काठमाडौँ- अखिल नेपाल फुटबल संघ (एन्फा) ले आगामी फागुन १ गतेदेखि उदयपुरमा सुरु हुने एन्फा महिला च्याम्पियनसिपको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ।
एन्फाले सोमबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै एन्फाले आगामी फागुन १ देखि ९ गतेसम्म उदयपुरको त्रियुगा नगरपालिकास्थित थरुहट रंगशालामा आयोजना हुने एन्फा महिला च्याम्पियनसिप नकआउट फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो।
प्रतियोगितामा गाईघाट एफसी, न्युरोड टिम, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एफसी रियाले, एपीएफ फुटबल क्लब, आरएस रिसोर्ट एण्ड बिच भलिबल टिम, चर्च ब्वाइज युनाइटेड, छहारी एफसी र संकटा एफसी गरी १० टिमको सहभागिता रहने एन्फाले जनाएको छ।
प्रतियोगिताको विजेतालाई ७ लाख ५० हजार, उपविजेतालाई ५ लाख रुपैयाँ प्रदान गरिने छ भने फेयर प्ले टिमलाई ५० हजार, उत्कृष्ट खेलाडी, गोलकिपर र उच्च गोलकर्तालाई ५० हजार रुपैयाँ प्रदान गरिने प्रतियोगिता निर्देशक सन्जीव मिश्रले जानकारी दिए।
प्रतियोगिताको अनुमानित बजेट १ करोड २० लाख ६२ हजार रुपैयाँ रहेको एन्फाले जनाएको छ।



