काठमाडौँ- अन्तर्राष्ट्रिय सङ्ग्रहालय परिषद्अन्तर्गत नेपालमा कार्यरत राष्ट्रिय समिति आइकम नेपालको शुक्रबार काठमाडौँमा सम्पन्न नवौं वार्षिक साधारणसभाले रमेशप्रसाद दवाडीको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्य समिति निर्वाचित गरेको छ।
निर्वाचित कार्यसमितिको सचिवमा ओमप्रकाश घिमिरे र कोषाध्यक्षमा सन्तबहादुर गुरुङ चयन भएका छन्। समितिका अन्य सदस्यहरूमा डा.पशुपति न्यौपाने, रोशन मिश्र, शान्ता चौधरी, पवित्रा थपलिया, सन्तोष कुमार सुवेदी र ख्यामप्रसाद शिवाकोटी छन्।
नवनिर्वाचित कार्य समितिले आगामी दिनमा नेपालको सङ्ग्रहालय क्षेत्रलाई थप व्यवस्थित र प्रभावकारी बनाउन विशेषगरी स्थानीय स्तरमा संचालित साना सङ्ग्रहालयहरूलाई मापदण्ड र मानकका आधारमा सक्षम तथा स्तरयुक्त बनाउने दिशामा विशेष पहल गर्ने नवनिर्वाचित सचिव ओमप्रकाश घिमिरेले बताए।
नवनिर्वाचित समितिले आगामी तीन वर्षे कार्यकालका लागि जिम्मेवारी सम्हाल्नेछ। हाल आइकम नेपालमा १९ वटा सङ्ग्रहालय संस्थागत सदस्य तथा ५१ जना व्यक्तिगत सदस्य आबद्ध रहेको संस्थाले जनाएको छ।
आइकम नेपालले नेपालमा सङ्ग्रहालय क्षेत्रको विकास, ज्ञान निर्माण, पैरवी तथा क्षमता अभिवृद्धिका विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ।
आइकमका विश्वभर १२० भन्दा बढी देशमा राष्ट्रिय समितिहरू सक्रिय छन्। त्यसमध्ये नेपालको राष्ट्रिय समितिले पनि पछिल्लो समयमा सक्रियता बढाएको छ।



