दैलेख-१ मा निवर्तमान सांसद अम्मरबहादुर थापाको अग्निपरीक्षा

हिमाल प्रेस ११ फागुन २०८२ १७:३९ | Monday, February 23, 2026
20
SHARES
दैलेख-१ मा निवर्तमान सांसद अम्मरबहादुर थापाको अग्निपरीक्षा अम्मरबहादुर थापा। तस्बिर : हिमालप्रेस

दैलेख- यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि दैलेख क्षेत्र नं.१ मा चुनावी सरगर्मी निकै बढेको छ।

यस क्षेत्रमा निवर्तमान सांसद तथा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका पूर्वसभापति अम्मरबहादुर थापा पुनः चुनावी मैदानमा उत्रिएपछि यहाँको प्रतिस्पर्धा विशेष चासोका साथ हेरिएको छ।

गएको २०७९ को निर्वाचनमा तत्कालीन गठबन्धनको साझा उम्मेदवारका रूपमा १८ हजार २९७ मत ल्याएर विजयी भएका थापा यसपटक आफ्नो साख जोगाउने र संसदीय विकासका अधुरा काम पूरा गर्ने एजेन्डासहित मतदातामाझ पुगेका छन्।

संसदीय समिति (शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि) को सभापतिका रूपमा राष्ट्रिय राजनीति र नीति निर्माणमा प्रभावकारी भूमिका निर्वाह गरेकाले पनि यसपटक थापाको उम्मेदवारीलाई शक्तिशाली मानिएको छ। यद्यपि यसपटकको समीकरण थापाका लागि निकै चुनौतीपूर्ण देखिएको छ। विगतमा सहकार्य गरेको नेपाली कांग्रेसले यसपटक बासना थापालाई आफ्नै उम्मेदवारका रूपमा मैदानमा उतारेको छ भने नेकपा एमालेबाट रवीन्द्रराज शर्मा पुनः चुनावी दौडमा छन्।

२०७९ मा थापाले शर्मालाई ८५२ मतान्तरले पराजित गरेका थिए। यसपटक कांग्रेस र एमाले दुवैले आफ्नै उम्मेदवार उठाएको र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट नन्दकिशोर बस्नेत पनि मैदानमा रहेकाले थापालाई आफ्नो पुरानो मत जोगाउन ठूलो कसरत गर्नुपर्ने देखिन्छ।

संसदीय समितिको नेतृत्व सम्हाल्दा शिक्षा र स्वास्थ्य क्षेत्रमा देखाएको सक्रियता र जिल्लाको विकासमा पुर्‍याएको योगदान नै थापाको मुख्य चुनावी आधार हो। रोचक प्रतिस्पर्धाका कारण दैलेख-१ को नतिजा कता ढल्किन्छ भन्नेमा कौतुहलता बढेको छ। यस क्षेत्रमा कुल ७९ हजार ७०१ मतदाता छन्।

प्रकाशित: ११ फागुन २०८२ १७:३९ | Monday, February 23, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast