शेर्पा इको-एडभेन्चर्सले जितपुर गढी घुमाउन पैदलयात्रामा लिएर जाने भयो। फेसबुकमा उसको सूचना पढ्नेबित्तिकै झटपट नाम दर्ता गराइहालेँ। हत्तपत्त नपुगिइने यो ठाउँ इतिहासको पुस्तक पढ्दामात्र सम्झना आउँछ। समूहमा जान पाइने भएपछि मन हर्षित भयो। फेरि सूचना कस्तो थियो भने एकै पटक तीनवटा गढी हेर्न पाइने। जितगढीको नामचाहिँ सुनिएको थियो। तर दूधेगढी र गेर्खुगढीको नाम सुनेको थिइनँ। खुसी हुनुको कारण त्यो पनि थियो। दिन नजिकिँदै गर्दा कौतूहल बढ्दै थियो। चिनियाँ सेनालाई पराजित गरेको ठाउँ कस्तो होला त्यो जितपुरगढी भन्ने कौतूहल उत्तिकै थियो। पदयात्रा शनिबार, फागुन ९ गतेको थियो। समय कस्तो थियो भने २०८२ साल फागुन २१ गतेका लागि घोषणा भएको निर्वाचन तयारी जोडतोडले चलिरहेको थियो र राजनीतिक दलहरू चुनाव प्रचारमा लागिरहेका थिए। निर्वाचन आउन १२ दिनमा बाँकी थियो। यस हिसावले यो पदयात्रामा नुवाकोटको चुनावी रौनक पनि देख्न पाइने भयो भन्ने लागेको थियो। हिँड्दै जाँदा गाउँलेहरूसँग प्रत्यक्ष संवाद पनि हुने हुँदा चुनावको माहोल बुझ्न सजिलो पनि थियो।
अचेल काठमाडौँको चिसो पहिला जस्तो छैन। वातावरणीय प्रभावको कारणले होला फागुनमा नै पनि पालतो एकसरो ज्याकेट लगाउँदा थाम्ने चिसो छ। मन्दमन्द चिसो। अर्थात् वासन्ती चिसोभन्दा पनि हुन्छ। बिहान ६ बजे घरबाट निस्कँदा टम्म लुगा लगाएर निस्केको भए पनि आठ बजेसम्ममा बाहिरी पत्र फुकाल्न परेको थियो। नारायणगोपाल चोकमा गएर बसको प्रतीक्षा गर्दा केही ढिलो भयो। साढे ६ बजे आइपुग्नपर्ने बस ७ बजे आइपुग्यो। बस चढेर हामी २७ जना पदयात्री हुइँकियौँ नुवाकोटको विदुरतर्फ। विदुरबजार नाघेर केही माथि गएपछि बेत्रावती पुग्नुअघि नै सवारीचालकले बाटो भुले फेरि घुमेर अलि तल आएर पूर्वतर्फको बाटो लाग्यौँ। यहीँबाट गेर्खु सुरु हुने रहेछ। जहाँबाट हामीले पदयात्रा सुरु गर्यौैँ त्यसको नामचाहिँ गेर्खुटार हो।
पदयात्रा सुरु गर्दा पौने ११ बजिसकेको थियो। पुग्नु धेरै टाढा थियो। कता हो कता! खाने ठाउँको टुंगो थिएन। आयोजकले खाने व्यवस्था गरेका छौँ त भनेका थिए। तर यो गाउँ नै गाउँको बीचमा कसले पकाएर खान देला भन्ने प्रश्न मनमा थियो। जे त पर्ला एकछाक छोड्दा शरीरलाई फाइदै होला भनेर सान्त्वना दिएँ। ब्यागमा दुई लिटर पानी र एकदुई दाना जुनार थिए। सोचेँ यसैले भोक मेटाउन पर्ला। एउटा बार चकलेट पनि थियो नै। हुन त यत्ति खाँदा पनि पुग्ने हो। तर नेपालीलाई पेट टन्न नभएसम्म खाएको छु जस्तो लाग्दैन। उकालो उक्लँदै गर्दा हिँड्न भन्दा खानको सुर्ता किन पनि भयो भने तल पूरै सालघारी र माथि लागेपछि सल्लाघारी हिँड्दै थियौँ।

सालघारी यसै पनि गर्मी हुन्छ। मध्याह्नमा हावा पनि नचल्ने हुँदा गर्मीले हप्प पार्ने रहेछ। रातोमाटोको बाटोछेउ किनारामा थाकलको बोटले ढाकिएका थिए। थाकलको दाना लाग्न थालेका थिए। सानो छँदा थाकल खाएको याद आयो। हिँड्दा रमाइलो लाग्ने ठाउँ छ। बाह्र बजेको मध्यघामले थाप्लो सेकेपछि तिलमिलाइने रहेछ। उकालो लाग्दै गर्दा बितलबटोल भन्ने बाहुनगाउँ आइपुग्यो। विदुर नगरपालिकाको ११ नम्बर वडा रहेछ। गाउँलाई गाउँ नै हुन नदिएर नगर बनाइदिने नेपाली तरिका पनि एउटा गज्जबकै प्रशासनिक अभ्यास भनेर जान्नुपर्दछ। पचास घरधुरी जति हुनुपर्दछ ती सबै प्याकुरेल बाहुनहरूको छ। नगर हुन चाहिने आवश्यक तत्त्वरु पुगेर नै त होला नगर घोषणा गरेका। नत्र यो भिरालो डाँडोमा नगरमा पाइने नागरिक जीवन के नै पो छ र!
गाउँमा कहिल्यै नदेखिएका अनुहार देख्दा चुनाव प्रचारका लागि आएका सहरका ठूला नेता हुन् भन्ने लाग्यो होला गाउँले दिनीबहिनी र दाजुभाइलाई। एकजना अधबैँसे महिला आँगनमा उभिएर हामीसँग संवाद गर्न उद्यत् भइन्। पहिला त ‘तपार्इँहरूलाई गाउँमा स्वागत छ’ भनेर भनिन्। गाउँको लामो बेलिविस्तार लगाउँदै गेर्खुमा माथि गढीसम्म जान मिल्ने गरी केबलकार राखिदिन अनुरोध गरिन्। हामीले कुरा बुझिहाल्यौँ। हामीले भन्यौँ, ‘हामी नेता होइनौँ, चुनावका लागि मत माग्न आएका पनि होइनौँ। हामीले तपाईँको दुःख सुन्न मात्र सक्छौँ निवारण गर्न सक्दैनौँ।’ तै पनि यो कुरो माथि लगिदिन उनीले अनुरोध गरिन्। हाम्रो गाउँ सहरतिर आँखा लगाउँछ र विकासको भिक्षा माग्छ। सहर मस्त आफ्नै बिन बजाउँछ र गाउँलाई दुहुनो गाई सम्झन्छ। सहर सम्भ्रान्तहरूको स्वर्ग हो। गाउँ स्वावलम्बन, सदाचारी र सत्कर्मीहरूको छहारी। खास भन्ने हो भने सहर गाउँको मुखापेक्षी हुन्छ। ऊ सहरको लागि आपूर्ति स्रोत हो उदर पूर्ति गरिदिने।
सालघारी र सल्लाघारीको बीचमा बसेको छ प्याकुरेल गाउँ। तरेली परेको फाँट। किसानीको परिश्रम फल्दै गरेका देखिन्छन्। घरआँगनमा गाइभैँसी, बाख्रासँगै मानिसका बालकालिका खेल्दै गरेका भेटिन्छन्। आँगनको डिलडिलमा फूलहरूका बोटबिरुवा कोही फुल्दै गरेका, कोही फुल्ने तरखर गर्दै गरेका देखिन्छन्। फागुनको वसन्ती रङ गाउँमा प्रस्टै देखिन्छ। एकातिर सालको सुबास र अर्कोतिर सल्लोको बासना पनि मिसिएर हावाले बयली खेल्छ। आँगनमा बसेकी एकजना वृद्धा आमाले भन्नुभयो, ‘छाता नओड नानी, बाहिरी हावा नै चिसो हुन्छ।’ अनुभवले कति कुरा सिकाउँछ! घामबाट छेकिन छाता ओडिरहेकी बहिनीलाई अनुभवी आमाको मायालु सुझाव थियो।
पसिनाले जिउ लतपथ थियो। उकालोले सास बढेर हिँड्दा थकित थियौँ। एउटा पिँढी भएको र आँगन अलि ठूलो भएको घरको करेसामा नै पुग्यौँ। सहयात्री पदयात्रीले घरको पिँढीमा झोला बिसाए एकछिन सुस्ताउन। घरमा सासूबुहारी मात्रै रहेछन्। बुहारीको काखमा एउटा सानो बच्चा पनि थियो। ‘थाकेर आउनुभएछ, पानी खाने हो’, भनेर सासूचाहिँले सोधिन्। घरको गोठमा भैँसी देखिएकोले होला हाम्रा सहयात्रीले, ‘मोही भए झन् गज्जब हुन्थ्यो’, भने। घरबेटी आमैले बुहारीलाई मोही दिन अह्राइन्। मोहीको ठेकी नै रित्यायौँ हामीले। थपीथपी खायौँ। कसैले त पानीको बोतलमा पनि भरे। कति पैसा भयो भनेर सोधेकोमा पैसा लिनै मानिनन्। सदासयताको पनि एउटा हद हुन्छ नि। त्यो विकट गाउँमा कति मिहिनेतले तयार गरिएको हुन्छ आवश्यकताका वस्तु। आतिथ्यको मूल्यमा त्याग गाउँलेले मात्र गर्न सक्छन्। त्यो सोचको विशालता गाउँमा मात्र देख्न पाइन्छ। त्यही अनुभूत गरेर उकालो लाग्यौँ।
एक बज्न लागिसक्यो पुग्छु भनेर हिँडेको ठाउँ आएकै हैन। सल्लाघारीको एकनासको उकालो कहिले सकिएला जस्तो भयो। यो सल्लाघारी त दुधेला-बिरौटा सामुदायिक वन रहेछ। सालको रुख बांगो हुन्छ, सल्लो सलक्क बढेको अग्लो हुन्छ। सल्लोबाट खोटो संकलन गरिन्छ। सल्लोको रूखको बोक्रा काटेर घाउ बनाइन्छ र सोली थापेर खोटो संकलन गरिन्छ। यो बहुउपयोगी वनस्पति हो। यसको व्यावसायिक प्रयोग हुँदै रहेछ भन्ने देखियो। खुसी हुनु कि दुःखी। मानिस आफ्नो स्वार्थका लागि भगवान्लाई त बलि दिन तयार हुन्छ भने वनस्पतिको त के कुरा भयो र! यस्तै देखियो यो सल्लोघारीमा पनि। डढेलो लगाएको देख्दा मन कुँडियो। हुन त सूचना टाँस पनि गरिएको छ, आगो लगाउन हुन्न भनेर। तर डढेलो लगाएको ठाउँमा बाख्राचरणका लागि नयाँ घाँस पलाउँछ भनेर बहुमूल्य वनको नाश गर्नु, जैविक विविधता र पर्याय पर्यावरणलाई हानि पुर्याउनु कहाँसम्मको बौद्धिकता हो? यसमा स्थानीय अगुवाको अगुवाइ र चेतनामूलक कार्यक्रमको आवश्यकता देखियो।
तल गेर्खुटारदेखि माथि दूधेगढीको थाप्लोसम्म आइपुग्न पूरै दुई घण्टा लाग्यो। माथि डाँडाको थाप्लोमा मन्दिर बनाइएको छ। यो एउटा नेपाली सेनाले बनाएको ऐतिहासिक गढी हो। मन्दिर भने स्थानीय पालिकाले बनाएको रहेछ। यद्यपि, यसको धार्मिक महत्त्वसमेत भएको हुँदा दूधेलामा काली मन्दिर स्थापना गरी पूजाआजा गर्ने गरिएको छ। यो गढीको ऐतिहासिक महत्त्व दर्साउन तथ्यगत सूचनापाटीसमेत राखिएको छ। यहाँबाट उत्तर फर्केर डाँडाको फेदीमा हेर्दा त्रिशूली नदी र बेत्रावतीको संगम र यसमाथि बनेको पुलसमेत प्रस्टै देखिन्छ। त्रिशूली नदी सर्पाकारमा बगेकी छन्। यही नदीमा बगेका थिए चिनियाँ सेना। दूधेगढी चढ्दाको उकालो भिरमा माथिबाट अचानक आक्रमण हुँदा घाईते सैनिक त्रिशूलीमा परे नै होलान् भन्ने सहजै अनुमान लगाउन सकिन्छ।

गढीमा पुगेपछि यहाँ एकैछिन बसेर ऐतिहासिक घटनालाई आत्मसात् गर्ने प्रयास गरियो। घडीको सुईलाई फर्काएर हेर्दा त्यो समय आजभन्दा २३७ वर्ष अघि पुन्छि र यो गढीले तत्कालीन नेपालको राजनीतिक अवस्थाको साक्षी भएर इतिहासलाई गर्भमा साँचेर राखेको तथ्यगत प्रमाण बोल्छ। यो दुर्गले हामीलाई नेपाली सेनाको वीरता, सौर्य र पराक्रमको पीठमा स्वाधीनताको मूल्य बताइरहेको भान हुन्छ। त्यो समय लाठी, भाला, तरबार, एकनाले बन्दुक, ढुंगा अनि पहाडको शिरमा राखिने दुर्ग र गढीले स्वाधीनताको रक्षा खातिर राष्ट्रियता बोल्थ्यो। तिनै हतियारले सज्जित भएर उच्च मनोबलले दुर्गको रक्षा गरे नेपाली सेनाका जवानले।
आज समय बदलियो। विज्ञानले फड्को मार्यो। अब युद्ध भाला र तरबारले होइन विज्ञानको सूक्ष्म ज्ञानले लडिन्छ। आज अरूले लामालामा मारक क्षमता भएका ब्यालेस्टिक मिसाइल र क्षेप्यास्त्रहरूको निर्माण गर्दा हामीले एउटा तोपको मारक क्षमतासम्म बढाउन सकेका छैनौँ। त्यही चीनसँग यही ठाउँमा हाम्रा वीर सेनाहरूले ढुंगामुढा गरेर बचाएको राष्ट्रिय स्वाधीनता र पराजित भएर फर्केका चीन, आज ऊ कहाँ छ र हामी कहाँ छौँ। अब लडून् भनेर चिनियाँ सेना वेत्रावती आउँदैन। उसलाई लड्न अव बेत्रावती आउन पर्दैन। हामी आफ्नै अदक्षतामा पराजित भएर जितगढीमा उभिएका छौँ आजको समयमा। इतिहासको विगतमा उभिएर वर्तमान दाँज्दै छु र भविष्यको कल्पना गर्दै छु अहिले यो जितगढीको किल्लामा उभिएर स्वाधीन नेपालको तस्बिर हेर्दै छु।
बेत्रावती नदी दक्षिण र नुवाकोट दरबार उत्तर पूर्वपश्चिम लमतन्न परेर नाकको डाँडी आकारमा रहेको छ गेर्खु गिरि शृंखला। यसका उचाइ सरदर १४३० मिटर रहेको छ। गेर्खु शृंखलामा लहरै चारवटा गढी (दुधेगढी, जितगढी, गेर्खुगढी र सूर्यगढी) छन्। यी सबै दुर्ग १८४५ सालमा नेपाल-तिब्बतबीच भएको युद्ध, जो पछि गएर १९४९ असार २६ गते तिब्बतलाई मद्दत गर्न संलग्न भएको चिनियाँ फौजसँग नेपाली फौजले युद्ध लड्नुपर्यो, र औपचारिक रूपमा नेपाल-चीन युद्धमा परिणत भयो र त्यसै समय चिनियाँ सेनालाई बेत्रावतीबाट अगाडि बढ्न नदिन र मूलकोट डाँडोलाई सुरक्षित राख्न नेपाली सेनाले १८४९ मा तयार गरेका थिए। यो युद्ध र बहादुर शाहको नायबी कालमा भएको थियो। यो युद्धमा करिब १० हजार चिनियाँ सेनाले लडेको भन्ने भनाइ रहेको छ। यो १० हजार चिनियाँ सेना बेत्रावती नदी तरेर नदीको दक्षिणतर्फ रहेको गेर्खु डाँडोको शृंखलामा तिनै दिशातर्फ अघि बढेपछि एक हिस्सा फौज भीरैभीर धेरै माथि चढेपछि दूधेगढीमा श्रीकृष्ण शाहको कमान्डमा रहेको नेपाली सेनाले दूधेगढी-जितगढी डाँडामाथिबाट अकस्मात् आक्रमण गर्दा धेरै चिनियाँ सेना हताहत भए र गंगामा हेलिए भन्ने समेतको ऐतिहासिक विवरणमा उल्लेख छन्। लडाइँमा चिनियाँ फौज पराजित भयो र नेपाल-चीन सन्धि भयो जसलाई हामी बेत्रावती सन्धिको नामले चिन्छौँ।
विदुर नगरपालिकाको ११ नम्बर वडामा रहेको दूधेगढी नेपाल-चीन युद्धको लडाइँमा निर्माण गरिएको एउटा प्रमुख गढी हो। यो जिल्ला सदमुकाम विदुरबाट १० किलोमिटर दुरीमा छ। यो गेर्खु शृंखलाको पश्चिममा रहेको थुम्कोमा छ। नेपाल चीनबीच भएको युद्धको समयमा निर्मित गढीमध्ये दूधेगढी सबैभन्दा संग्रामी स्थल भएको थियो। चौतरिया कृष्ण शाह, चौतरिया बम शाह, काजी तारु शाह, सरदार शत्रुघ्न शाहीको कमान्डमा दुधे थुम्कोमा प्रतिरक्षात्मक अवस्थामा नेपाली सेना तैनाथ थियो। (स्रोत : गढीमा राखिएको सूचनापाटी)
दूधेमाला नाम कसरी रहन गयो होला भन्ने खुलदुली लाग्नु स्वाभाविकै हो। फेरि यो सँगै कालिकाको पनि पूजा गरिएको छ। दूधेमाला र कालिकाको उत्पत्ति सम्बन्धमा लडाइँका बखत घटना हुँदा लामाको शिरबाट दूध आएकाले दूधेश्वर भए। लमिनीको शिरबाट रगत आएकाले कालिकादेवी भइन्।
के घटना भनेर खुइलाइएको छैन। गाउँका महिलासँगको संवादमा भने यो कुरो अलिकति खुल्छ। उनको भनाइमा राजाले सेनाको शिर काट्दा एउटाको शिरबाट दूध र अर्कोको शिरबाट रगत बगेको भनिन्छ। त्यसो हुँदा दूधको खोलो र रगतको खोलो बगेर त्रिशूली गंगामा मिसियो भन्ने स्थानीय किंवदन्ती रहेको छ। दूधेकालीको शक्तिले नेपाली पक्षको जित भएको भन्ने गरिन्छ। किंवदन्तीलाई केलाउँदा दूधेगढीमा रक्तपातपूर्ण युद्ध भएको र युद्धको जितको खुसीमा गाउँलेले दूधका परिकारबाट उत्सव मनाएका हुन सक्ने सम्भावनातर्फ पनि हेर्नुपर्ने हुन्छ।
दूधेगढीपछि आउँछ जितगढी। यो गढी दूधेगढीदेखि केही सय मिटर पूर्वमा पर्दछ। मुख्य गढी दूधेगढीलाई आवश्यक युद्ध बन्दोबस्तीका सरसामान हातहतियार र थप लडाका पूर्ति गर्ने उद्देश्यले निर्माण गरेको देखिन्छ। यसको मुख्य भागको क्षेत्रफल त्यति फराकिलो छैन। यो गढीको वरिपरि अहिले पनि यहाँ प्रशस्त पत्थरहरू थुपारेर राखेको देखिन्छ। स्याँलेको फेदीमा रहेको बेत्रावती र स्याँलेभन्दा माथि थाप्लोमा चिनियाँ फौजले चढाइ गर्न सक्ने भएको हुँदा नेपाली सेनाले डाँडोको थाप्लोमा गढी निर्माण गरेको थियो। चिनियाँ सेनाले स्याँलेतिरबाट उकालो चढेपछि नेपाली सेनाले अकस्मात् आक्रमण गरेको थियो। युद्ध जितेको हुँदा यस गढीलाई जितगढी भनिएको हो।

जितगढीबाट पूर्वमा छ गेर्खुगढी। जितगढीदेखि काला पत्थरहरूलाई जम्मा गरेर राखेको देखिन्छ। यो एउटा रणनीतिक पाटो थियो। उकालो चढेर आउने सेनालाई डाँडामा बसेका सेनाले पत्थर लडाएर हताहती गर्ने र भगाउने। गेर्खुगढीमा थुपारिएका पत्थर भने चुलोचौको बनाएर राखिएका जस्ता देखिन्छन्। १० हजार चिनियाँ सेनासँग लड्न केही नभए पनि एक हजार नेपाली सेना त थिए नै होलान् भन्ने अनुमान गर्दा पनि तिनलाई खानपिनलगायतको बन्दोबस्त गर्नैपर्ने हुँदा यहाँका पत्थरहरू युद्धमा खटिएका सेनाका लागि खाना बनाउन र अन्नपानी सुरक्षित भण्डारण गर्नका लागि राखिएको जस्तो देखिन्छ। यो गढीमा काजी कीर्तिमान बस्न्यात, काजी देवदत्त थापा, सर्दार प्रतिमान राना र सर्दार बख्तावरसिंह बस्न्यातले गेर्खुलाई घेरा दिएर सुरक्षित राखेका थिए भन्ने इतिहासमा उल्लेख गरिएको छ।
एउटा मात्र हैन तीनतीनवटा गढीको अवलोकन गर्न पाउनु एउटा मिठो सपना पूरा भएतुल्य थियो। गेर्खुगढीबाट अर्को सूर्यगढी पनि थियो यसभन्दा पूर्व। तर घाम पश्चिमी डाँडातर्फ जाँदै थियो। तीन बज्न लाग्दा तीनवटा गढी अवलोकन सक्यौँ। सूर्यगढीपछिका लागि भनेर राखियो। गेर्खुबाट ओरालो लागेर वर भन्ज्याङसम्म पुग्दा वरको चौतारीमा एकछिन थकाइ नमारीकन हिँड्न मन लागेन। हामी सबैले झोला बिसाएर थकाई मार्यौँ। त्यहाँबाट ओरालो लागेर गाउँघरको गोरेटो बाटो हुँदै तल पिचसम्म झर्यौँ र चोकदे बजार पुग्यौँ। आयोजकले एकवजेतिर खाने भनेर बनाउन लगाएको खाना चिसो भएर सिङ हालिसकेको अवस्था थियो। अपराह्नको ४ बजे बिहानको खाना खायौँ।
चोकदे ससानो बजार हो। यहाँ पालिकाको कार्यालय र इलाका प्रहरी कार्यालय छन्। यहाँबाट धनार, थुम्की डाँडा हुँदै फलाँटे झर्यौँ। बस पर्खिरहेको रहेछ। त्यहाँबाट बस चढेर एक घन्टाको बाटो पार गर्दै नुवाकोट दरवार पुग्यौँ। फर्कँदै गर्दा बाटोमा पर्ने नुवाकोट दरबार पनि अवलोकन गर्ने भन्ने थियो। फँलाटे हुँदै नुवाकोट दरबारसम्म त आयौँ २०७२ सालको भुइँचालोले भत्काएको दरबारलाई बाहिरबाट नै हेरेर चित्त बुझायौँ। दरबारभित्र जान अनुमति रहेनछ। अझैसम्म यसले पुनर्निर्माणको गति लिएको छैन। चिनियाँ सहयोगमा बन्ने रे भन्ने सुनिएको थियो। तर अरू मठमन्दिर र सम्पदा निर्माण भइसक्दा पनि यसको निर्माणमा ढिलाइ हुनुको कारण बुझ्न सकिएको छैन। नुवाकोटको दरबार यस्तो रणनीतिक ठाउँमा बनाइएको छ कि यहाँबाट चारैतिरका रैतीको रेखदेख गर्न सकिने रहेछ।
इतिहासको विरासत र पुर्खाको सम्पदा बचेर खाएका छन् धेरैले। २३७ वर्ष बित्दा पनि ती ऐतिहासिक महत्त्वका गढी संरक्षण गर्ने र त्यसको प्रयोग गर्ने तर्फ कसैको ध्यान गएको देखिएन। नेपाली सेनाले पनि यी महत्त्वपूर्ण गढीहरूको अपनत्व लिएको देखिँदैन। त्यस्तो हुन्थ्यो भने यो दुई तीन किलोमिटर लामो डाँडो पूरै संरक्षित हुने थियो। यो पूरै डाँडोलाई सम्पदा क्षेत्र घोषणा गरिनुपर्दथ्यो। यो ठाउँ पर्यटकीय गन्तव्य हुने थियो। भर्खरै विदुर नगरपालिकाले केही पूर्वाधारको निर्माण गरेको छ। दूधेलामा र कालिका मन्दिरको अवस्था, त्यस वरिपरि देखिएको फोहरले सम्बन्धित निकायको यथोचित प्रबन्ध नभएको कुरा बताइरहेको थियो। २०८१ मा दूधेगढीदेखि गेर्खुगढीसम्म डाँडाको थाप्लै थाप्ला ढुंगाको सिँढीहरू बनाइएको छ र फलामे बार पनि लगाइएको छ। एक बर्खाको झरीले लेउ लगाएपछि यो बाटोमा चिप्लने सम्भावना रहन्छ। सरसफाइमा ध्यान दिइएमा मात्र यसको उपयोगिता रहनेछ।
बीच बाटोमा भेटिएकी महिलाले केवल कार माग गर्दा निःस्वार्थ भावले गरेको थिइन्। उनले आफ्ना लागि केही मागेकी थिइनन्। सरकारले ऐतिहासिक महत्त्वको गढी संरक्षण र प्रवर्धनमा समेत ध्यान नदिएको अवस्थामा ठूलो धनराशि खर्च गरेर केबलकार बनाउला भन्ने लाग्दैन। निजी क्षेत्रको लगानी लाभ हुने भएमा मात्र आकर्षित हुने हुन्छ। सरकारले अलिकति प्रचारप्रसार गरेर र गढी दुर्गहरूको आकर्षक रुपमा संरक्षण गरेको अवस्थामा आन्तरिक पर्यटनको प्रचुर सम्भावना देखिन्छ। थाप्लोमा ठाउँ साँगुरो भएकाले पर्यटकीय सुविधाका लागि आवश्यक निर्माण सोहीबमोजिम गर्न सकिन्छ।
एउटा पूरै डाँडोमा चारचारवटा गढी रहेको नेपालको यो मात्र एउटा गर्व गर्न सकिने ऐतिहासिक महत्त्व बोकेको ठाउँ हो। पुर्खाले छोडेर गएको धरोहर हो। अर्थात् नुवाकोट दरबारको पूरै रणनीतिक रक्षा यही पूर्वपश्चिम सलक्क परेको उत्तरदक्षिण दुवै पाखो उठेर नाकको डाँडी जस्तो आकारमा रहेको डाँडोले गरेको छ। प्राकृतिक रूपमा सुरक्षा घेरामा रहेको छ। पुस्तौँपुस्ता लगाएर ग्रेटवाल बनाउने चीनलाई गढी गौँडा र दुर्गको महत्त्व थाहा नहुने कुरै भएन। त्यसै भएर डाँडाको थाप्लोमा रहेको गढी चढेर जित निकाल्न उद्यत् थियो। तिनै चिनियाँ सेनालाई पराजित गरेको गढीले उचित हेरचाहसमेत नपाएको अवस्था छ भने उता चीनको ग्रेटवाल संसारकै सबैभन्दा बढी पर्यटक आएर हेर्ने पर्यटकीय स्थल बनेको छ। नेपालले पनि यो गढीलाई संक्षण गरेर पर्यटकीय गन्तव्यको क्षेत्र बनाउन अरुको सिको गर्ने हो कि?






