काठमाडौँ- नेपाल टेलिकमले जीएसएम प्रिपेड सिमकार्ड प्रयोगकर्ता ग्राहकहरूका लागि अनलाईनमार्फत केवाईसी विवरण अद्यावधिक गर्ने सेवा देशभर उपलब्ध गराएको छ।
कम्पनीमा अभिलेख रहेको ग्राहक विवरण अब ग्राहक स्वयंले अनलाईन प्रणाली प्रयोग गरी अद्यावधिक गर्न सक्ने व्यवस्था मिलाइएको हो।
टेलिकमका प्रवक्ता रविन्द्र मानन्धरले दूरसञ्चार कार्यालय सुनधाराबाट गत पुस २२ गते परीक्षणका रूपमा सुरू गरिएको यो सेवा नेपाल टेलिकमको २२ औँ वार्षिकोत्सवको अवसरमा २०८२ माघ २२ गतेदेखि देशभरका सबै कार्यालयमार्फ पूर्णरूपमा लागू भएको जानकारी दिए।
नयाँ व्यवस्थाअनुसार हाल आफ्नो नाम, ठेगाना वा अन्य व्यक्तिगत विवरण सच्चाउनुपर्ने ग्राहकहरूले टेलिकमको कस्टमर लगइन पोर्टल https://kyc.ntc.net.np/ मार्फत आवश्यक विवरण भरी अद्यावधिक गर्न सक्नेछन्। विवरण भर्दा सम्बन्धित मोबाइल नम्बरमा प्राप्त हुने ओटीपी प्रयोग गरी प्रमाणीकरण गर्नुपर्ने व्यवस्था गरिएको टेलिकमले जनाएको छ।
साथै, ग्राहकले आफ्नो व्यत्तिगत विवरणसँगै आफूले धेरै कल गर्ने पाँचवटा मोबाइल नम्बर पनि उल्लेख गर्नुपर्नेछ।
सबै विवरण अनलाईन भरेपछि प्रमाणीकरण प्रक्रियाका लागि नजिकको नेपाल टेलिकम कार्यालय वा ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्नुपर्ने प्रवक्ता मानन्धरले बताए। यही आधारमा टेलिकमको प्रणालीले ग्राहक विवरण प्रमाणीकरण गरी अद्ययावधिक गर्ने व्यवस्था रहेको छ।
धेरै ग्राहकको व्यक्तिगत विवरण पूर्णरूपमा अद्यावधिक नभएको अवस्थालाई मध्यनजर गरी यस सेवाबाट विवरण सच्याउन र अद्यावधिक गर्न सहज हुने टेलिकमको विश्वास छ। साथै यसले अन्य सरकारी निकायमा समेत व्यत्तिगत विवरण अद्यावधिक राख्न सहयोग पुग्ने टेलिकमले जनाएको छ।



