काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले यसपटक देशैभर एक्लै प्रतिस्पर्धामा छ। यसअघिका दुई निर्वाचनमा एमालेसँग सीमित क्षेत्रमा तालमेल गरे पनि यसपटक राप्रपा एक्लै चुनाव लड्दैछ। गएको निर्वाचनमा राप्रपाले नेताहरू लक्षित तालेमल गरेको थियो। विशेषत: एमाले अध्यक्ष केपी शर्मा ओलीसँग एक्लै गृहजिल्ला भएका राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले झापा ५ र झापा ३ मा तालमेल गरेका थिए।
झापा ३ लिङ्देनको क्षेत्र र झापा ५ ओलीको क्षेत्र भएकाले दुई पार्टीले मत साटासाट गर्ने गरेका थिए। तर यसपटक एमाले र राप्रपा दुवैले यस क्षेत्रमा तालमेल गरेका छैनन्। तर राप्रपाभित्रै लिङ्देनले झापाका २ क्षेत्रमा तालमेल गरेको चर्चा चलेको छ। ओलीसँग यसपटक रास्वपा नेता बालेन शाह भिड्ने भएकाले पनि चर्चा चलाइएको बुझिएको छ। तर यो हल्लाप्रति लिङ्देन असन्तुष्ट छन्। उनले एउटा झुन्डले गठबन्धन गरेको बताएका छन्।
‘एउटा सानो झुण्ड झापा ५ र ३ मा राप्रपाले एमालेसँग गठबन्धन गरेको छ भनेर सुनियोजित रुपमा प्रचारमा उत्रेर भ्रम सिर्जना गर्ने कोसिस गरिरहेको छ। म शालिनतापूर्वक आग्रह गर्छु, यो पनि निर्वाचन आचार संहिता र साइबर कानुनको उल्लंघन हो।’ उनले भनेका छन्। उनले भ्रम फिजाएर निर्वाचन आचार संहिता र साइबर कानुनको उल्लंघन गरेको समेत बताएका छन्। आफू यसप्रति सजग रहेकाले भ्रम फिजाउनेलाई निर्वाचन आयोग र प्रहरीमा उजुरी गर्ने तयारी गरेको समेत बताएका छन्। झापा ३ मा लिङ्देन आफै उम्मेदवार छन्। राप्रपाले प्रत्यक्षतर्फ देशभर उम्मेदवार उठाएको छ।



