काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कर्मचारी सञ्चय कोषको ई-सर्भिस प्रणालीमार्फत विशेष सापटी सुविधा प्रभावकारी रूपमा उपयोग गर्न मन्त्रालय मातहतका सम्पूर्ण कर्मचारी तथा निकायहरूलाई अनुरोध गरेको छ।
कर्मचारी सञ्चय कोष, सञ्चयकर्ता सेवा केन्द्र, सिंहदरबारको पत्रको सन्दर्भ उल्लेख गर्दै मन्त्रालयले कोषले आफ्ना सञ्चयकर्तालाई सहज, सरल र प्रभावकारी सेवा प्रदान गर्ने उद्देश्यले ई-सर्भिस सेवा सञ्चालन गरिरहेको जनाएको छ।
कोषमा सञ्चयकर्ताको व्यक्तिगत विवरण तथा कार्यालय विवरण अद्यावधिक भइसकेको अवस्थामा सञ्चयकर्ताले घर वा कार्यालयबाटै जुनसुकै समयमा अनलाइनमार्फत विशेष सापटीका लागि आवेदन दिन सक्ने व्यवस्था रहेको मन्त्रालयको भनाइ छ।
मन्त्रालयका अनुसार सञ्चयकर्ताले अनलाइन सापटी आवेदन गरी सम्बन्धित कार्यालयबाट अनलाइनमार्फत नै प्रमाणित भएपछि सामान्यतया सोही दिन कार्यालय समयमा नै सापटी रकम सिधै आफ्नो बैंक खातामा प्राप्त गर्न सकिने व्यवस्था छ।
यसले सेवा प्रवाहलाई छिटो, पारदर्शी र प्रभावकारी बनाउने भएकाले विशेष सापटी आवेदन गर्ने/गराउने व्यवस्था कार्यान्वयन गरी कोषको अनलाइन सापटी प्रणालीलाई सफल बनाउन सहयोग गर्न मन्त्रालयले आग्रह गरेको छ।
उक्त सूचनाको बोधार्थ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहतका सम्पूर्ण निकायहरूलाई पठाइएको छ।
सूचना



