वैद्यनाथ-पशुपति जोड्ने ‘शिव सर्किट’ : सांस्कृतिक-धार्मिक कूटनीतिमा नयाँ आयाम

हिमाल प्रेस ७ फागुन २०८२ १७:३३ | Thursday, February 19, 2026
14
SHARES
वैद्यनाथ-पशुपति जोड्ने ‘शिव सर्किट’ : सांस्कृतिक-धार्मिक कूटनीतिमा नयाँ आयाम एआईको सहायतामा बनाइएको तस्बिर।

काठमाडौँ- भारतको बिहारस्थित वैद्यनाथ धाम (देवघर) र पशुपतिनाथ मन्दिर जोड्ने उच्चगति (हाइस्पिड) एक्सप्रेसवे निर्माण प्रस्तावले दक्षिण एसियाली सांस्कृतिक-धार्मिक कूटनीतिमा नयाँ आयाम थप्ने सम्भावना देखाएको छ।

यो परियोजनाले नेपाल-भारतबीचको हजारौँ वर्ष पुरानो सभ्यता-सम्बन्धलाई भौतिक पूर्वाधारमार्फत पुनर्जीवित गर्ने प्रयासका रूपमा हेरिएको छ। यो छिमेकी भारतको बिहार सरकारले नेपालसँग समन्वय गरेर अघि बढाउन लागेको परियोजना हो।

यसमा भारतको केन्द्र सरकारबाट बिहार सरकारलाई ‘ग्रिन सिग्नल’ मिलेसँगै बिहार यो परियोजनाको लागि उत्साहित भएको छ। नेपाल-भारत सीमासम्म भारतले एक्सप्रेसवे बनाउनेछ भने त्यसपछि नेपालको पूर्वपश्चिम राजमार्गअन्तर्गत निजगढ हुँदै फास्ट ट्रयाकबाट पशुपतिनाथ मन्दिर जोडिनेछ।

नेपाल र भारतबीचको सम्बन्ध मुलुक मुलुकबीचको कूटनीतिभन्दा धेरै अघिदेखि सभ्यता-आस्था-तीर्थ परम्परामा आधारित छ। मिथिला, काशी, जनकपुर, देवघर, काठमाडौँ, अयोध्या जस्ता स्थलहरू साझा सांस्कृतिक भूगोलका अवयव हुन्। यिनैमध्ये देवघरस्थित वैद्यनाथधाम र काठमाडौँस्थित पशुपतिनाथ दुवै शिवधाम परम्पराका अत्यन्त प्रतिष्ठित केन्द्र हुन्।

भारतका १२ ज्योतिर्लिङ्गमध्ये एक र अर्को दक्षिण एसियाकै प्रमुख शिव-आस्था केन्द्र। यी दुई धामलाई द्रुत सडकमार्गले जोड्ने अवधारणाले ‘शिव सर्किट’ वा ‘शैव-आस्था मार्ग’ जस्तो नयाँ धार्मिक पर्यटन धुरी निर्माण गर्न सक्छ।

यस परियोजनाको प्रभाव केवल यातायात सुविधा मात्र होइन, क्षेत्रीय अर्थतन्त्र र धार्मिक पर्यटन प्रवाहमा ठूलो परिवर्तन ल्याउने खालको छ। हाल भारतबाट नेपाल आउने तीर्थयात्रीहरू मुख्यतः सीमावर्ती सडक वा हवाई मार्ग प्रयोग गर्छन्, जसमा समय, लागत र प्रक्रियागत झन्झट उत्तिकै छ।

यदि उच्चगतिको सर्किट सडकमार्गले देवघर-पटना-रक्सौल-काठमाडौँलाई जोडेर द्रुत बनायो भने भारतीय तीर्थयात्रीका लागि पशुपतिनाथ दर्शन सहज, छिटो र व्यवस्थित बन्नेछ। यसका लागि नेपालले पनि आफ्नो तर्फबाट पहल गर्न पर्नेमा बिहारको जोड छ। नेपालबाट पनि भारत जाने तीर्थयात्री उत्तिकै हुने हुनाले यसमा नेपाली तीर्थालुको हितमा पनि कुरा उठाउन पर्नेमा सरकारी अधिकारीहरुको जोड छ।

यो पहललाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणको क्रममा अघि सारेको रामायण सर्किट अवधारणासँग पनि जोडेर हेर्न सकिन्छ। रामायण सर्किटले अयोध्या, जनकपुर, चित्रकूट, नासिक, रामेश्वरम् लगायत स्थलहरूलाई जोड्दै सांस्कृतिक पर्यटन मार्ग निर्माण गर्ने लक्ष्य राखेको छ। नेपालका लागि जनकपुर-अयोध्या-काशी-पशुपतिनाथ-देवघर जस्ता धार्मिक केन्द्रहरूलाई एकीकृत क्षेत्रीय सर्किटमा रूपान्तरण गर्ने अवसर यही परियोजनाले थप बलियो बनाउँछ।

विशेषतः जनकपुर-अयोध्या बस सेवा, रामायण सर्किट रेल अवधारणा र अब सम्भावित शिव सर्किट सडकले नेपाल-भारत धार्मिक पर्यटनलाई बहुआयामिक बनाउने संकेत गरेको बिहारका एक राजनीतिज्ञले सुनाउँदै भने, ‘बिहारका आमनागरिकको बुझाइमा पनि नेपाल र भारतबीच यस प्रकारको सहकार्य हुँदा दुवै मुलुकका नागरिकहरू एक अर्काबाट लाभ लिन सक्नेछन्।’

नेपालले लामो समयदेखि भारतीय तीर्थयात्रीको सम्भावित बजारलाई पूर्ण रूपमा उपयोग गर्न सकेको छैन। भारतमा करोडौँ हिन्दू तीर्थयात्री प्रत्येक वर्ष विभिन्न धाम पुग्छन्, तर त्यसमध्ये पशुपतिनाथ आउनेको संख्या तुलनात्मक रूपमा सीमित छ। मुख्य कारण हो- पर्यटन पूर्वाधारको कमजोरी, पहुँचको जटिलता, सेवा व्यवस्थापनको अभाव र समन्वित धार्मिक पर्यटन नीतिको कमी। यस्तो अवस्थामा भारततर्फबाट आएको उच्चगति सडक पहल नेपालका लागि ‘क्याच-अप अवसर’ हो।

यदि यो एक्सप्रेसवे निर्माण अघि बढ्यो भने नेपालले आफ्नो पक्षमा तीन प्रमुख तयारी गर्नुपर्ने देखिन्छ। पहिलो- काठमाडौं उपत्यकामा धार्मिक पर्यटनमैत्री पूर्वाधार विस्तार (पार्किङ, आवास, तीर्थयात्री सेवा केन्द्र, बहुभाषिक सूचना)। दोस्रो- पशुपतिनाथ-जनकपुर-मुक्तिनाथ-लुम्बिनी जस्ता धामलाई एकीकृत गरी ‘नेपाल पवित्र परिक्रमा’ प्याकेजमा विकास। तेस्रो- भारतसँग संयुक्त तीर्थ पर्यटन प्रमोसन, अन्य मुलुकबाट आउने भारतीय मुलका विदेशी नागरिकलाई सहज भिसा सुविधा र सीमापार तीर्थ यात्री व्यवस्थापन अनिवार्य देखिएकोले  यस अनुरुपको सुझाव भारतीयहरूले पटक-पटक दिँदै आएका छन्।

सांस्कृतिक कूटनीतिक दृष्टिले पनि यो परियोजना महत्त्वपूर्ण छ। पछिल्ला वर्षहरूमा दक्षिण एसियामा भौतिक पूर्वाधारमार्फत प्रभाव विस्तार गर्ने प्रतिस्पर्धा बढेको छ। चीनले सडक, रेल, बन्दरगाहमार्फत क्षेत्रीय सम्पर्कता बढाइरहेको अवस्थामा भारतले सांस्कृतिक-धार्मिक सम्पर्कता सुदृढ गर्ने रणनीति अपनाइरहेको देखिन्छ।

देवघर-पशुपतिनाथ एक्सप्रेसवे त्यही रणनीतिक सोचको प्रतीक मान्न सकिन्छ। जहाँ ‘आस्था-कनेक्टिभिटी’ लाई भौतिक कनेक्टिभिटीसँग जोड्ने काम हुनेछ। नेपालका लागि यसमा अवसर मात्र होइन, दायित्व पनि छ। धार्मिक पर्यटनको विश्वस्तरको अनुभव दिन नसकेसम्म केवल सडकले मात्र यात्रु आकर्षित गर्दैन।

पशुपतिनाथ क्षेत्र व्यवस्थापन, नदी-घाट सरसफाइ, आवागमन सहजता, सुरक्षा, डिजिटल टिकट-सूचना प्रणाली जस्ता सुधार अपरिहार्य छन्। भारतबाट आउने लाखौँ सम्भावित तीर्थयात्रीलाई स्वागत गर्ने तयारी नगरेसम्म अवसर गुम्ने जोखिम रहन्छ। यसका लागि अहिलेझैँ टोले डन तवरले पार्किङको पैसा उठाउने नभएर पशुपति क्षेत्र विकास कोषले नै विशेष व्यवस्थापन गर्दै सुरक्षित पार्किङ बनाउन आवश्यक छ।

समग्रमा देवघर-पशुपतिनाथ उच्चगति मार्ग अवधारणा नेपाल-भारत सम्बन्धको नयाँ सांस्कृतिक-आर्थिक अध्याय बन्न सक्छ। रामायण सर्किटपछि सम्भावित शिव सर्किटले हिमालयदेखि गंगा मैदानसम्म फैलिएको साझा सभ्यता-धार्मिक भूगोललाई आधुनिक पूर्वाधारले पुनः जोड्नेछ।

नेपालले यसलाई केवल छिमेकीको परियोजना नभई आफ्नो धार्मिक पर्यटन पुनर्जागरणको अवसरका रूपमा हेरेर रणनीतिक तयारी गर्न सकेमा पशुपतिनाथ दर्शन दक्षिण एसियाली तीर्थयात्राको अनिवार्य केन्द्र बन्न सक्छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast