काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भारतलाई पत्राचार नगरेको जनाउँदै गलत समाचार लेखेर भ्रम फैलाएको जनाएको छ।
शुक्रबार केही समाचार माध्यमले रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्र पठाएको भन्दै समाचार लेखेका थिए। रास्वपा अन्तर्राष्ट्रिय सम्बन्ध विभागका प्रमुख शिशिर खनालले प्रेस विज्ञप्ति जारी गरी त्यसको खण्डन गरेका हुन्।
त्यस्ता समाचारप्रति ध्यानाकर्षण भएको रास्वपाले जनाएको छ। रास्वपाले भनेको छ, ‘केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ नेता बालेन शाहको संयुक्त हस्ताक्षर भनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सम्बोधन गरेर लेखिएको भनिएको पत्र र सो सम्बन्धी समाचारप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ।’
भारतीय प्रधानमन्त्री मोदीलाई पठाएको भनिएका पत्रलाई रास्वपाले नक्कली भनेको छ। ‘सार्वजनिक गरिएको उक्त पत्र पूर्णतः नक्कली, कीर्ते र कपोलकल्पित रहेको हामी स्पष्ट पार्न चाहन्छौँ,’ रास्वपाको विज्ञप्तिमा भनिएको छ, ‘दुई जिम्मेवार व्यक्तिहरूको नाम जोडेर परराष्ट्र सम्बन्ध जस्तो संवेदनशील विषयमा यस्ता अनर्गल र आधारहीन भ्रम फैलाउनु अत्यन्तै निन्दनीय कार्य हो।’
निर्वाचनलाई प्रभावित पार्ने उद्देश्यले प्रायोजित प्रचारबाजी गरिएको रास्वपाको जिकिर छ। ‘आगामी फागुन २१ गते हुन गइरहेको आम निर्वाचनको पूर्वसन्ध्यामा राजनीतिक लाभ लिन र दुई देशबीचको द्विपक्षीय सम्बन्धमा खलल पुर्याउने उद्देश्यले यस्ता प्रायोजित प्रचारबाजी गरिएको स्पष्ट देखिन्छ,’ रास्वपाले भनेको छ।





