दलका कार्यक्रमले बढाउँदै चुनावी लहर

हिमाल प्रेस १५ फागुन २०८२ ६:५२ | Friday, February 27, 2026
8
SHARES
दलका कार्यक्रमले बढाउँदै चुनावी लहर

महोत्तरी- निर्वाचनको खुला चुनावी प्रचारको अवधि घर्कँदै गर्दा दलहरूले सार्वजनिक सभा आयोजना गर्न थालेपछि थप चहलपहल बढेको छ।

पछिल्ला एक दुई दिनभित्र जिल्लाका चारवटै प्रतिनिधिसभा क्षेत्रमा दलका शीर्ष नेताको सहभागितामा सम्पन्न चुनावी सभाले चहलपहल निकै बढाएको हो।

निर्वाचनमा मनोनयनपत्र दर्ता गरेसँगै दल र उम्मेदवारलाई चुनाव लागे पनि आम मतदातामा खासै उत्साह नबढेको आम प्रतिक्रिया पाइन्थ्यो।

तर पछिल्ला एक दुई दिनभित्र दलहरूले आयोजना गरेका सभामा शीर्षनेता नै मुख्य वक्ता रहेका कार्यक्रमले आम मतदातामा चुनावी चासो र प्रतिक्रिया बढेको बुद्धिजीवीले औँल्याएका छन्।

‘यसअघि दल र उम्मेदवार प्रचारप्रसार र भेटघाटमा हिँडे पनि आमजनतामा खासै उत्साह देखिन्नथ्यो’, भङ्गाहा-४ रामनगरका बासिन्दा अवकासप्राप्त शिक्षक रघुवीर साह भन्छन्,‘अब भने दलहरूका विभिन्न ठाउँमा सम्पन्न सभापछि आममतदातामा चुनावी चासो ह्वात्तै बढेको छ।’

बुधबारमात्र क्षेत्र नं १ को बर्दिबास, क्षेत्र नं २ को बलवा, क्षेत्र नं ३ को जलेश्वर र क्षेत्र नं ४ को सम्सीमा विभिन्न दलका शीर्षनेताले सम्बोधन गरेका सभाले चुनावी लहर निकै बढाएको साहको ठम्याइ छ।

बुधबार बर्दिबासमा रास्वपाका सभापति रवि लामिछाने र श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आआफ्ना दलले आयोजना गरेका चुनावी सभालाई सम्बोधन गरेका थिए।

त्यसैगरी, बलवामा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र नेता महन्थ ठाकुरले चुनावी सभालाई सम्बोधन गरेका थिए।

सोही दिन जलेश्वर र सम्सीमा नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले गरेको चुनावी सम्बोधनपछि जिल्लाका नगर गाउँ बस्तीमा नेताहरूबाट व्यक्त विचारबारे प्रतिक्रिया बाक्लिँदै गएको मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापिठबाट अवकासप्राप्त सहप्राध्यापक ध्रुव रायको कथन छ।

‘यी सभामा नेताबाट भएका सम्बोधनमा व्यक्त विचारबारे अहिले मतदाता खुलेर छलफल गरिरहेका देखिन्छन्’, राय भन्छन्, ‘चुनावको दिन नजिकिएकै बेला आमजनतामा बढेको चासोले मतदानमा सहभागिता बढाउने अड्कल गर्न सकिन्छ।’

खुला प्रचारप्रसारको अवधि आउने आइतबारसम्म रहेको हुँदा यसबीच अन्य दलले पनि सभाका कार्यक्रम राख्न सक्ने सम्भावना छ।

प्रकाशित: १५ फागुन २०८२ ६:५२ | Friday, February 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast