काठमाडौँ- बहुदलीय व्यवस्था पुनःस्थापनापछिका साढे तीन दशकमा नेपाली राजनीतिले सातवटा संसदीय चुनाव र अनगिन्ती सत्ता समीकरणहरू देख्यो, जहाँ हरेक निर्वाचनले नयाँ ‘पहिलो दल’ त जन्मायो तर अस्थिरताको चरित्र भने कहिल्यै फेरिएन। २०४८ यताका सातवटा चुनाव भएर २७ जना प्रधानमन्त्री बने। यस अवधिमा गिरिजाप्रसाद कोइराला, शेरबहादुर देउवा, केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’, सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्द पटकपटक प्रधानमन्त्री भएका थिए।
सातवटा चुनावमा निरन्तर रूपमा कुनै दलले अगुवाइ गर्न सकेका छैनन् भने कुनै पनि प्रधानमन्त्रीले आफ्नो पाँच वर्षको कार्यकाल पूरा गर्न सकेनन्। २०७९ सम्म आइपुग्दा कांग्रेस चारपटक, एमाले दुईपटक र माओवादी एकपटक पहिलो दल बनेका छन्।
बहुदलीय व्यवस्था पुनःस्थापनापछि २०४८ मा भएको पहिलो चुनावमा नेपाली कांग्रेसले बहुमत ल्याएको थियो।
कांग्रेसको आफ्नै कचिंगलले गर्दा २०५१ मा मध्यावधि निर्वाचन भयो। संसद्मा एमाले पहिलो दल बने पनि कुनै दलको बहुमत आउन सकेन। मुलुकले पहिलोपल्ट वामपन्थी दलका नेता मनमोहन अधिकारी प्रधानमन्त्री पायो। भलै त्रिशंकु संसद् (कुनै दलको बहुमत नपुगेको संसद्) भएकाले अधिकारीको सरकार नौ महिनामै ढलेको थियो।
थोरै समय सत्तामा रहे पनि त्यति बेला एमालेले थालनी गरेको ‘आफ्नो गाउँ आफैँ बनाऊँ’ र ‘सामाजिक सुरक्षा भत्ता’ वितरण गरेको थियो। एमाले अहिले पनि तिनै विगतलाई लिएर जनतासामु जाने गरेको छ।
एमालेको सरकार ढलेपछि प्रधानमन्त्री बनेका थिए- शेरबहादुर देउवा। त्यति बेला सत्ता टिकाउन सांसद खरिदबिक्री एवम् अपहरण गरेर बैंककसम्म पुर्याउने गतिविधि भए। यति मात्रै होइन, जम्बो मन्त्रिपरिषद् गठनको गलत शैलीको सूत्रपात पनि देउवाको सोही कार्यकालमा भएको थियो। त्यति बेला ५२ सदस्यीय मन्त्रिपरिषद् गठन भएको थियो। यसपछि देउवा नै प्रधानमन्त्री हुँदा २०७४ सालमा मन्त्रिपरिषद् ६४ सदस्यीय बनाइएको थियो।
२०५१ पछिको सत्ता राजनीतिका क्रियाकलापलाई संसदीय इतिहासमा फोहोरी राजनीतिक खेलका नामले चिनिन्छ। यस अवधिमा राप्रपा पनि कहिले कांग्रेसको बुई चढेर त कहिले एमालेको बुई चढेर पटकपटक सत्तामा पुगेको थियो।
२०५६ को आमनिर्वाचनमा फेरि नेपाली कांग्रेसले बहुमत ल्यायो। केही महिना कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री भए। तर कांग्रेसकै किचलोले गर्दा भट्टराई सत्तामा टिकिरहन सकेनन्।
त्यसपछि गिरिजाप्रसाद कोइराला, शेरबहादुर देउवा, सूर्यबहादुर थापाले क्रमशः प्रधानमन्त्री बन्ने अवसर त पाए तर उनीहरूको चासो विकास निर्माण र जनताका आधारभूत आवश्यकताभन्दा माओवादी आन्दोलन दबाउने असफल प्रयासमा केन्द्रित भयो।
यसै अवधिमा दरबार हत्याकाण्डबाट तत्कालीन राजा वीरेन्द्रको वंश नाश भयो। वीरेन्द्रपछि राजा बनेका ज्ञानेन्द्रले सत्ता हातमा लिएर प्रत्यक्ष शासनको गलत अभ्यास गरे। उता तत्कालनी माओवादीले हिंसात्मक राजनीति बढाउँदै लगे। माओवादी हिंसाका कारण देशमा १७ हजारभन्दा नेपालीको ज्यान गयो भने खर्बौँको भौतिक सम्पत्ति क्षति भएको थियो। राजा ज्ञानेन्द्रले सत्ता हातमा लिएपछि तत्कालीन सात दल र माओवादी एकै ठाउँमा आइपुगे। बिस्तारै मुलुक शान्तिप्रक्रियातर्फ अघि बढ्यो।
पहिलो संविधानसभा निर्वाचनमा फेरि नेपाली जनताले परिवर्तन चाहे। फलस्वरूप २०६४ सालको पहिलो संविधानसभामा माओवादी पहिलो दल बन्यो। गणतन्त्र घोषणा गरियो। पहिलो गणतान्त्रिक प्रधानमन्त्री बने पुष्पकमल दाहाल ‘प्रचण्ड’। तर तत्कालीन प्रधानसेनापति रुक्मांगद कटवाल प्रकरणमा प्रचण्डले प्रधानमन्त्री पदबाट राजीनामा दिन बाध्य हुनुपर्यो।
संविधान निर्माणको मुख्य जिम्मेवारी पाएको तत्कालीन संविधानसभा/व्यवस्थापिका संसद् संविधान निर्माणका सट्टा सत्ता राजनीतिमै केन्द्रित भयो। दुईदुई ठाउँबाट चुनाव हारेका माधवकुमार नेपाल जस्केलाबाट छिरेर प्रधानमन्त्री बने। झलनाथ खनाल, बाबुराम भट्टराईले पनि प्रधानमन्त्री कार्यालयमा तस्बिर झुन्ड्याउन पाए। संविधान निर्माण गर्न नसकेपछि बाबुराम भट्टराईले संविधानसभा विघटन गरिदिए।
दलहरू दोस्रो संविधानसभा निर्वाचन गर्न सहमत भए पनि निर्वाचन गराउने सरकारको नेतृत्व गर्न भने कुन दल तयार भएननन्। अन्ततः तत्कालीन प्रधानन्यायाधीश खिलराज रेग्मीको अध्यक्षतामा मन्त्रिपरिषद् गठन भयो र सोही सरकारले दोस्रो संविधानसभा निर्वाचन गरायो।
२०७० मा भएको दोस्रो संविधानसभा निर्वाचनमा नेपाली कांग्रेस प्रमुख दल बन्यो। अघिल्लो संविधानसभा निर्वाचनमा पहिलो दल बनेको माओवादी तेस्रो स्थानमा खुम्चियो। एमाले दोस्रो बनेको थियो। कांग्रेसका तत्कालीन सभापति सुशील कोइराला नेतृत्वमा बनेको सरकारले नयाँ संविधान जारी गरेको थियो।
संविधान कार्यान्वयनका लागि २०७४ मा भएको पहिलो प्रतिनिधिसभा सदस्य निर्वाचनमा फेरि एमाले ठूलो दल बन्यो। वाम गठबन्धन गरेर चुनावमा गएका एमाले र माओवादी सम्मिलित नेकपा नेतृत्वमा झन्डै दुई तिहाइ बहुमतको सरकार गठन भयो। नेकपाको किचलोका कारण पार्टी विभाजन हुन पुग्यो भने दोस्रो ठूलो दल कांग्रेसका सभापति शेरबहादुर देउवाले फेरि प्रधानमन्त्री बन्ने अवसर पाए।
२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस पहिलो दल बनेको थियो। एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी क्रमशः दोस्रो, तेस्रो र चौथो दल बनेका थिए। कांग्रेस, माओवादी र एमालेका उस्तै नेतालाई मतदान गर्दै आएको अवस्थामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केही निर्वाचन क्षेत्रमा अत्यधिक बहुमतले जितेपछि जनताको रुझान पनि परिवर्तनमा रहेको देखिएको थियो।
फागुन २१ गते हुन लागेको चुनावमा रास्वपाले बालेन्द्र साहलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारेर चुनावी सक्रियता बढाएको छ। यसैगरी नेपाली कांग्रेसले सभापति गगनकुमार थापालाई प्रधानमन्त्रीका रूपमा अघि सारेको छ। यी दुई दलले सरकारको नेतृत्वमा नयाँ अनुहार प्रस्ताव गरेर चुनावी मैदानमा जाँदा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ फेरि सत्तामा पुग्ने दाउमा छन्।
२०८२ सालमा आइपुग्दा माओवादी पार्टी अनेक टुक्रामा विभाजित भएको छ। अहिले पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयोजकत्वको नेपाली कम्युनिस्ट पार्टी चुनावी मैदानमा छ। पार्टीको नाम परिवर्तन भएपछि चुनाव चिह्न पनि परिवर्तन भएको छ। अहिले नेकपाको चुनाव चिह्न तारा रहेको छ। यसअघि माओवादीले गोलाकारभित्रको हँसियाहथौडा प्रयोग गर्दै आएको छ।
‘हँसिया हथौडा छाडेर ‘तारा’ चिह्नमा ओर्लिएको माओवादीदेखि, गगन र बालेन जस्ता नयाँ अनुहारलाई प्रधानमन्त्रीको रूपमा अघि सार्ने रास्वपा र कांग्रेसको दाउपेचले २०८४ को चुनावी मैदान रोचक बन्ने देखिन्छ।



