काठमाडौँ- नेपाल विद्यालय कर्मचारी परिषद् नवलपरासीको दोस्रो जिल्ला अधिवेशन केन्द्रीय अध्यक्ष गंगाराम तिवारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ। अधिवेशनले आगामी कार्यकालका लागि नयाँ जिल्ला कार्यसमिति चयन गरेको छ। अध्यक्षमा रामेश्वरप्रसाद यादव चयन भएका छन्।
उपाध्यक्षमा सत्तन मल्लाह र भगवती खनाल, सचिवमा विजय कुमार विश्वकर्मा तथा कोषाध्यक्षमा सुजन कुमारी चौधरी चयन भएका छन्। त्यसैगरी सदस्यहरूमा राजेन्द्र जैसवाल, धनबहादुर चौधरी, रविन्द्र हरिजन, सुरज देवकोटा र सञ्जय सहानी चयन भएका छन्।
अधिवेशनलाई सम्बोधन गर्दै केन्द्रीय अध्यक्ष गंगाराम तिवारीले ‘संगठन नै बल हो’ भन्ने सन्देश दिँदै विद्यालय कर्मचारीहरू एकजुट भएर आफ्ना हकअधिकारका लागि निरन्तर संघर्ष गर्नुपर्नेमा जोड दिए।
अध्यक्ष तिवारीले नवलपरासी जिल्लाभरिका विद्यालय कर्मचारीहरूको समस्या समाधानमा नवनिर्वाचित जिल्ला कार्यसमितिले महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा व्यक्त गरे।
साथै, उनले पालिका, जिल्ला र प्रदेशस्तरमा संगठनले आफ्नो जिम्मेवारी पूरा गरेको छ कि छैन भन्ने विषयमा ध्यान दिन आग्रह गरे।
पालिका समिति गठन नभएको अवस्थामा संगठन निर्माणमा विशेष ध्यान दिनुपर्ने बताउँदै सबै ट्रेड युनियनकर्मीहरू आफ्नो हक अधिकारका लागि सधैँ एकताबद्ध भएर लागिरहनुपर्ने उल्लेख गरे।
सरकारबाट सेवासुविधा एकैपटक प्राप्त नहुने भएकाले अधिकार लिन कहिल्यै पछि नहट्नुपर्ने, विद्यालय शिक्षा विधेयक जारी गराउन दबाब दिनुपर्ने र सरकारसँग भएका सहमतिहरू कार्यान्वयन गराउन नेताहरूलाई थप जिम्मेवार बनाउनुपर्ने उनको भनाइ छ।
आर्थिक समस्या देखाएर विद्यालय कर्मचारीलाई धोका दिने नेताहरूको पहिचान गरी सचेत रहनुपर्ने धारणा पनि उनले व्यक्त गरे।



