काठमाडौँ- यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कर्मचारी खटाउने क्रममा विद्यालय कर्मचारीलाई सहभागी नगराइएकोप्रति नेपाल विद्यालय कर्मचारी परिषद्, रसुवाले गम्भीर आपत्ति जनाएको छ।
परिषद्का जिल्ला अध्यक्ष सूर्यबहादुर तामाङले निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दर्ता गराउँदै सक्षम र अनुभवी जनशक्ति हुँदाहुँदै पनि विद्यालय कर्मचारीहरूलाई पाखा लगाइएकोमा दुःख व्यक्त गरेका छन्।
जिल्लाका विभिन्न विद्यालयमा कार्यरत कर्मचारीहरू प्रशासनिक कार्यमा दक्ष रहेको र राज्यको यस्तो महत्त्वपूर्ण लोकतान्त्रिक अभ्यासमा योगदान दिन तयार रहेको भए तापनि उनीहरूलाई समान अवसरबाट वञ्चित गरिएको परिषद्को ठहर छ।
निर्वाचन जस्तो संवेदनशील र साझा दायित्व बोकेको कार्यमा योग्य जनशक्तिलाई विभेद नगरी तत्काल समावेश गराउन र यस विषयमा आवश्यक छानबिन गरी न्यायोचित निर्णय लिन परिषद्ले निर्वाचन अधिकृत समक्ष माग गरेको छ।





