बुटवल- नेपाल कम्युनिस्ट पार्टी (संयुक्त) का कार्यवाहक अध्यक्ष घनश्याम भुसालले केपी ओली र प्रचण्डले कुर्सी छाडेको दिन कम्युनिस्ट एकता हुने बताएका छन्। ‘कमरेड ओली र कमरेड प्रचण्डले एक्टिभ पोलिटिक्समा रहन्न भनेको दिन लेफ्ट मुभमेन्ट एक हप्तामा एक हुन्छ’, भुसालले रूपन्देहीमा शनिबार आयोजित पत्रकार सम्मेलनमा भने।
उनले कार्यक्रम नीति, सिद्धान्तका हिसाबले अलग हुनुपर्ने कुनै कारण नरहेको बताउँदै नेतृत्वमा मात्रै समस्या रहेको बताए।
भुसालले प्रचण्ड नेतृत्वको नेकपा माओवादी र माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी ढोकाबाट नभई झ्यालबाट एकता भएको बताए। उनले व्यक्तिगत स्वार्थका कारणले एकता भएको बताए। वामपार्टीहरुमा नेतृत्वमा रहेकाहरुले कुर्ची छाडेको दिन एकता हुने र त्यो आवश्यक रहेको समेत भुसालले बताए।
उनले पुराना नेताहरुको नालायकी बोकेर भएको निर्वाचनले अंकगणितमा परिवर्तन ल्याए पनि त्यसले मुलुकको संकट समाधान गर्न नसक्ने बताए। उनका अनुसार निर्वाचन आवश्यकता नभई बाध्यता बनेको छ। निर्वाचन नेपाली जनताले चाहेको नभई संवैधानिक तथा लोकतान्त्रिक प्रक्रियाको असाधारण परिस्थितिका कारण अपरिहार्य बनेको उनको भनाइ छ।
भुसालले मुलुकमा केही समयदेखि उकुसमुकुस रहेको उल्लेख गर्दै जेनजीहरुको प्रदर्शनपछि पनि त्यही समस्या बोकेर निर्वाचन हुन लागेकाले मुलुकको संकट समाधान हुन नसक्ने बताए।
नयाँ र पुराना कुनैले पनि जनताको माग सम्बोधन नगर्ने बताउँदै निर्वाचनपछि झन् समस्या आउन सक्ने दाबी उनको छ। भुसालले राजनीतिक पार्टीहरूको नालायकीपनलाई उजागर गरी राष्ट्रिय संकल्प गर्नुपर्ने भए पनि त्यसो नगरी निर्वाचनमा जाने तयारीले समस्या लुकाउने काम मात्र भएको बताए।
गौरीबहादुर कार्की नेतृत्वको आयोगजस्ता प्रक्रियाले पनि यथार्थ उजागर नगर्ने उनले बताए। यो अवसर गुमाउँदा भूराजनीतिक दबाबमा रहेको सानो राष्ट्रका रूपमा नेपाल झन् कमजोर बन्दै गएको उनको भनाइ छ।
निर्वाचनपछि पनि पुरानै प्रवृत्ति दोहोरिने र विकासको परनिर्भरताको बाटोले रोजगारी नदिने, बिचौलियातन्त्र बलियो हुने र सुशासन नहुने दाबी भुसालको छ।
उनले राजनीतिलाई घरेलुकरण गर्नुपर्ने र पश्चिमेली मोडेलबाट मुक्त भएर नेपाली बाटो खोज्नुपर्नेमा जोड दिए। मुलुकको मूल समस्या परनिर्भर विकास, दलाल पुँजीवाद र बिचौलियातन्त्र भएको भन्दै बौद्धिक वर्ग तथा राजनीतिकर्मीहरूलाई यस्ता प्रश्न उठाई निकास दिन आह्वान गरे। भुसालले ओली, देउवा, प्रचण्ड र माधवकै नालायीका कारण मुलुकको वर्तमान अवस्था उत्पन्न भएको बताए।




