सोएब अख्तरको टिप्पणी- भारतीय बलिङमा ‘माल्कम मार्सल’ जस्तो धार छैन, कुलदीपलाई खेलाउन सुझाव

हिमाल प्रेस १२ फागुन २०८२ ११:०२ | Tuesday, February 24, 2026
20
SHARES
सोएब अख्तरको टिप्पणी- भारतीय बलिङमा ‘माल्कम मार्सल’ जस्तो धार छैन, कुलदीपलाई खेलाउन सुझाव

काठमाडौँ- टी-२० विश्वकपको जारी सुपर-८ चरणमा भारतले दक्षिण अफ्रिकासँग ७६ रनको हार व्यहोरेपछि पाकिस्तानका पूर्व तीव्र गतिका बलर सोएब अख्तरले भारतीय बलिङ आक्रमणको आलोचना गरेका छन्।

हार्दिक पाण्ड्या र शिवम दुबे जस्ता बलरहरूले करिब १२० किमि प्रतिघण्टा गतिमा बलिङ गर्दा दक्षिण अफ्रिकाजस्तो बलियो टोलीलाई दबाबमा राख्न नसकिने उनको बुझाइ छ।

उनले तुलना गर्दै भने, ‘उनीहरू माल्कम मार्शल जस्ता घातक तीव्र गतिका बलर होइनन्, जसले आफ्नो समयमा विश्व क्रिकेटमा डर पैदा गरेका थिए। १९७० र ८० को दशकमा वेस्ट इन्डिज विश्व क्रिकेटमा हावी हुँदा मार्शल टोलीका सबैभन्दा खतरनाक हतियार मानिन्थे।’

दैनिक भास्करका अनुसार अख्तरले यो हारले भारतीय बलिङ युनिटका कमजोरीहरू प्रस्ट देखाएको बताए। दक्षिण अफ्रिकाविरुद्ध हार्दिक र दुबेले मिलेर ६ ओभरमा ६७ रन खर्चिएर केवल एक विकेट लिन सके।

उनले मिस्ट्री स्पिनर वरुण चक्रवर्तीको गतिमा आएको गिरावटतर्फ पनि संकेत गरे। उनका अनुसार वरुणको सामान्य गति ९७-९८ किमि प्रतिघण्टा भए पनि उक्त खेलमा ९४ किमिमा झरे। यसका कारण ब्याट्सम्यानले सजिलै प्रहार गर्न सके र डेवाल्ड ब्रेविसले उनलाई सिक्स प्रहार गरे।

भारतीय बलिङ सुदृढ बनाउन अख्तरले कुलदीप यादवलाई प्लेइङ-११ मा समावेश गर्न सुझाव दिएका छन्। उनले कुलदीपलाई ‘म्याच विनर’ खेलाडीको संज्ञा दिँदै हावामा बल घुमाएर ब्याट्सम्यानलाई झुक्याउन सक्ने विशेष क्षमता भएको बलर बताए।

साथै वासिङ्टन सुन्दर र वरुण चक्रवर्ती उस्तै शैलीका बलर भएकाले आक्रमणमा विविधता कमी भएको उनको तर्क छ।

अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा भएको उक्त खेलमा दक्षिण अफ्रिकाले पहिले ब्याटिङ गर्दै २० ओभरमा ७ विकेट गुमाएर १८७ रन बनायो।

डेभिड मिलरले ३५ बलमा ६३ रन बनाएका थिए भने डेवाल्ड ब्रेविसले ४५ रन जोडे। जवाफमा भारत १८.५ ओभरमै १११ रनमा अलआउट भयो।

दक्षिण अफ्रिकाका मार्को यान्सनले ४ विकेट लिए भने केशव महाराजले ३ विकेट लिए। भारतका लागि जसप्रीत बुमराहले ३ विकेट लिए पनि टोलीलाई हारबाट जोगाउन सकेनन्।

प्रकाशित: १२ फागुन २०८२ ११:०२ | Tuesday, February 24, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + twenty =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast