पद्मा अर्याल
काठमाडौँ- नेकपा एमालेकी सचिव पद्मा अर्यालले यस पटकको निर्वाचनमा व्यक्तिले जित्ने की हार्ने भन्दा पनि राष्ट्रले जित्ने कि हार्ने भन्ने मुख्य प्रश्न भएको बताएकी छन्।
स्याङ्जा-रुपन्देही सम्पर्क मञ्चले स्याङ्जा क्षेत्र नं २ का उम्मेदवार खिम थापासँग आयोजना गरेको भेटघाटलाई सम्बोधन गर्दै अर्यालले अहिले व्यक्ति भन्दा मुलुकले जित्नुपर्ने र त्यसको लागि एमालेको जित अनिवार्य भएको बताएकी हुन्।
अर्यालले राजनीतिले मुलुकलाई जोड्नुपर्नेमा अहिले नयाँ र पुरानाको नाममा समाजलाई विभाजित गर्ने काम भइरहेको बताइन्।
‘समाजलाई विभाजन गरेर मुलुक बन्न सक्दैन तर, अहिले नयाँ र पुरानाको नाममा समाजलाई विभाजन गर्ने काम भइरहेको छ,ु उनले भनिन्। पूर्वमन्त्री समेत रहेकी अर्यालले राष्ट्रियताको रक्षा र समृद्धिको सपना पुरा गर्न एमालेले जित्नुपर्ने बताइन्। अर्यालले निर्वाचनको समयमा थोरै पनि अल्छि नगर्न र मतदाताको घरदैलोमा पुग्न पार्टी कार्यकर्ताहरूलाई आग्रह गरिन्।
‘तपाईँहरूले १५ दिन मात्रै आफ्नो समय र ऊर्जा पार्टीका लागि दिनुभयो भने हामीले देखेका समृद्धिका सपनाहरू पूरा गर्ने बाटो खुल्नेछ,’ अर्यालले भनिन्।
पार्टीका अर्का सचिव छविलाल विश्वकर्माले पार्टीको संगठनलाई थप सुदृढ बनाउँदै विपक्षीका भ्रमहरू चिर्नुपर्नेमा जोड दिए।
‘हामीले जिते मात्रै अधुरा रहेका विकासका कामहरूले पूर्णता पाउँछन्, त्यसैले यो निर्वाचन हाम्रो लागि ‘गर या मर’ को स्थिति हो,ु विश्वकर्माले भने।
क्षेत्र नं २ का उम्मेदवार खिम थापाले स्याङ्जा क्षेत्र नं। २ पितृले भोट हालेको क्षेत्रको रूपमा बदनाम भएको उल्लेख गर्दै त्यो दागलाई यस पटक एमालेले मेटाउने बताए।
‘स्याङ्जा पितृले भोट हाल्ने जिल्ला हो भनेर बदनाम भइरहेको छ, त्यसलाई चिर्न एमालेले जित्नुपर्छ,’ उनले भने।
कालिगण्डकी गाउँपालिकाको अध्यक्षबाट राजीनामा दिएर प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार बनेका थापाले गाउँपालिकापछि सिङ्गो क्षेत्रलाई नै नमुना बनाउन आफ्नो उम्मेदवारी रहेको बताए।



