काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौँ बाहिर मतदाता नामावली भएका कार्यकर्तालाई निर्वाचन प्रचार प्रसारका लागि आफ्नो आफ्नो निर्वाचन क्षेत्र फर्कन निर्देशन दिएका हुन्। पार्टीको झापा काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले समय निकालेर आफ्ना निर्वाचन क्षेत्रमा जान निर्देशन दिएका हुन्।
‘तपाईंहरु विभिन्न पेशा व्यावशाय गर्न काठमाडौं आउनु भएको छ । अहिले निर्वाचनको माहोल छ’ अध्यक्ष ओलीले भने, ‘समय निकालेर निर्वाचन क्षेत्र जानुहोस। पार्टीको पक्षमा माहोल बनाउनुहोस्। आफन्त भेट्नुहोस्। साथीभाइसँग बस्नुहोस । पार्टी र नेतृत्व विरुद्धका भ्रमहरु चिर्नुहोस्। ’
अध्यक्ष ओलीले जहाजमा यात्रीको रुपमा व्यक्तिले जहाज चलाउछु भन्ने कुरा असान्दर्भिक मात्र होइन जोखिमपूर्ण पनि हुने बताए। विभिन्न व्यक्तिहरुले आफूलाई प्रधानमन्त्रीको उम्मेद्वार भन्दै प्रचार गरेकोप्रति व्यंग्य गर्दै अध्यक्ष ओलीले अनुभव नभएका र देश चलाउने सोचै नभएका व्यक्तिहरुबाट यस्तो कुरा सम्भव नहुने बताए।
‘जहाजमा यात्रुको रुपमा रहेको व्यक्तिले म त जहाजै उडाउन सक्छु भनेर पाइलट सिटमा बस्यो भने के हुन्छ?’ अध्यक्ष ओलीले प्रश्न गरे,‘त्यस्तो जहाजमा कोही चढ्लान् त? झुक्किएर कोही चढीहाले भने उसको अवस्था के होला? त्यसकारण अहिले सबैले सोचबिचार गरेर निर्णय गर्नुपर्ने समय आएको छ।’
अध्यक्ष ओलीले निर्वाचन दुई चरणमा गर्ने कुरा कुनै हालतमा पनि स्विकार नगर्ने बताएका छन्। ‘प्रधानमन्त्रीले हिमालमा हिउँ पर्यो भने निर्वाचन दुई चरणमा हुन्छ भनेको सुनें। यो कुनै हालतमा पनि स्विकार्य हुदैन’ उनले भने, ‘पोहोर हिउँद भन्दा अघि जन्मेको बच्चालाई हिंउदमा हिंउ पर्छ भन्ने कुरा थाहा हुन्छ । अनि निर्वाचनको मिति तोक्ने बेलामा थाहा थिएन हिंउदा चिसोले निर्वाचन हुदैन भन्ने कुरा?’
अध्यक्ष ओलीले निर्वाचन शतप्रतिशत निष्पक्ष र धाँधली रहित हुनु पर्ने बताए। ‘निर्वाचनको तयारी निष्पक्ष,मतदान विना डर त्रास र प्रलोभनमा हुनुपर्दछ’ अध्यक्ष ओलीले भने ‘मतपेटिका एक सेकेण्ड पनि पार्टीका प्रतिनिधिको अनदेखा हुनुहुँदैन। त्यसमा सबै चनाखो हुनुहोस। ’



