संसदीय निर्वाचन : बंगलादेश नेशनलिस्ट पार्टी स्पष्ट बहुमततर्फ

हिमाल प्रेस १ फागुन २०८२ ७:५० | Friday, February 13, 2026
26
SHARES
संसदीय निर्वाचन : बंगलादेश नेशनलिस्ट पार्टी स्पष्ट बहुमततर्फ बंगलादेशमा बिहीबार सम्पन्न संसदीय निर्वाचनका क्रममा एक महिला मतदान केन्द्रमा आफ्नो मत खसाल्दै। तस्बिर : एपी

ढाका- १३औँ राष्ट्रिय संसदीय निर्वाचनअन्तर्गत मतगणना जारी रहँदा बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) ले हालसम्म १५१ निर्वाचन क्षेत्रमा विजय हासिल गर्दै स्पष्ट बहुमततर्फ अग्रसर भएको छ।

ढाका ट्रिब्युनकाअनुसार  प्रारम्भिक नतिजा बंगलादेश जमात ए इस्लामी ४३ सिट जित्दै मुख्य प्रतिपक्षका रूपमा उभिएको छ। देशभरबाट नतिजा आउने क्रम जारी छ।

यो निर्वाचन सन् २०२४ को ‘जुलाई क्रान्ति’ पछिको पहिलो आम निर्वाचन तथा जनमतसंग्रह भएकाले ऐतिहासिक मानिएको छ। मतदान बिहान ७:३० बजे सुरु भई नौ घण्टासम्म अविरल सञ्चालन भयो। मतदाताले संसदीय निर्वाचन र जनमतसंग्रहका लागि छुट्टाछुट्टै मतपत्र प्रयोग गरेका थिए जसलाई पारदर्शी मतपेटिकामा राखिएको थियो। देशभर ४२,६५९ मतदान केन्द्र स्थापना गरिएका थिए।

३०० मध्ये २९९ क्षेत्रमा मतदान सम्पन्न भयो। शेरपुर-३ मा एक उम्मेदवारको निधनपछि मतदान स्थगित गरिएको थियो। निर्वाचन आयोगका अनुसार दिउँसो २ बजेसम्म ३६,०३१ केन्द्रमा ४७.९१ प्रतिशत मतदान भएको थियो।

राजधानीका केही केन्द्रमा मतदाता सहभागिता क्षेत्रमा क्षेत्र फरक देखिए पनि बिहानदेखि दिउँसोसम्म मतदाताको उपस्थिति देखिएको सञ्चारकर्मीहरूले जनाएका छन्।

उत्साहजनक सहभागिता

बनानी मोडल स्कुलको मैदानमा बिहान ११ बजेतिर करिब ७०० मतदाता लाइनमा उभिएको देखिएको थियो। युवा, महिला तथा ज्येष्ठ नागरिकहरूको उल्लेख्य सहभागिता देखियो। केही मतदाताले सन् २००८ पछिको यो पहिलो शान्तिपूर्ण र उत्सवमय निर्वाचन भएको प्रतिक्रिया दिएका छन्।

१२० वर्षीया स्वर्णा बेगम पनि आफन्तको सहारामा मतदान गर्न पुगेकी थिइन्। विभिन्न केन्द्रमा बिहान पुरुषको सहभागिता बढी देखिए पनि पछि महिला मतदाता बढ्दै गएको अधिकारीहरूले बताएका छन्।

नेताहरूको मतदान र प्रतिक्रिया

बीएनपी अध्यक्ष तारिक रहमानले ढाकाको गुलशन मोडल हाई स्कूल एन्ड कलेजमा मतदान गर्दै जनताले लामो समयपछि आफ्नो अधिकार पुनः प्राप्त गरेको बताए।

जमात ए इस्लामीका अमीर डा. शफीकुर रहमानले निष्पक्ष निर्वाचन भए विजय सुनिश्चित हुने विश्वास व्यक्त गरे। राष्ट्रिय नागरिक पार्टीका संयोजक नाहिद इस्लामले मतदातालाई ढुक्क भएर मतदानमा सहभागी हुन आग्रह गरे।

प्रधान सल्लाहकार प्रो. डा. मुहम्मद युनुसले मतदानपछि यस दिनलाई नयाँ बंगलादेशको जन्मदिन भन्दै नागरिकलाई निर्वाचन र जनमतसंग्रहमा सहभागी हुन आग्रह गरे। प्रमुख निर्वाचन आयुक्त एएमएम नासिर उद्दिनले मतदान प्रक्रिया हालसम्म स्वतन्त्र र निष्पक्ष रूपमा अघि बढेको बताए।

निर्वाचन सुरक्षाका लागि करिब १० लाख सुरक्षाकर्मी (सशस्त्र बल, सीमा रक्षक बल र प्रहरी) परिचालन गरिएको थियो। राजधानीसहित देशभर सुरक्षा कडा पारिएको थियो। अधिकारीहरूका अनुसार मतदान अवधिभर कुनै ज्यानहानीको घटना रिपोर्ट भएको छैन।

अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूले निर्वाचनमा जनउत्साह उल्लेखनीय रहेको प्रतिक्रिया दिएका छन्। मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन केही समय लाग्ने निर्वाचन अधिकारीहरूले बताएका छन्।

प्रकाशित: १ फागुन २०८२ ७:५० | Friday, February 13, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast