काठमाडौँ- रौतहटमा चुनावी अभियानका क्रममा प्रयोग गरिएको सवारी साधनको ठक्करबाट ४ वर्षीया बालिकाको मृत्यु भएको घटनाप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गहिरो दुःख व्यक्त गरेको छ।
रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले आज जारी गरेको विज्ञप्तिमा उक्त घटनाले पार्टी अत्यन्तै स्तब्ध र मर्माहत भएको उल्लेख गरिएको छ।
विज्ञप्तिमा मृतक बालिकाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरिएको छ।
पार्टीले घटनालाई अत्यन्त गम्भीरताका साथ लिएको जनाउँदै घटनाको वस्तुनिष्ठ छानबिनका लागि स्थानीय प्रशासनलाई पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
कानुनी प्रक्रिया पूरा गरी पीडित परिवारलाई न्याय दिलाउने सन्दर्भमा कुनै कसर बाँकी नराखिने पनि विज्ञप्तिमा उल्लेख छ।
पीडित परिवारलाई आवश्यक राहत तथा सहयोग उपलब्ध गराउन पार्टीको तर्फबाट पहल भइरहेको जानकारी गराइएको छ।
भविष्यमा यस्ता घटना दोहोरिन नदिन चुनावी अभियानका क्रममा प्रयोग हुने सवारी साधनको परिचालनमा उच्च सतर्कता अपनाउन, सुरक्षा संवेदनशीलतालाई प्राथमिकता दिन पार्टीपंक्ति, उम्मेदवार तथा सवारी चालकहरूलाई निर्देशन जारी गरिएको पनि रास्वपाले जनाएको छ।



