?
अमेरिकाको यो समय यी तीन वर्षमा मात्र सीमित छ अर्को चुनाव नभएसम्मका लागि। मध्यावधि चुनावले ट्रम्पलाई कमजोर वा शक्तिहीन बनाइदियो भने यो समय १० महिना मात्र पनि हुन सक्छ। यसले एउटा महत्त्वपूर्ण कुरालाई जोड दिन्छ- लोकतान्त्रिक देशहरूसँग मात्र समयको यस्तो कडा सीमा हुन्छ। यी देशहरूले एकदेखि पाँच वर्षभित्र कुनै न कुनै समयमा चुनावको सामना गर्नेछन्।
इजरायलको शक्ति निर्विवाद छ र यो उसको इतिहास, विचारधारा, बौद्धिकता, भूअर्थनीति, सैन्य र गुप्तचर क्षमताबाट प्राप्त भएको हो। इजरायल एसिया र अफ्रिकाको छेउमा अवस्थित एउटा पश्चिमी लोकतन्त्र हो। साथै अमेरिका, युरोप तथा भारतका लागि अपरिहार्य सहयोगी। तर कुनै न कुनै बिन्दुमा चुनाव वा अदालती प्रक्रियामार्फत बेन्जामिन नेतन्याहु बिदा हुनेछन्। त्यसपछि तपाईँले नेतन्याहुपछिको एउटा भिन्न इजरायल देख्न सक्नुहुनेछ। समयको सीमा हुनु नै लोकतन्त्रको एउटा मुख्य विशेषता हो।
याद राख्नुस्, यस्तो सीमा चीनका सी जिनपिङ, रूसका भ्लादिमिर पुटिन र पाकिस्तानका फिल्ड मार्सल असिम मुनिरमा लागू हुँदैन। उत्तर कोरियाजस्तो पूर्ण तानाशाही होस् वा पाकिस्तानजस्तो मिश्रित तानाशाही, त्यहाँ समयको सीमा हुँदैन। यद्यपि यस्ता देशहरूमा अचानक परिवर्तन पनि हुन सक्छन् तर हामी भविष्य बताइहाल्न सक्दैनौँ।
अहिले प्रत्येक राष्ट्रले यही खेल खेल्न सिकिरहेका छन्। केहीले नयाँ सहयोगी खोजिरहेका छन् भने केहीले ती राष्ट्रहरूमा महत्त्व देख्न थालेका छन् जहाँ पहिले उनीहरूको रुचि निकै कम थियो। यसको सबैभन्दा स्पष्ट उदाहरण भारत र युरोप हुन्। जब भारत-युरोपेली संघ व्यापार सम्झौताको अन्तिम दस्ताबेजमा हस्ताक्षर हुनेछ, तब त्यसको मुख्य शीर्षक हुनुपर्छ- ‘थ्याङ्क यू ट्रम्प!’
बदलिएको विश्वले भारतलाई अझ खुला र प्रतिस्पर्धी बजारका लाभा हेर्न बाध्य बनाएको छ। रुस, इरान, टर्की, साउदी अरब र युएई जस्ता देशहरू पनि यो विवादास्पद र तनावपूर्ण वातावरणमा आफूलाई नयाँ ढंगले उभ्याउने प्रयास गरिरहेका छन्।
अब प्रश्न उठ्छ- शक्ति र समयको मापदण्डमा भारत कहाँ छ? भारतको सीमित शक्ति उसको अर्थव्यवस्था र बजारको आकारसँग जोडिएको छ। यसलाई बढाउने तरिका हो- जीडीपी बढाउनु, आर्थिक सुधार गर्नु र बजार खोल्नु। अर्थशास्त्री गीता गोपीनाथले भनेझैँ भारत २०२८ सम्म विश्वको तेस्रो ठूलो अर्थव्यवस्था बन्न सक्छ तर प्रतिव्यक्ति आम्दानीमा भारत अझै पछाडि रहनेछ। त्यसैले भारतको वास्तविक शक्ति उसको तीव्र गतिमा बढिरहेको अर्थव्यवस्था हो।
भारतसँग कति समय छ? नीतिहरूको निरन्तरताका कारण २०२९ को चुनावसम्म चिन्ता लिनुपर्ने आवश्यकता छैन। मोदीको तेस्रो कार्यकाल २०२४ मा सुरु भएको हो। उनी आफ्नै ठाउँ खोज्न सक्रिय छन्। ट्रम्पका आगामी तीन वर्ष उतारचढावपूर्ण हुनेछन्।
ट्रम्पको नीति ‘अमेरिका पहिलो’ मा केन्द्रित छ। उनी आफ्नो बाँकी कार्यकालमा आन्तरिक शक्ति सुदृढ गर्न र पुराना सन्धिहरूबाट बाहिरिएर आफ्नो एजेन्डा लागू गर्न समयको उपयोग गरिरहेका छन्।
चीनले आफ्नो आर्थिक र सैन्य पहुँच विस्तार गरेर विश्वभरि यस्तो शक्ति वा प्रभाव निर्माण गरिरहेको छ, जसले गर्दा अमेरिका वा अन्य देशहरू उसलाई दबाउन असमर्थ होऊन्।
भारत अहिले ऊ कुनै एउटा गुटमा बाँधिन चाहँदैन। भारतले अमेरिकासँग सुरक्षा साझेदारी गर्न सकियोस् र रुस वा चीनसँगको सम्बन्धमा आफ्नो स्वतन्त्रता पनि जोगाइराख्न सकियोस् भनेर खुला ठाउँखोजिरहेको छ।
(शेखर गुप्ताको द प्रिन्टमा प्रकाशित यो सामग्री अंग्रेजीबाट अनुवाद गरिएको हो।)




