तस्बिर : क्रिकइन्फो
काठमाडौँ- टी–२० विश्वकपको खेलमा जिम्बाब्वेले अस्ट्रेलियालाई २३ रनले पराजित गरेको छ। शुक्रबार श्रीलंकाको कोलोम्बोस्थित प्रेमदासा स्टेडियममा भएको खेलमा जिम्बाब्वेले १९ वर्षपछि अस्ट्रेलियालाई पराजित गरेको हो।
जिम्बाब्वेले पहिले ब्याटिङ गर्दै २० ओभरमा २ विकेटको क्षतिमा १६९ रन बनाएको थियो। जिम्बाब्वेका लागि ओपनर ब्रिएन बेनेटले सर्वाधिक ६४ रन बनाए।
१७० रनको लक्ष्य लिएर उत्रिएको अस्ट्रेलिया १४६ रनमा अलआउट भयो। अस्ट्रेलियाको ब्याटिङ सुरूदेखि नै धर्मराएको देखिएको थियो। उसले २९ रन जोड्न चार विकेट गुमाएको थियो।
जिम्बाब्वेका तर्फबाट मुजरबानीले सर्वाधिक चार विकेट लिए। त्यस्तै ब्याड इमान्सले तीन विकेट लिए।
टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा जिम्बाब्वेले अस्ट्रेलियालाई यअसघि सन् २००७ को पहिलो टी–२० विश्वकपमा हराएको थियो।
दक्षिण अफ्रिकाको केपटाउनमा भएको त्यो खेलमा जिम्बाब्वेले अस्ट्रेलियालाई पाँच विकेटले पराजित गरेको थियो। जारी विश्वकपमा प्राप्त जित टी–२० विश्वकपको इतिहासमा अस्ट्रेलियाविरूद्ध जिम्बाब्वेको दोस्रो जित हो।
अस्ट्रेलियाले ९ विकेट गुमाएर प्रस्तुत गरेको १३९ रनको लक्ष्य जिम्बाब्वेले १९.५ ओभरमा पाँच विकेटको क्षतिमा पूरा गरेको थियो।
त्यसयता यी दुई टोलीबीच टी-२० का धेरै कम खेलहरू भएका छन्।




