काठमाडौँ– नेपाल र जापानबीच पर्यटन कूटनीतिलाई सुदृढ बनाउने उद्देश्यले नेपाल पर्यटन बोर्ड र जापानको वाकायामा प्रिफेक्चरबीच पर्यटन सहकार्यसम्बन्धी समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ।
सोमबार नेपाल पर्यटन बोर्डको सभाहलमा आयोजित कार्यक्रममा दुवै पक्षले संयुक्त प्रवद्र्धन, ज्ञान आदान–प्रदान तथा दिगो पर्यटन विकासका क्षेत्रमा सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन्। समझदारीपत्रमा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी र वाकायामा प्रिफेक्चरका गभर्नर इजुमी मियाजाकीले हस्ताक्षर गरे।
यस समझदारीले संयुक्त पर्यटन प्रवद्र्धन तथा मार्केटिङ, पर्यटनसम्बन्धी सूचना र उत्कृष्ट अभ्यासको आदानप्रदान, विज्ञ तथा अधिकारीहरूको भ्रमण आदानप्रदान, सञ्चार तथा जनसम्पर्क सहकार्य र सांस्कृतिक रूपमा सम्मानजनक तथा दिगो पर्यटन प्रवर्द्धनलाई प्राथमिकता दिने जनाइएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हाले जापानदेखि गभर्नर नेतृत्वको टोलीको नेपाल भ्रमण स्वागतयोग्य कदम रहेको उल्लेख गर्दै नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्षका सन्दर्भमा भएको यो सहकार्य दिगो र उत्तरदायी पर्यटन प्रवर्द्धनका लागि महत्वपूर्ण हुने धारणा व्यक्त गरे।।
त्यसैगरी मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले नेपाल–जापानबीचको दीर्घकालीन सम्बन्ध स्मरण गर्दै यस समझदारीलाई पर्यटन प्रवर्द्धनका लागि ऐतिहासिक कदमका रूपमा व्याख्या गरे।
वाकायामा प्रिफेक्चरका गभर्नर इजुमी मियाजाकीले इतिहास र संस्कृतिले समृद्ध नेपालसँग सहकार्य गर्न पाउँदा खुसी व्यक्त गरे।
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले जापानलाई नेपालको महत्वपूर्ण पर्यटन स्रोत बजारमध्ये एकका रूपमा उल्लेख गर्दै पछिल्लो समय जापानी पर्यटक आगमनमा करिब आठ प्रतिशत वृद्धि भएको जानकारी दिए।
समझदारी हस्ताक्षरको मितिदेखि लागू भई आपसी समझदारीका आधारमा कार्यान्वयन गरिने उल्लेख गरिएको छ। सहकार्यसम्बन्धी गतिविधिको समन्वयका लागि दुवै पक्षले सम्पर्क विन्दु तोक्ने तथा खर्च आ–आफ्नै रूपमा व्यहोर्ने व्यवस्था गरिएको छ। कानुनी रूपमा बाध्यकारी नभए पनि पारस्परिक सद्भाव र विश्वासमा आधारित यो समझदारीले सात दशक लामो नेपाल–जापान सम्बन्धलाई पर्यटनमार्फत थप सुदृढ बनाउने विश्वास गरिएको छ।




