रूपन्देही २ : विष्णु र चुन्नलाई रास्वपाकै डर

विनोद परियार १५ फागुन २०८२ २०:१२ | Friday, February 27, 2026
4
SHARES
रूपन्देही २ : विष्णु र चुन्नलाई रास्वपाकै डर

बुटवल– फागुन २१ गते नजिकिँदै गर्दा रूपन्देही निर्वाचन क्षेत्र न. २ मा कसले जित्ला भन्ने अडकलबाजी काट्न थालिएको छ। केही सञ्चारमाध्यमले मत सर्वेक्षण गरे पनि यहाँको अवस्था अहिलेसम्म कसले जित्छ भनेर यकिन गर्न कठिन छ।

रूपन्देही २ नेकपा एमालेका उपाध्यक्ष एवम् पूर्वउपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलको राजनीतिक प्रतिष्ठासँग जोडेर यहाँको निर्वाचनको चर्चा चुलिएको हो। पौडेल यही निर्वाचन क्षेत्रबाट लगातार चार पटकसम्म निर्वाचित भएर रेकर्ड कायम गरेका छन्।

२०६४ सालयताका निर्वाचनमा लगातार एमालेका विष्णु पौडेललाई फापेको छ। तर यो पटक पौडेलका लागि स्थापित र नयाँ दलका उम्मेदवार चुनौतीका रूपमा मैदान ओर्लेका छन्। रास्वपाका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह रूपन्देही २ मा आएको दृश्यले रास्वपा हौसिएको थियो। तर शुक्रबार नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई ल्याएर भीडको जवाफ दिने कोसिस गरेको छ।

जेनजी आन्दोलनपछि चुनाव हुन लागेकाले देशैभर पुराना र स्थापित भनिएका दलहरूका लागि चुनौती छ। त्यसैमाथि रूपन्देही २ मा एमालेबाहेक अन्य दलहरूले युवा र नयाँ अनुहारलाई अगाडि सारेपछि पौडेल थप घेराबन्दीमा परेका हुन्। नेपाली कांग्रेसबाट व्यवसायी पृष्ठभूमिका चुन्नप्रसाद पौडेल चुनावी मैदानमा छन्।

सबैसँग मिल्ने स्वभावका पौडेलले पछिल्ला दिनमा प्रचार आक्रामक बनाएका छन्। एमाले उपाध्यक्ष पौडेलसँग समेत सुमधुर सम्बन्ध रहेका चुन्नले आफू बोलेर भन्दा काम गरेर देखाउने नेता भएको बताउने गरेका छन्।

यस्तै नेपाली कम्युनिस्ट पार्टीले युवा नेता सुभाष पाण्डे ‘विश्वदीप’ पनि डिजिटल प्लेटफर्ममार्फत प्रचारलाई आक्रामक बनाएका छन्।

रूपन्देही २ मा कांग्रेस एमाले दुवैका लागि चुनौती रास्वपा हो। यहाँ नेकपाका पाण्डेय, डा. निकोलस भुसाल, जनमुक्ति पार्टीका केशव सूर्यवंशी, प्रलोपाका नारायण नागिला पनि सशक्त रूपमा उत्रेका छन्। विभिन्न कोणबाट तर्क वा बहस गरे पनि रूपन्देही २ मा रास्वपासहित कांग्रेस, एमालेबीच प्रतिस्पर्धा हुने देखिन्छ।

एमालेका तर्फबाट २०६४ सालदेखि लगातार निर्वाचन जित्दै अर्थमन्त्री र विकासप्रेमीको पहिचान बनाएका विष्णु पौडेलले सबैभन्दा थ्रेट महसुस गरेको निर्वाचन यही हो।

विश्वदीपका बुवा तत्कालीन माओवादी नेता स्वर्गीय भक्ति पाण्डे २०६४ को निर्वाचनमा विष्णुसँग थोरै मतले पराजित भएका थिए। त्यसबेला विष्णु पहिलो, भक्ति दोस्रो र नेपाली कांग्रेसका सूर्यप्रसाद प्रधान तेस्रो भएका थिए। विश्वदीप बुवाकै नामसहित चुनावी प्रचारमा जनताको घरदेलौमा पुगेर जनताकै भाषामा मत मागेका छन्।

त्यसो त रास्वपाका सुलभ खरेललाई जेनजी आन्दोलनमा सर्वोच्च अदालत जलाउने अगुवाइ गरेको आरोप लाग्ने गरेको छ। यस हिसाबले बौद्धिक तप्काले खरेलको आलोचना गर्छन्। अधिवक्ता पृष्ठभूमिका खरेलले प्रचारलाई डिजिटल प्लेटफर्मसँगै माहोल सकारात्मक बन्दा घरघर पुगिरहेका छन्। तर उनी मिडियाबाट भने निकै टाढा छन्।

यता लगातार चुनाव जितेका र राष्ट्रिय छवि बनाएका पौडेल निकै सरल रूपमा कार्यकर्तामाझ पुगिरहेका छन्। उनले राजनीतिका विषयमा कुनै कुरा गर्दैनन्। रूपन्देहीमा आफ्नो नेतृत्वमा भएका विकासका कामहरूको फेहरिस्त लगाउँदै आफ्नो विकल्प नभएको दोहोर्‍याउने गरेका छन्। उनले तिनाउ नदीमा बनाउने सिग्नेचर ब्रिज, युरोप मोडेलको विकासजस्ता योजना सुनाउने गरेका छन्।

एमाले उपाध्यक्ष भएकाले कतिपयले भावी प्रधानमन्त्रीका रूपमा समेत पौडेलको प्रचार गर्ने गरेका छन्। उनी भने आफू समीक्षाको कठघरामा रहेको स्वीकार गरेका छन्। घोषणापत्र सार्वजनिक कार्यक्रममा पौडेलले राजनीतिक रूपमा आफूहरूको विजयी अपरिहार्य भएको बताए।

फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा पाल्पा क्षेत्र नम्बर २ जाने तयारी गरेका थिए। पौडेलले पाल्पा जाँदा पार्टीभित्रको असन्तुष्टि र रूपन्देहीमा ‘बलिया’ उम्मेदवार देखेनन्, अन्ततः पुरानै किल्लामा फर्किए।

२०५६ सालमा तत्कालीन रूपन्देही क्षेत्र नम्बर ३ बाट उम्मेदवार बनेका पौडेललाई त्यसबेला नेपाली कांग्रेसका नेता सूर्यप्रसाद प्रधानले पराजित गरेका थिए। त्यसपछि २०६४ सालयता भने हरेका निर्वाचनमा उनले विजयको स्वाद चाखिरहेका छन्।

२०७९ सालको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का गणेश पौडेलसँग कडा प्रतिस्पर्धा भएपछि पौडेल यस क्षेत्रमा सशंकित बनेका थिए। रास्वपाका गणेशले २५ हजार सात सय ८१ मत पाएका थिए भने विष्णुले २७ हजार एक सय ४७ मत प्राप्त गरेका थिए। लगातार जित्दै आएको क्षेत्रमा करिब १२ सय मत मात्रै अन्तर पर्नु विष्णुका लागि निराशाजनक थियो।

अन्य उम्मेदवार पनि मैदानमा

रूपन्देही २ मा उम्मेदवार कमल भुसाल (निकोलस) पनि प्रतिस्पर्धामा छन्। चिकित्सका शिक्षा अध्ययन गरेका भुसालले पछिल्ला समय सामाजिक अभियन्ताका रूपमा परिचय बनाएका छन्। यसअघिको निर्वाचनमा पनि उनले यहाँ उम्मेदवारी दिएका थिए, यद्यपि उनको उम्मेदवारी खारेज भएको थियो। नेपाल जनसेवा पार्टीबाट उम्मेदवार बनेका निकोलसले बिरामी जाँच्दै मत मागेका थिए। उनले नेपाललाई स्वर्ग बनाउने योजनासहित चुनावी प्रचारमा खटिएका छन्।

यस पटक रूपन्देही-२ मा चौपक्षीय प्रतिस्पर्धा हुने विश्लेषण गरिएको छ। एमाले उपाध्यक्ष पौडेल, कांग्रेसका पौडेल, नेकपाका पाण्डेय र रास्वपाका खरेल मुख्य प्रतिस्पर्धी हुन्। तर यी कसैलाई भने ढुक्क हुने अवस्था देखिएको छैन। एकले अर्कोलाई शंका गर्ने अवस्था छ।

रूपन्देही-२ मा बुटवल उपमहानगरपालिकाका १ देखि १३ नम्बरसम्मका वडा, तिलोत्तमा नगरपालिकाका १ देखि ६ सम्मका वडा र सैनामैना नगरपालिकाका १ देखि ४ सम्मका वडा पर्छन्। यहाँ १ लाख ३५ हजार ५० मतदाता छन्।

प्रकाशित: १५ फागुन २०८२ २०:१२ | Friday, February 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast