काठमाडौँ– आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा अवाञ्छित गतिविधि हुनसक्ने सम्भावनालाई दृष्टिगत गरी रौतहट जिल्लाको सीमा नाकामा कडाइ गरिएको छ।
चुनाव नजिकिएसँगै सीमापारी भारतबाट हातहतियार, गोली, बारुदजस्ता प्रतिधिबिन्धित समान भित्रिन नदिन सीमा नाकमा प्रहरीले कडाइ गरेको हो।
चुनावलक्षित सुरक्षा योजना कार्यान्वयनमा आएपछि सीमा पारीबाट हुने तस्करीलगायतका घटनामा ह्रास आएको स्थानीयहरूको भनाइ छ।
विशेषगरी आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्यका लागि हुने निर्वाचनका क्रममा जिल्लामा शान्ति सुव्यवस्था अमनचयन कामय गरी आफूले रोजेका उम्मेदवारलाई मत दिन पाउने जनताको अधिकार सुनिश्चित गर्ने, गराउने प्रयोजनसहित अन्य सुरक्षा संयन्त्रसँगको समेत सहयोग र सहकार्यसहित प्रहरी संयन्त्र अझ जागरुक र गतिशील हुँदा कर छली अनधिकृत रुपमा भित्रिएका समान बरामद हुनेक्रम पछल्लो समयमा बढेको रौतहट प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिए।
यसैगरी, इलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रमुख तथा प्रहरी निरीक्षक कृष्णदेवप्रसाद साहले निर्वाचनलाई लक्षित गरी सीमानाका क्षेत्रको सुरक्षा व्यवस्था कडाइ गरेसँगै कर छली तथा अवैध कारोबार धन्धा करिब नियन्त्रणमा आएको, चोरबाटो हुँदै गैरकानुनी कारोबारमा संलग्न व्यक्तिको हकमा समानसहित पक्राउ दर वृद्धि भएको, चोरीतस्करीमा संलग्न गिरोह निष्क्रिय हुँदा समाजमा शान्तिसुरक्षाको प्रत्याभूति भएको बताए।
यसैबीच, इलाका प्रहरी कार्यालय सिम्रौनगढले पछिल्लो तीन महिनामा कैद सजाय तोकिएका चार जना फरार प्रतिवादीलाई पक्राउ गरेको, १८ वटा मुद्दा दायर गरेको, करिब ८० केजी गाँजासहित चार जनालाई पक्राउ गरेको र ४६ हजार थान लागुऔषध हाइड्रोक्लोराइड बरामद गर्न सफल भएको जनाएको छ।



