काठमाडौँ- टी-२० विश्वकप क्रिकेटअन्तर्गत इंगल्यान्डविरुद्धको खेलमा नेपालले १८५ रनको लक्ष्य पाएको छ। भारतको मुम्बईस्थित वानखेडे मैदानमा आइतबार टस हारेर पहिले बलिङ गरेको नेपालले उक्त लक्ष्य पाएको हो।
जेकब बेथेल र कप्तान ह्यारी ब्रुकको अर्धशतकको मद्दतमा २० ओभरमा ७ विकेटको क्षतिमा इंग्ल्यान्डले १८४ रन जोड्यो। फिल साल्टलाई डेब्यू खेलाडी शेर मल्लले एक रनमा आउट गरेपछि ब्याटिङमा आएका बेथेलले ३५ बलमा ४ चौका र ४ छक्का प्रहार गरे।
बेथेल १४औं ओभरमा दीपेन्द्रसिंह ऐरीको बलमा लोकेश बमबाट क्याच भएपछि नेपाललाई राहत मिलेको थियो। उनी आउट हुँदा इंग्ल्यान्डले १२८ रन जोडिसकेको थियो। त्यसअघि ड्रिम डेब्यू गर्ने क्रममा आफ्नो पहिलो स्पेल लिएर दोस्रो ओभरमा आउँदा पहिलो बलमै साल्टलाई सन्दीप लामिछानेबाट क्याच गराएका थिए। पहिलो पटक राष्ट्रिय टोलीमा परेका मल्लले टी-२० विश्वकपमा डेब्यू गर्दा पहिलो बलमै विकेट लिन सफल भए।
त्यसपछि जोश बटलरलाई पाँचौ ओभरमा नन्दन यादवले विकेटकिपर आसिफ शेखबाट क्याच गराएका थिए। तीन ओभरमा टम ब्यान्टन २ रनमा सन्दीप लामिछानेको एलबिडब्लूको धरापमा परे। उनले रिभ्यू गरे पनि सफल भएन। बेथेल आउट भएको एक ओभरपछि साम कुरालाई ऐरीले २ रनमा आउट भएका थिए।
कप्तान ह्यारी ब्रुकले पनि इंग्लिस इनिङलाई गति दिए। १९औं ओभरमा नन्दन यादवको बलमा शेर मल्लबाट क्याच भएका ब्रुकले ३२ बलमा ४ चौका र ३ छक्काको मद्दतमा ५३ रन बनाए। अन्तिम ओभरमा तीन छक्का प्रहार गरेका विल ज्याक्सले १८ बलमा ३९ नटआउट रन बनाए।
बलिङमा नेपालका दीपेन्द्रसिंह ऐरी र नन्दन यादवले समान २/२ विकेट लिए। शेर मल्ल र सन्दीप लामिछानेको नाममा समान १/१ विकेट रह्यो। अन्तिम ओभरमा करण केसीले जोफ्रा आर्चरलाई रनआउट गरे पनि तीन छक्का ब्यहोरेका थिए।



