निवर्तमान प्रतिनिधिसभा सदस्य गोकुल बाँस्कोटा
काठमाडौँ- नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’प्रति कटाक्ष प्रहार गरेका छन्। उनले प्रचण्डसँग अब निर्वाचन रोक्नु वा अन्तिम पटक कोहीसँग एकताको नाटक गर्नु मात्र विकल्प रहेको बताएका छन्। उनले समयले उपलब्ध गराएका दुर्लभ र नेतृत्वदायी अवसरहरूलाई जवाफदेहिताका साथ सदुपयोग गर्न नसक्दा नेतृत्वले पटकपटक असफलता भोग्नुपर्ने उल्लेख गरेका छन्।
प्रचण्डले आइतबार एक भिडियो अभिव्यक्तिमार्फत आफू देशलाई संकटमुक्त गर्न लागेको बताएका थिए। उनले आफू विगतमा नायकको रूपमा रहे पनि देश विकासका लागि नायक मात्र नरही राजनीतिमा लागेको बताएका थिए। प्रचण्डले आफू राजनीतिक खलनायक भने नबन्ने बताए।
तर बास्कोटाले प्रचण्ड समयले विश्वासपूर्ण जवाफदेहितासहित उपलब्ध गराएका दुर्लभ नेतृत्वदायी ऐतिहासिक अवसरहरू पटक पटक गुमाएको व्यकित् भनेका छन्।
बाँस्कोटाले थप विश्लेषण गर्दै अबको परिस्थितिमा निर्वाचन रोक्नु वा अन्तिम पटक आफ्ना केही सीमित व्यक्तिहरूको स्वार्थका लागि ‘आकस्मिक वाम अंकमाल’ को प्रयास गर्नु नै अन्तिम विकल्प हुन सक्ने संकेत गरेका छन्।



