रास्वपाको बाचापत्रप्रति शिक्षक संगठनको आपत्ति, ट्रेड युनियन खारेजीको प्रस्ताव अलोकतान्त्रिक

हिमाल प्रेस ११ फागुन २०८२ १०:५४ | Monday, February 23, 2026
20
SHARES
रास्वपाको बाचापत्रप्रति शिक्षक संगठनको आपत्ति, ट्रेड युनियन खारेजीको प्रस्ताव अलोकतान्त्रिक

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचनका लागि सार्वजनिक गरेको चुनावी बाचापत्रमा ट्रेड युनियन खारेजीको विषय समावेश गरेकोप्रति नेपाल राष्ट्रिय शिक्षक संगठनले आपत्ति जनाएको छ।

संगठनका अध्यक्ष हंसबहादुर शाहीले विज्ञप्ति जारी गर्दै रास्वपाको उक्त प्रस्ताव नेपालको संविधान, प्रचलित कानुन र अन्तर्राष्ट्रिय श्रम मापदण्डविपरीत रहेको बताएका हुन्।

नेपालको संविधानको धारा ३४ ले प्रत्येक श्रमिकलाई ट्रेड युनियन खोल्ने र सामूहिक सौदाबाजी गर्ने मौलिक अधिकार प्रदान गरेको स्मरण गराउँदै संगठनले ट्रेड युनियनहरू स्वतन्त्र र पेशागत हकहितका लागि स्थापित संस्था भएको स्पष्ट पारेको छ।

विज्ञप्तिमा भनिएको छ, ‘ट्रेड युनियनको स्वतन्त्रतामाथि अंकुश लगाउने वा खारेजीको परिकल्पना गर्ने कुनै पनि राजनीतिक दल लोकतान्त्रिक हुन सक्दैन। नेपालले अनुमोदन गरेको अन्तर्राष्ट्रिय श्रम संगठनको महासन्धि संख्या ९८ ले समेत श्रमिकको संगठित हुन पाउने अधिकारको संरक्षण गर्न राज्यलाई बाध्यकारी बनाएको अवस्थामा यस्तो प्रस्ताव ल्याउनु राष्ट्रिय र अन्तर्राष्ट्रिय मान्यताको उल्लंघन भएको संगठनको ठम्याइ छ। शिक्षक संगठनले यस कदमलाई लोकतान्त्रिक मूल्यमान्यता विरुद्धको अतिरञ्जित र त्रास सिर्जना गर्ने प्रयासको रूपमा व्याख्या गरेको छ।’

संगठनले ट्रेड युनियनहरू लोकतन्त्रका आधारस्तम्भ भएको र पेसाकर्मीहरूको संगठनात्मक अधिकार कुनै पनि बहानामा संकुचित गर्न नमिल्ने उल्लेख गरेको छ।

संविधान र अन्तर्राष्ट्रिय सन्धिको मर्मविपरीतका यस्ता अभिव्यक्तिहरू अस्वीकार्य रहेको भन्दै संगठनले सम्पूर्ण सचेत नागरिक, शिक्षक समुदाय र पेसाकर्मी वर्गलाई संवैधानिक अधिकारको पक्षमा दृढतापूर्वक उभिन अपिल गरेको छ।

प्रकाशित: ११ फागुन २०८२ १०:५४ | Monday, February 23, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast