अन्तरवार्ता

संखुवासभालाई चाहिएको तीन ‘स’ नै मेराे प्राथमिकता : पूर्वराजदूत डा. कार्की

कूटनीति, विकास र लोकतन्त्रको त्रिवेणी डा‍. कार्की

हिमाल प्रेस १५ फागुन २०८२ २१:३४ | Friday, February 27, 2026
18
SHARES
संखुवासभालाई चाहिएको तीन ‘स’ नै मेराे प्राथमिकता : पूर्वराजदूत डा. कार्की

संखुवासभाको पहाडी काखमा जन्मिएका डा. अर्जुनकुमार कार्की नेपाली राजनीति र विकास क्षेत्रका एक बलिया खम्बा हुन्। विद्यार्थी आन्दोलनको राप र तापबाट नेतृत्वमा उदाएका उनी राजनीतिज्ञ मात्र नभई शिक्षक, विकास अभियन्ता र कुशल कूटनीतिज्ञ समेत हुन्। बेलायतबाट उच्च शिक्षा (स्नाकोत्तर र पीएचडी) हासिल गरेका डा. कार्कीले झन्डै तीन दशक संखुवासभाका २५ हजारभन्दा बढी परिवारसँग प्रत्यक्ष जोडिएर विकास र सशक्तीकरणको काम गरेका छन्।

सशस्त्र द्वन्द्वका बेला ‘गाउँबाट शान्ति र विकास’को अभियानमार्फत १५ लाख परिवारको घाउमा मलम लगाउने उनै कार्की हुन्। २०६२/०६३ को जनआन्दोलनमा अन्तर्राष्ट्रिय लबिङ र नेताहरूको व्यवस्थापनमा पर्दापछाडिको कमान्डर सम्हालेको अनुभव उनमा छ। उनी विश्व मञ्चमा चिनिएका नाम हुन्। कार्कीले सुशील कोइराला प्रधानमन्त्री हुँदा अमेरिकाका लागि नेपालको राजदूत भएर काम गरे। उनले अमेरिकाका तीन राष्ट्रपतिसँग साक्षात्कार गर्ने अवसर पाएका थिए। लामो समय अमेरिकाको राजदूत हुनेमा उनी सूचीकृत छन्।

राजदूत रहँदा मन्त्री स्तरको मर्यादा पाएका उनले ‘पपुलिज्म’ भन्दा राष्ट्रिय हितलाई केन्द्रमा राखेर काम गरेका थिए। योगमाया आयुर्वेद विश्वविद्यालयका संस्थापक अध्यक्षको जिम्मेवारी पूरा गरिसकेका डा. कार्की नेपालमा राम्रो गैरसरकारी संयन्त्र बनाएका विकासप्रेमी व्यक्ति हुन्। रुरल रिकन्स्ट्रक्सन नेपाल (आरआरएन)  र अतिकम विकसित मुलुकलाई नियाल्ने र सहयाेग गर्ने एलडीसी वाच संस्थामार्फत उनी नेपालका सबैजसो जिल्ला र विश्वका तीन दर्जन मुलुकका नागरिकको आर्थिकोपार्जनमा सहयोगी बनेका छन्। विकासको काममा विदेशमा रहेकै बेला उनलाई नेकपा एमालेका तर्फबाट संखुवासभाको समृद्धिको नयाँ चित्र कोर्न चुनावी मैदानमा उत्रन टिकट दिइएको हो। प्रतिनिधिसभा सदस्यका लागि संखुवासभाबाट उम्मेदवार बनेका उनै कार्कीसँग निर्वाचनसँग केन्द्रित भएर गरिएको कुराकानी :

विद्यार्थी आन्दोलनदेखि वासिङ्टन डीसीको कूटनीतिक मञ्चसम्मको तपाईँको यात्रालाई कसरी स्मरण गर्नुहुन्छ?

मेरो यात्रा संखुवासभाको साधारण परिवारबाट सुरु भएको हो। अनि कलेज जीवन चितवनको रामपुर र बेलायतमा बित्यो। तर मैले संखुवासभाको माटो कहिल्यै भुलिनँ। सधैँ संखुवासभासँग जोडिइरहेँ। विद्यार्थी आन्दोलनले मलाई सामाजिक न्याय र अधिकारका लागि लड्न सिकायो। शिक्षक र अभियन्ताका रूपमा मैले विकासलाई  बाटो र पुलमा मात्र देखिनँ, बरु यसलाई मानवअधिकार र समावेशितासँग जोडेँ।

संखुवासभाका २५ हजार परिवारसँगको सहकार्य र द्वन्द्वकालमा देशभरका १५ लाख परिवारसँग गरेको शान्ति संवादले मलाई धरातलीय यथार्थ सिकायो। त्यही अनुभवले मलाई अमेरिकाको राजदूत हुँदा विश्वशक्ति राष्ट्रहरूसँग नेपालको हितमा डटेर कूटनीतिक लबिङ गर्ने आत्मविश्वास दियो।

राजदूत रहँदा कूटनीतिक लबिङ मात्र होइन दूतावास राम्रो र अब्बल राख्न आवश्यक रहेको महसुस गरेर भवन खरिद गर्दै मुलुकको ढुकुटी बलियो बनाउने काम पनि त गर्नुभयो?

म नेपाली हुँ भन्दा गर्व अनुभव गर्छु र नेपाल पनि उनीहरूभन्दा कम छैन भन्ने देखाउनेमात्र होइन विश्वमा नेपालको महत्त्व छ भनेर बुझाउने गर्छु। मलाई तत्कालको वाहवाह भन्दा दूरगामी कामले सन्तुष्टि दिन्छ। त्यही दूरगामी काममध्ये एक हो दूतावास भवन खरिद। त्यो ठूलै काम त होइन तर गरेँ। हाम्रा दूतावास सबैजसो भाडामा छन्। केही स्थानमा जग्गा छ तर भवन बनाइएको छैन, त्यही भएर सबै स्थानमा खरिद गर्न आवश्यक रहेको सन्देश दिन पनि मैले त्यो समयमा त्यही काम गरेँ। खर्च घटाउँदै राज्यको आफ्नै सम्पत्ति जोड्नु मेरो कर्तव्य थियो।

मैले त्यहाँ के कसरी काम गरे त्यो यहाँँकै मिडियामा र अन्यमा पनि आइसकेको छ। त्यसैले म जसरी मुलुकको प्रतिनिधित्व गरेर अमेरिकामा रहँदा विश्वका राजदूतसमक्ष मुलुकको महत्त्व बढाउन लागेँ त्यसैगरी संखुवासभाको महत्त्व बढाउन पनि म यहाँबाट लाग्नेछु। म नतिजामा विश्वास राख्ने व्यक्ति हुँ। म यहाँको डाँडापाखा घुमेको मानिस हुनाले यहाँ म राम्रै अनुभूति गरिरहेको छु। मलाई यहाँका मेरा दाजुभाइ, दिदीबहिनी र बुवाआमाले त केही गर भनेर पत्याउनुभयो भने उहाँहरूकाे भोट खेर जान दिन्न भन्नै नै छ। म विश्वमा जहाँ जान्थेँ त्यहाँ नेपालको विकासका लागि ठोस सहयोग जुटाउन सकिन्थ्यो। संखुवासभामा पनि म यही ‘रिजल्ट ओरिएन्टेड’ कार्यशैली लागू गर्न चाहन्छु।

२०६२/०६३ को आन्दोलनमा तपाईँको भूमिकालाई ‘नेपथ्यको नायक’ भनिन्छ, त्यसबेला नेताहरूको व्यवस्थापन र अन्तर्राष्ट्रिय लबिङ कसरी सम्भव भयो?

त्यसबेला मुलुक संक्रमणमा थियो। आन्दोलन सफल बनाउन आन्तरिक व्यवस्थापन जत्तिकै महत्त्वपूर्ण अन्तर्राष्ट्रिय समर्थन थियो। मैले ब्रसेल्स र लन्डनमा मात्र हाेइन अन्य अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपालको लोकतन्त्रका लागि जुन लबिङ गरेँ, त्यसले विश्व समुदायलाई नेपाली नेताहरूका पक्षमा उभिन मद्दत गर्‍यो। सबै दलका शीर्ष नेताहरूसँग मेरो निकटता केवल व्यक्तिगत होइन, बरु लोकतन्त्र र शान्ति स्थापनाको साझा एजेन्डामा आधारित थियो। त्यही समन्वयकारी क्षमता अहिले संखुवासभाको विकासका लागि संघीय सरकार र दातृ निकायसँग संवाद गर्न काम लाग्नेछ। म संखुवासभाबाट चुनिएपछि यहाँको दायित्व त हुन्छ नै। यहाँसँगै मैले राष्ट्रहितमा पनि उत्तिकै समन्वय गरेर काम गर्नेछु। जुन पहिलेदेखि गर्दै आएको पनि हुँ। म अन्तर्राष्ट्रिय मञ्चमा चिनिएको व्यक्तिभन्दा अन्यथा नहोला त्यसैले मलाई विकासका क्षेत्रमा काम गर्न सहज हुने नै छ।

संखुवासभामा ३० वर्षदेखि सक्रिय रहँदा तपाईँले विकासको कुन मोडेल सफल बनाउनुभयो?

मैले विकासलाई ‘मानवीय अनुहार’ दिएको छु। २५ हजार परिवारसँगको सहकार्यले मलाई सिकाएको कुरा के हो भने- जबसम्म स्थानीय समुदाय आफैँ सशक्त हुँदैन, तबसम्म विकास दिगो हुँदैन। मैले संखुवासभाका गाउँ-गाउँ पुगेर संवाद, मेलमिलाप र पुनर्निर्माणका काम गरेँ। संखुवासभाका लागि विकास केवल बजेट खर्च गर्नु होइन, यहाँका विपन्न र सीमान्तकृत समुदायको जीवनस्तरमा गुणात्मक सुधार ल्याउनु हो।

यसमा निरन्तर लागिरहेको छु। तर मैले निर्वाचनकै लागि भनेर यो सबै गरेको होइन। म त पहिले देखि नै आफ्नो माटोसँग जोडिएर काम गरिरहेको छु। मैले यहाँ तीन ‘स’मा आधारित भएर काम गर्ने छु। जसमा सडक सञ्जाल विस्तार, शिक्षाको विकास र स्वास्थ्यको क्षेत्रमा नागरिकको पहुँच रहेका छन्।

योगमाया आयुर्वेद विश्वविद्यालयको स्थापना तपाईँको एउटा ठूलो ‘ड्रिम प्रोजेक्ट’ नै हो भन्छन्, यसको भविष्य के छ?

योगमाया हाम्रो माटोको पहिचान र अधिकारको प्रतीक हुन्। उहाँका नाममा आयुर्वेद विश्वविद्यालय स्थापना गरेर हामीले संखुवासभालाई शिक्षा र स्वास्थ्य पर्यटनको विश्वव्यापी केन्द्र बनाउने आधार तय गरेका छौँ। मैले यसको अध्यक्षका रूपमा काम गरेँ। अब मेरो भूमिका परिवर्तन हुन्छ। मेरो लक्ष्य यसलाई विश्वकै उत्कृष्ट आयुर्वेद अध्ययन केन्द्र (अन्तर्राष्ट्रिय स्तरको) बनाउनु हो, जसले संखुवासभाको आर्थिक मेरुदण्ड बलियो बनाउनेछ। यो हाम्रो जस्तो मुलुकका लागि आवश्यक पनि छ। हेर्दा सामान्य लागे पनि यो कार्य साँच्चै हाम्रो माटो र मुलुक सुहाउँदो छ। ठूला कुरा गरेर केही नगर्ने भन्दा सानासाना कामबाट ठूलो उपलब्धि हासिल गर्न आवश्यक देखिन्छ। अहिले एक प्रकारको भाष्य बनेको छ केही पनि भएन। जुन गलत छ। हुँदै नभएको होइन। भइरहेको तर त्यसको टुंगोमा पुग्न नसकेको मात्र हो। अब टुंगोमा पुग्ने गरी अघि बढ्न आवश्यक छ।

संखुवासभामा प्रतिस्पर्धीहरू बलिया छन्, मतदाताले तपाईँलाई नै किन रोज्ने?

संखुवासभालाई  ‘संगठनात्मक राजनीति’ गर्ने नेता मात्र होइन, विकास रणनीति बुझेको र अन्तर्राष्ट्रिय पहुँच भएको नेतृत्व चाहिएको छ। म संखुवासभाको माटोमा विकासकै लागि ३० वर्षदेखि भिजेको छु। जन्मेदखि यही माटोमा ताते गरेको मानिस हुँ। वासिङ्टन डीसीको कूटनीतिक टेबुलमा नेपालका पक्षमा बहस गरेको मानिस। अनि न मैले यहाँ केही गर्ने आँट राखेको छु। डीसीमा राजदूत हुँदा सरकारी तवरमा लबिङ गँरे। विकासको काममा लागिपर्दा अन्तर्राष्ट्रिय फोरममा उत्तिकै लागेको व्यक्ति हुँ म। मसँग संघीय समन्वय गर्ने, विकासका लागि वैदेशिक लगानी भित्र्याउने र परराष्ट्र नीतिमा परिपक्व निर्णय गर्न सक्ने क्षमता छ।

म संखुवासभालाई मुलुककै समृद्धिको नमुना बनाउन सक्ने भिजन बोकेर आएको छु। मकालु हिमाल र मकालु वरुण राष्ट्रिय निकुञ्जलाई पर्यटकहरूको अन्तर्राष्ट्रिय गन्तव्य  र पर्यटकीय उद्योगका रूपमा विकास गरी रोजगारी र आर्थिक समृद्धिको आधार बनाउने अभियानमा छु। जलस्रोतको राजधानीका रूपमा विकास गर्ने र यसबाट हुने आयलाई ‘समृद्ध संखुवासभा सुखी जिल्लाबासी’ को कार्यक्रम सञ्चालन गर्ने योजना मेरो छ।

निर्वाचन जितेपछि तपाईँको प्राथमिकताका क्षेत्रहरू के-के हुनेछन्?

मेरो पहिलो प्राथमिकता सुशासन र पारदर्शिता हो। दोस्रो, संखुवासभालाई जलविद्युत् र जडिबुटीको हब बनाउँदै ‘ग्रिन इकोनोमी’ प्रवर्द्धन गर्ने। तेस्रो, योगमाया विश्वविद्यालय जस्ता गौरवका आयोजना सम्पन्न गर्ने। र चौथो, संखुवासभाका उत्पादनलाई विश्वबजारसँग जोड्न कूटनीतिक पहल गर्ने। संखुवासभाको आवाज काठमाडौँमा होइन, अन्तर्राष्ट्रिय मञ्चमा पनि सुनिने बनाउने मेरो संकल्प छ। राजनीति, विकास र कूटनीतिलाई एकीकृत गरेर देशको नीति निर्माणमा गुणात्मक सुधार ल्याउन म यहाँबाट चुनिएर गएपछि थप सक्रिय हुनेछु।  त्यसका लागि म उपयुक्त पात्र हो भन्ने लाग्छ। आममतदाताले पनि त्यही भनिरहनुभएको छ। म संखुवासभामा ३ स लिएर आएको छु- स्वास्थ्य, सडक र शिक्षा। यो तीन सको पूर्वाधारका लागि काम गर्नेछु। जुन कामले आमनागरिक सुखी हुनेछन्।

प्रकाशित: १५ फागुन २०८२ २१:३४ | Friday, February 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast