मिथिलाञ्चलका गाउँगाउँमा ‘जोगिरा’को गुञ्जन, होलीको उल्लास सुरु

हिमाल प्रेस १४ फागुन २०८२ १३:२८ | Thursday, February 26, 2026
2
SHARE
मिथिलाञ्चलका गाउँगाउँमा ‘जोगिरा’को गुञ्जन, होलीको उल्लास सुरु फाइल तस्बिर

महोत्तरी- होली पर्वको आगमनसँगै मिथिलाञ्चलका गाउँगाउँमा ‘जोगिरा’ (एक प्रकारको होलीको गीत) गाउन सुरु भएको छ। महोत्तरीको १० नगरपालिका र पाँच गाउँपालिकाका प्रत्येक गाउँ टोलसहित सम्पूर्ण मिथिलाञ्चलमा प्रत्येक राति ढोल, तासा, मृदङ्ग, डम्फु, झ्यालीलयायत बाजागाजाका साथ जोगिरा गाउन सुरु गरिएको हो।

होली पर्वलाई निमन्त्रणा दिँदै प्रत्येक गाउँटोलका युवा, वृद्धा र वयस्कहरूको छुट्टाछुट्टै टोली आआफ्ना समूहमा विभिन्न प्रकारका जोगिरा गाउने परम्पराअनुसार यस वर्ष जोगिराबाट मनोरञ्जनसहित परम्परा संरक्षण गर्न थालिएको जलेश्वर नगरपालिका-७ का वडाध्यक्षसमेत रहेका होलैया (जोगिरा गाउने) रामछविला यादवले बताए।

विभिन्न प्रकारका लोकभाका, गीत, चुटकिला, हाँसोठट्टा र जिस्काउने तीतामिठा वाक्य र शब्दलाई लयमा ढालेर मिथिलावासीले जोगिरा गाउन थालेका बताउँदै यसले मौलिक परम्परा र संस्कृति संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको जलेश्वर-२ का विनोद मण्डलले बताए।

होलीको अवसर पारेर जोगिरा गाउनका लागि युवाहरू देशविदेशबाट आआफ्ना गाउँ फर्किएका छन् भने गाउँगाउँमा जोगिराको धुनले अहिले रातभरि मनोरञ्जन प्रदान गर्न थालेको पिपरा गाउँपालिका-७ का सञ्चारकर्मी एवं होलैया नवीन मिश्रले बताए।

जलेश्वर-९ का होलैया जीतेन्द्र सिंहले भने,‘आफूहरू जोगिरा गाउनका लागि अहिले रातिको बेला घरघरबाट समूहमा जम्मा भएर परम्परा संरक्षण र पुस्तान्तरणमा जुटेका छौँ।’

जोगिराले एकआपसमा भाइचारा, प्रेम, सद्भाव र सुमधुरसम्बन्ध निर्माण गर्ने भएकाले रातिको बेला गाउँका चोकचोकमा समूहमा भेला भएर जोगिरा गाउने गरेको जलेश्वर-८ का होलैया रामबाबु चौधरीले बताए। महोत्तरीसहित नेपाल र भारतका क्षेत्रमा पर्ने सम्पूर्ण मिथिलाञ्चलका गाउँगाउँमा सुरु भएको जोगिरा गायन होली पर्वको एकदिन पहिलेको रातिसम्म गाउने परम्परा छ।

प्रकाशित: १४ फागुन २०८२ १३:२८ | Thursday, February 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast