काठमाडौँ- चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो सात महिनामा घरजग्गा कारोबारबाट हुने राजस्व परिचालन गत वर्षको सोही अवधिको तुलनामा ८.९४ प्रतिशतले वृद्धि भएको छ।
भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार साउनदेखि माघ मसान्तसम्ममा सरकारले घरजग्गा कारोबारबाट २६ अर्ब ९६ करोड रुपैयाँ राजस्व संकलन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा कुल राजस्व संकलन २४ अर्ब ७१ करोड रुपैयाँ थियो।
यसले राजस्वमा दुई अर्ब २१ करोड रुपैयाँ वृद्धि भएको देखाउँछ। तथ्यांकअनुसार सबैभन्दा बढी राजस्व पुसमा संकलन भएको छ। विभागले पाँच अर्ब १७ करोड रुपैयाँ संकलन गरेको थियो। सबैभन्दा कम असोजमा दुई अर्ब ७४ करोड रुपैयाँ संकलन भएको छ।
कारोबारको संख्या भने १.२ प्रतिशतको सुस्त दरमा मात्र बढेको छ। विभागका अनुसार गत वर्षको पहिलो सात महिनामा आठ लाख ४५ हजार ६ सय ५१ वटा कारोबार भएकोमा यस वर्षको सोही अवधिमा कुल आठ लाख ५६ हजार कारोबार दर्ता भएका छन्।
ललितपुरको लगनखेल मालपोत कार्यालय ५२ करोड ३१ लाख २० हजार रुपैयाँ संकलन गर्दै राजस्वको सूचीमा पहिलो स्थानमा छ। डिल्लीबजार मालपोत कार्यालय (३८ करोड ९३ लाख ६० हजार) र कलंकी मालपोत कार्यालय (३३ करोड ८१ लाख १० हजार) क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्।
यी तीनवटै कार्यालय काठमाडौं उपत्यकाभित्र पर्दछन्। कारोबार संख्याका आधारमा भने कलंकी मालपोत कार्यालय सात हजार चार सय ३६ कारोबारका साथ शीर्ष स्थानमा छ। त्यसपछि झापा मालपोत कार्यालय ६ हजार ६ सय ४४ र नेपालगन्ज मालपोत कार्यालय (पाँच हजार आठ सय १९) छन्।




