चितवन- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जेनजी आन्दोलनका क्रममा भएका आगजनीको आरोप पुराना दलहरूलाई लगाएका छन्। उनले आज (शुक्रबार) यहाँ आयोजित परिवर्तन उद्घोष सभालाई सम्बोधन गर्दै भने, ‘सिंहदरबार त्यसैले जलाए, जसले त्यसलाई भ्रष्टाचारको अखडा बनाए।’
आफूहरू जनतालाई सुशासनको प्रत्याभूति गराउन आएको उनको भनाइ थियो। उनले भने, ‘हामीलाई यसपटक हेर्नुस् परिवर्तन नभए तपाईँहरूको पार्टीमा समाहित हुन्छौँ।’ पाँच वर्ष रास्वपालाई काम गर्ने अवसर दिनसमेत उनले मतदातालाई आग्रह गरे। जेनजीको भावनालाई आत्मसात् गर्दै परिवर्तनको पक्षमा मतदान गर्न उनले आग्रह गरे।
त्यसै गरी रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहले नेपालको उत्पादनलाई प्रयोग गर्ने प्रचलन बढाउन आवश्यक रहेको बताए। अहिले कृषि र पर्यटन क्षेत्रमा समस्या रहेकाले उनले आगामी दिनमा यी समस्याहरूको समाधान गर्न आफूहरूलाई मतदान गरी विजयी गराउन आग्रह गरे।
चितवनले सिंगो देशलाई पर्यटन व्यवसाय कसरी गर्ने भनेर सिकाइ रहेको बताउँदै उनले चितवनले बदलेको देशलाई सबैले मिलेर सहयोग गर्न आवश्यक रहेको बताए। उनले भने, ‘आफ्नो घरमा खाने गरेको खानेकुरा पर्यटकलाई बेचेर पर्यटन व्यवसायमात्रै गरेका छैनन्, नेपाललाई विश्वमा चिनाएका छन्। चितवनवासीबाट सिंगो देशले सिक्नुपर्छ।’
किसानले उत्पादन गरेको दूध, तरकारी सडकमा बगाउनुको एउटै कारण तिनै नेताको सिन्डिकेटका कारण भएको उनले बताए।
कार्यक्रममा रास्वपाका उपसभापति स्वर्णिम वाग्लेले रास्वपा जनतालाई भयबाट मुक्त गर्दै आशाको राजनीतिबाट माथि उठाउन आएको बताए। कार्यक्रममा रास्वपाका नेताहरू सोविता गौतम, हरि ढकाल, गण्डकी प्रदेश अध्यक्ष राजन गौतमलगायतले सम्बोधन गरेका थिए। रासस





