काठमाडौँ- सांगीतिक ब्यान्ड ‘नेपथ्य’ आगामी फेब्रुअरी २८ मा भारतको सिलिगुडीमा गुञ्जिने भएको छ। सिलिगुडीमा नेपाली लोक–रक ब्यान्ड पहिलोपटक गुञ्जन लागेको हो।
सांगीतिक कन्सर्ट सिलिगुडीस्थित उत्सोधारा टिस्टा टाउनसिप (कावाखाली ग्राउन्ड पछाडि) मा आयोजना हुनेछ।
कन्सर्टको नाम ‘नेपथ्य लाइभ इन सिलिगुडी’ राखिएको छ। आयोजकले कन्सर्टको आधिकारिक टि-सर्ट र मर्चेन्डाइज सार्वजनिक गरेको छ। टि-सर्ट र मर्चेन्डाइज दार्जिलिङका सांसद राजु विष्टले सार्वजनिक गरेका हुन्।
पीभीई नेटवर्क र क्लब ग्राभिटीले संयुक्त रुपमा आयोजना गर्न लागेको कार्यक्रममा सांसद विष्ट प्रमुख अतिथि रहनेछन्।
कन्सर्टमा उत्तर बंगाल, भारतको उत्तर-पूर्वी क्षेत्र, भुटान र नेपालबाट हजारौं दर्शकहरूको उपस्थिति रहने पीभीई नेटवर्कका संस्थापक निर्देशक विकेश कायस्थले बताए।
‘यो कार्यक्रम साधारण सांगीतिक प्रस्तुति मात्र नभई सीमापार सांस्कृतिक संगमको रूपमा स्थापित हुनेछ’, उनले भने, ‘नेपथ्यको प्रस्तुतिमार्फत सिलिगुडीलाई सीमापार सांस्कृतिक कार्यक्रमहरूको उपयुक्त गन्तव्यका रूपमा थप स्थापित गर्ने हाम्रो लक्ष्य हो।’
पीभीई नेटवर्क यतिबेला पूर्वी भारतको लाइभ इन्टरटेनमेन्ट क्षेत्रमा आफ्नो पहिचान विस्तार गर्दै आएको छ।




