प्रचण्डको तर्क : सूर्यभन्दा तारा माथि, नेकपा सबैभन्दा नयाँ पार्टी

हिमाल प्रेस २८ माघ २०८२ २०:४१ | Wednesday, February 11, 2026
4
SHARES
प्रचण्डको तर्क : सूर्यभन्दा तारा माथि, नेकपा सबैभन्दा नयाँ पार्टी

पोखरा- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी चुनाव आफ्नो पक्षमा पार्न अनौठो तर्क गरेका छन्। उनले भनेका छन्, ‘आकाशमा सूर्यभन्दा धेरै माथि तारा हुन्छ। कात्तिक १९ गते जन्मिएको नेकपा सबैभन्दा नयाँ दल हो। हामी पुरानो होइनौं।’

बुधबार पोखरामा आयोजित पार्टीको जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै संयोजक दाहालले मतदातालाई प्रभावित पार्न त्यस्तो तर्क गरेका हुन्।

‘तारामा हामी पुगिसकियो। सूर्यभन्दा कति हो कति माथि हुन्छ तारा। त्यति माथि पुगिसकियो भन्ने कुरा अझै राम्रो जानकारी भएको छैन,’ उनले अगाडि भने, ‘तपाईँहरूले आफ्नो चुनाव चिह्न र पार्टी राम्रोसँग जनतालाई चिनाउने कुरालाई पनि त्यत्तिकै ध्यान दिन जरुरी छ।’ तारा नेकपाको चुनाव चिह्न हो।

यसै गरी उनले आफूहरु पुरानो दल नभई नेकपा पार्टीलाई सबैभन्दा नयाँ पार्टी हो पनि भन्न भ्याए। उनले १९ कात्तिकपछि कुनै पनि दल नजन्मिएको भन्दै यो नै सबैभन्दा नयाँ दल हो भने।

गत १९ कात्तिकमा प्रचण्ड नेतृत्वको तत्कालीन नेकपा माओवादी केन्द्र, माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीसमेत १२ वामपन्थी घटक मिलेर नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बनेको हो।

प्रचण्डले आफ्नै खुट्टामा उभिएर पहिलो पार्टी बन्ने दाबी पनि गरे। उनले कुनै पनि शक्तिसँग गठबन्धन नगर्ने दोहोर्‍याए।

उनले भने, ‘हामी कुनैखालको समीकरण वा तालमेल गर्नेवाला छैनौं। आफ्नै खुट्टामा उभिएर जनताको विश्वासको बलमा हामी टेस्ट हुन चाहन्छौं र मलाई विश्वास छ, हामी त्यो परीक्षामा उत्तीर्ण हुनेछौं। चुनाव आउँदा नआउँदै हामी चाहिँ एक नम्बर पार्टी बन्ने ठाउँमा पुग्नेछौं।’

आगामी २०८४ सालमा हुने भनिएको चुनाव असहज राजनीतिक परिस्थितिबीच ई०८२ मा नै हुन लागेको बताउँदै उनले यसलाई सामान्य निर्वाचन नभई राष्ट्रको अस्तित्वसँग जोडिएको बताए।

उनले तोकिएको मिति २१ फागनुमै निर्वाचन हने भएकाले आफ्ना कार्यकर्तालाई निर्वाचन प्रक्रियामा जुट्न निर्देशन पनि दिए। निर्वाचन हुँदैन कि भन्ने द्विविधाबाट मुक्त भई अबको तीन साता पार्टीलाई दिन अनुरोध उनले गरे।

प्रकाशित: २८ माघ २०८२ २०:४१ | Wednesday, February 11, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast