काठमाडौँ- सातौँ नेपाल सांस्कृतिक अन्तर्राष्ट्रिय फिल्म महोत्सव सम्पन्न भएको छ। महोत्सवमा नेपाली फिल्म ‘द सेक्रेट अफ राधा’ सर्वोत्कृष्ट बनेको आयोजकले जनाएको छ।
महोत्सवको समापन भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा आयोजना गरिएको थियाे। समापन समारोहमा विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय फिल्म तथा फिल्मकर्मीलाई अवार्ड प्रदान गरिएको छ।
राष्ट्रिय फिचर फिल्मतर्फ सुवर्ण थापाको निर्देशनमा बनेको ‘द सेक्रेट अफ राधा’ ले सर्वोत्कृष्ट अवार्ड प्राप्त गरेको छ। सर्वोत्कृष्ट अभिनेताको अवार्ड फिल्म ‘ज्वाइँ साब’ बाट जितु नेपालले प्राप्त गरे। फिल्म ‘कोसेढुंगा’ बाट सुरक्षा पन्त सर्वोत्कृष्ट अभिनेत्री घोषित भइन्।
‘कोसेढुंगा’ का निर्देशक सरोज पौडेलले सर्वोत्कृष्ट निर्देशकको अवार्ड प्राप्त गरे भने ‘द सेक्रेट अफ राधा’ का लागि नरेन्द्र मैनालीले सर्वोत्कृष्ट छायांकनको अवार्ड हात पारे।
वृत्तचित्र ‘इन्टु द मिस्ट’ बाट सचिन घिमिरेले सर्वोत्कृष्ट लेखक अवार्ड प्राप्त गरे। लघु चलचित्र ‘दृश्य (द लाइट अफ आइज)’ ले सर्वोत्कृष्ट विशेष उल्लेख अवार्ड प्राप्त गरेको छ।
जुरी विशेष उल्लेख अवार्ड निर्देशक पत्रिका घिमिरेको ‘ह्वाट ग्रोज इन थारी मैलाको भेगिटेबल गार्डेनर?’ तथा निर्देशक डब्बु क्षेत्रीको ‘द चेन्ज’ लाई प्रदान गरिएको थियो।
राष्ट्रिय विधातर्फ अन्यमा निर्देशक ड्यानियल गदालको ‘इनार’ ले सर्वोत्कृष्ट लघु फिल्म, निर्देशक लावा प्याकुरेलको ‘गर्ल्स रिराइटिङ डेस्टिनी’ ले सर्वोत्कृष्ट वृत्तचित्र, निर्देशक गोविन्द प्रसाद ढकालको ‘साइलन्ट स्कार्स’ ले सर्वोत्कृष्ट बाल फिल्म, निर्देशक आस्था श्रेष्ठको ‘रङ सबै गुलाबी’ ले सर्वोत्कृष्ट महिला फिल्म तथा निर्देशक सुनिल बाबु पन्तको ‘अजिमा एण्ड सिक्स जेन्डर्स’ ले सर्वोत्कृष्ट सांस्कृतिक फिल्मको अवार्ड प्राप्त गरेको छ।
अन्तर्राष्ट्रिय विधातर्फ भारतका निर्देशक जयन चेरियनको ‘रिदम अफ दमाम’ ले सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय फिचर फिल्मको अवार्ड प्राप्त गरेको छ। सोही फिल्मबाट चिनमाया सिद्धिले सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय अभिनेताको अवार्ड जितेका छन्।
अष्ट्रेलियाका निर्देशक मौलिनाथ गंगुलीको ‘कुप्पा’ ले सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय छोटो फिल्म, लिथुआनियाका निर्देशक गिएड्रे जेनेभिसियुटेको ‘द हेड’ ले सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय फिचर वृत्तचित्र तथा इजरायलका निर्देशक हावर्ड रिपको ‘गिम्पेलः द फूल रिटर्न्स टु पोल्याण्ड’ ले सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय छोटो वृत्तचित्रको अवार्ड प्राप्त गरेको छ।
यसैगरी बेलायतकी निर्देशक स्वेकृति राईको ‘द पिपल क्लोजेस्ट टु हेभन’ ले सर्वोत्कृष्ट महिला फिल्म, काजाकस्तानको ‘स्पार्क’ ले सर्वोत्कृष्ट बाल फिल्म, क्यानडाकी निर्देशक फरीबा फरजामको ‘रिड्याक्टेड ड्रिम्स’ ले सर्वोत्कृष्ट मानवअधिकार फिल्म, थाइल्याण्डको ‘रे द रग’ ले सर्वोत्कृष्ट एनिमेसन फिल्म तथा बंगलादेशको ‘द टेस्ट अफ हनी’ ले अन्तर्राष्ट्रिय वातावरणीय फिल्मको अवार्ड प्राप्त गरेको छ।
भारतको फिल्म ‘सी इट!’ का लागि शान्ति मोहन र मुकुन्द मूर्तिले सर्वोत्कृष्ट निर्देशक अवार्ड प्राप्त गरेका छन्। जर्मनीका ओली ड्युरले ‘जेपेलिन राइट अबभ’ बाट सर्वोत्कृष्ट लेखक अवार्ड जित्दा ब्राजिलकी क्यारोलिन रोहरिगले ‘ट्राइ योर लक’ बाट सर्वोत्कृष्ट अभिनेत्री अवार्ड प्राप्त गरिन्।
भारतका बेनिश मुजसाबाले ‘नेचर्स ब्यान्डेज’ बाट अन्तर्राष्ट्रिय छायांकन अवार्ड प्राप्त गरेका छन् भने बंगलादेशका निर्देशक जमिल्लाह भान डर हल्स्टको ‘ह्वेयर द किड्स ह्याभ नो नेम’ ले सर्वोत्कृष्ट जुरी अवार्ड हात पारेको छ।
विशेष उल्लेख अवार्डतर्फ हङकङका निर्देशक क्रिस्टिन युङको ‘महाकुम्भः एन ओसन अफ डिभोसन’, चीनका निर्देशक बिङ लुओको ‘न्यु डन’ तथा फ्रान्सकी निर्देशक पाउलिन बर्नार्ड-भर्नायको ‘कासा सुसाना’ सम्मानित भएका छन्।
महोत्सव नेपाल सांस्कृतिक तथा चलचित्र केन्द्रको आयोजना गरेको हो। माघ १६ देखि तीन दिनसम्म चलेको महोत्सवमा ३९ देशका ८५ फिल्म प्रदर्शन गरिएको थियो।
महोत्सवमा ४० भन्दा बढी अन्तर्राष्ट्रिय फिल्मकर्मी, निर्णायक तथा अतिथिहरूको सहभागिता थियो।



