‘हारजितको अनुमान सार्वजनिक गर्ने कामप्रति आयोगको ध्यानाकर्षण भएको छ’

हिमाल प्रेस ५ फागुन २०८२ १८:२८ | Tuesday, February 17, 2026
2
SHARE
‘हारजितको अनुमान सार्वजनिक गर्ने कामप्रति आयोगको ध्यानाकर्षण भएको छ’

काठमाडौँ- निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले हारजितको अनुमान वा मत सर्वेक्षण गरी नतिजा सार्वजनिक गर्ने कामप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको बताएका छन्।

प्रतिनिधिसभा निर्वाचन मतदाता शिक्षा एवम् निर्वाचन प्रचारप्रसारका लागि आयोगले मंगलबार काठमाडौँमा गरेको छलफलमा भण्डारीले निर्वाचन आचारसंहिताविपरीत मतदाताको स्वतन्त्र निर्णयलाई दिगभ्रमित तुल्याउने गरी मतदान हुनुअघि नै हारजितको अनुमान वा मत सर्वेक्षण गरी नतिजा सार्वजनिक गर्ने कामप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको बताएका छन्।

अनुमानमा भरमा मत सर्वेक्षण गरी नतिजा सार्वजनिक गर्दा उम्मेदवारहरूलाई हतोत्साहित बनाउने र प्रतिस्पर्धाको वातावरणलाई खलल पुर्‍याउने काम भएकाले यस्तो नगर्न उनले अनुरोध समेत गरे।

उनले प्रविधिको तीव्र विकाससँगै एआईको प्रयोग गरी सिर्जना गरिएका दिगभ्रमित पार्ने सामग्री सामाजिक सञ्जालमा सम्प्रेषण नगर्न र नगराउन समेत आग्रह गरे। प्रविधिले सूचना प्रवाहमा सहजता ल्याए पनि यसको दुरूपयोगले निर्वाचनको निष्पक्षतालाई नै धराशायी बनाउन सक्ने जोखिम हुने भण्डारीले बताए। उनले निर्वाचनको वातावरण बिग्रने गरी अनुमानित सर्वेक्षण नतिजा सम्प्रेषण नगरी संयम अपनाई चौथो अंगको जिम्मेवारी वहन गर्न सञ्चारमाध्यमलाई आग्रह गरे।

प्रेस स्वतन्त्रताको उपभोग गरिरहँदा निर्वाचनको मर्यादा र मतदाताको गोप्य मत दिन पाउने अधिकारको रक्षा गर्नु सबैको साझा संवैधानिक कर्तव्य भएको उनले बताए। उनले फागुन २१ गते तोकिएको निर्वाचनलाई सफल पार्न सबैको सकारात्मक भूमिका आवश्यक रहेको धारणा राखे।

प्रकाशित: ५ फागुन २०८२ १८:२८ | Tuesday, February 17, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast