जापान सपना छाडेर रंगमञ्चमा रमाएका सबीर

सुस्मिता बजगाईं १ फागुन २०८२ १९:२३ | Friday, February 13, 2026
64
SHARES
जापान सपना छाडेर रंगमञ्चमा रमाएका सबीर

काठमाडौँ- कहिलेकाहीँ जीवनको सबैभन्दा ठूलो सफलता हामीले त्यागेको सपनाबाट होइन, बरु आफ्नै मनको आवाज पछ्याउनाले प्राप्त हुन्छ। हामी त्यही भित्री आवाजलाई बेवास्ता गर्दै सुखसुविधाको मृगतृष्णामा भौँतारिन्छौँ, जसले गर्दा जीवनको सही गोरेटो ठम्याउन निकै ढिलो भइसकेको हुन्छ।

कलाकार सबीर चुरौटेको जीवनकथा पनि यस्तै मोडबाट गुज्रिएको छ। वि.सं. २०७० सालतिर उनी जापान जाने सपना बुनेर काठमाडौँ छिरेका थिए। त्यतिबेला उनको हातमा जापानिज भाषाका अक्षरहरू थिए, आँखामा परदेशको उज्यालो भविष्य र मनमा परिवारको बलियो खम्बा बन्ने अठोट। तर, समयले उनलाई अर्कै मञ्चमा उभ्याइदिने तरखर गर्दै थियो।

बर्दिवासमा जन्मिएका सबीर सामान्य परिवारमा हुर्के। गाउँमै प्लस टु पास गरे। बाँकी समय जापान गएर आफ्नो भविष्य उज्जवल बनाउने सोचेका सबीरको गोरेटो भने फरक लेखिएको रहेछ।

काठमाडौँले उनलाई जापानको हवाईजहाज चढ्न विमानस्थल होइन, रंगमञ्चको अँध्यारो हलभित्र लग्यो। जहाँ बत्ती बल्दा पात्रहरू जन्मिन्छन् र निभ्दा कथाहरू स्मृतिमा बदलिन्छन्।

काठमाडौँ आउनुअघि उनी बर्दिवासको स्थानीय रेडियोमा काम गर्थे। उनको लागि सञ्चार क्षेत्र नयाँ थिएन। तर जीवनको कथाले अर्को दृश्य तयार पारिरहेको थियो, जसको स्क्रिप्ट सबीरले पढेका थिएनन्।

बाल्यकालदेखि उनलाई अभिनयमा रुचि थियो। विद्यालयमा हुने सांस्कृतिक कार्यक्रमतिर सहभागी हुन्थे पनि। मिडियामै कार्यरत भएकाले उनलाई कला क्षेत्र नौलो थिएन।

रंगमञ्चबारे उनी जानकार थिए। ‘समाचारवाचनसहित म रेडियोमा कार्यक्रम पनि चलाउँथे। सातामा फिल्मसम्बन्धी पनि विषय समेट्थे,’ उनले भने।

त्यसैको दौरानमा उनले काठमाडौँमा जापानिज भाषासँगै खाली समय अभिनय कक्षा लिने सोच बनाए। एक्टर्स स्टुडियो जोइन गरे। रंगकर्मी अनुप बरालसँगको तीनमहिने अभिनय प्रशिक्षण लिए।

त्यही प्रशिक्षणनै उनका लागि जिन्दगीको मिठो संयोग बन्यो। उनी भन्छन्, ‘फुर्सदको समय सदुपयोग गर्न अभिनय कक्षा लिएको थिएँ, त्यो मिठो संयोग थियो। कहिलेकाहीँ संयोग नै जिन्दगी बन्दो रहेछ।

प्रशिक्षण सकिएपछि उनले ‘कथा देश’ नाटकमा सानो भूमिकामा काम पाए। उक्त पात्र आफ्नै जीवनको नयाँ अध्याय खोलिरहेको अनुभव गरिरहेका थिए। ती दिन स्मरण गर्दै उनी भन्छन्, ‘त्यो पात्र मेरा लागि केवल संवाद थिएन, आफ्नै जीवनको नयाँ अध्याय खोलिरहेको जस्तो लागेको थियो।’

मञ्चमा उभिँदा बजेको पहिलो ताली जुन उनीभित्रकै आवाजजस्तो बन्यो। नाटक मञ्चन सकियो। मञ्चको पर्दा झर्‍यो। उनको मनमा फेरि जीवनको कठोर प्रश्न अगाडि आयो ‘अब के त, कुन दिशामा बग्ने?’

व्यापारिक पृष्ठभूमि, परिवारको अपेक्षा, विदेश जाने अठोट बोकेका सबीरको कलाप्रतिको गुलियो रस, खरिढुंगाले छुट्टयाएको नदीजस्तै अलमलिए। घर फर्किने तयारी गरे। उनको मनले रंगमञ्चसँग बिदाइ माग्नुपर्छ भनिसकेको थियो, सायद रंगमञ्चले उनलाई बिदाइ दिएको थिएन।

अचानक बानेश्वरको छक्कुबक्कुमा अनोज पाण्डेसँग भेट भयो। उनको प्रश्न साधारण थियो, ‘आज भोलि के गर्दैछौ?’ उक्त प्रश्नले उनको मौनता चिरिदियो।

एक घण्टापछि सुन्धारामा भेट्ने कुरा भयो। सबीर टेम्पो चढे। त्यो टेम्पोको केही मिनेटको यात्रा जीवनको अर्को दृश्यतिरको यात्रा थियो।

जसले केदार श्रेष्ठको निर्देशनमा बनेको नाटक ‘बदरंग’ मा काम गर्ने सहमति भयाे। त्यसपछि उनलाई एकपछि अर्को नाटकमा अफर आउन थाल्यो। उनी भन्छन्, ‘नाटकमा काम गर्ने अवसर पाउँदै गर्दा दिमागबाट जापान टाढिँदै गयो, रंगमञ्च नजिकिन थाल्यो।’

एक दशकको रंगमञ्च यात्रामा उनले ‘मि एन्ड द अदर’, ‘मान भर्सेस मति’, ‘थाङ्ला’, ‘घोडचढी’, ‘उलार’, ‘कोही किन बर्बाद होस’, ‘त्रयम’, ‘हराम पण्डित’ लगायत दर्जन बढी नाटकमा अभिनय गरिसकेका छन्।

नाटकतिरको यात्रा तय हुँदै गएपछि उनले विदेशको सपना थन्क्याए। आँखाभरि स्मृतिका थोपा लिएर उनी सम्झिन्छन्, ‘मेरो जीवन फिल्मजस्तै भयो। कन्फ्लिक्टहरू फिल्मी शैलीमा आए र समाधान पनि फिल्म शैलीमै भेटियो।’

थिएटरले उनलाई पहिचान दियो, आत्मविश्वास दियो। अनि फिल्मी यात्राको ढोका खोलिदियो।

अनुप बराल निर्देशित ‘दोख’ बाट उनले फिल्ममा प्रवेश गर्ने अर्को अवसर पाए। त्यसपछि दीपेन्द्र के. खनालको ‘धनपति’, ‘चंगाचेट’, ‘भष्मे डन’ जस्ता चर्चित फिल्ममा देखिए।

उनी अभिनित ‘क्याप्टेन साब’ र ‘पोखरेली मसिनो’ प्रदर्शनको तयारीमा छ। साथै उनीसँग साउथ फिल्म ‘जोगीको चार पर्खाल’ मा काम गरेको अनुभव पनि छ।

प्रशुन सिन्धुलीयको निर्देशन रहेको ‘जोगीको चार पर्खाल’मा उनी मुख्य भूमिकामा देखिएका छन्। फिल्मको पोस्ट-प्रोडक्सनको काम भइरहेकोले प्रदर्शनकै चरणमा छ।

जसमा उनले साउथ फिल्मका चर्चित अभिनेता प्रकाश राजसँग काम गरेको अनुभव सुनाउँदै भन्छन्, ‘डराइडराइ सुरु भएको यात्रा विस्तारिँदै गयो।’

सबीरका लागि हरेक भूमिका केवल अभिनय होइन, आत्मअनुभव महसुस गर्छन्। ‘आफूले पाएको भूमिकाअनुसार म पात्र नै भएर जिउन खोज्छु,’ उनी भन्छन्।

हालै पोखरामा छायांकन भएको फिल्म ‘शिवांश : च्याप्टर वान’ मा सबिर इन्स्पेक्टरको भूमिकामा देखिएका छन्। फिल्म फागुन १ देखि हलमा प्रदर्शन भइरहेको छ।

फिल्मको ट्रेलर सार्वजनिक भएसँगै उनको ‘कुल डाउन’ संवाद सामाजिक सञ्जालमा निकै रुचाइएको छ। अन्जान केसीको लेखन रहेकाे फिल्म सन्तोष आत्रेयले निर्देशन गरेका हुन्।

सबीर आफ्नो पात्रप्रति आशावादी छन्। भन्छन्, ‘यो भूमिकाले मलाई फरक रूपमा चिनाउने छ भन्ने विश्वास गरेकाे छु।’

प्रकाशित: १ फागुन २०८२ १९:२३ | Friday, February 13, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast