काठमाडौँ- उत्तरी छिमेकी चीनका २३औँ राजदूतका रूपमा झाङ माओमिङले शुक्रबार पदभार ग्रहण गरेका छन्। उनले शिष्टाचार महापाल कुमार खरेललाई ओहोदाको प्रति बुझाएर पदभार ग्रहण गरेका हुन। अर्को साता उनले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेस गर्नेछन्।
झाङले दूतावासमा जिम्मेवारी सम्हालेसँगै नेपाल चीनसम्बन्धलाई अझ सुदृढ र बहुआयामिक बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
शुक्रबार काठमाडौं आइपुगेका राजदूत झाङले चिनियाँ राष्ट्रपति सी जिनपिङले आफूलाई सुम्पिएको जिम्मेवारी वहन गर्न पाउँदा गर्व लागेको बताए। साथै नेपाल-चीन मित्रताको प्रवर्द्धनमा निरन्तर साथ र समर्थन जनाउँदै आएका सबै क्षेत्रका नेपालीप्रति उनले आभार व्यक्त गरे।
राजदूत झाङले नेपाल-चीन ७१ वर्षदेखिका घनिष्ठ छिमेकी राष्ट्र भएको उल्लेख गर्दै पारस्परिक विश्वास, आपसी सम्मान र सहकार्यमा आधारित सम्बन्ध निरन्तर अघि बढिरहेको बताए। नेपालको सार्वभौमिकता, स्वतन्त्रता, भौगोलिक अखण्डता र विकास मार्गप्रति चीनको अटल समर्थन उनले दोहोर्याए। उनले नेपालले निरन्तर ‘एक चीन नीति’ पालना गर्दै आएकोमा चीनले कदर गरेको उल्लेख गरे।
सन् २०१९ मा राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणलाई स्मरण गर्दै उनले उक्त भ्रमणले द्विपक्षीय सम्बन्धलाई समृद्धि र विकासका लागि दीर्घकालीन मित्रतासहितको रणनीतिक सहकार्यमा आधारित साझेदारीमा स्तरोन्नति गरेको बताए।उनका अनुसार बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गतका सहकार्य तथा जनस्तरको आदान-प्रदानले दुवै देशलाई ठोस र प्रत्यक्ष लाभ पुर्याएको छ।
विशेषगरी पूर्वाधार विकास, ऊर्जा, कनेक्टिभिटी, व्यापार विस्तार र सांस्कृतिक आदान–प्रदानका क्षेत्रमा सहकार्य विस्तार हुँदै गएको उनले उल्लेख गरे। आगामी दिनतर्फ संकेत गर्दै राजदूत झाङले चीन अब १५औँ पञ्चवर्षीय योजना अवधिमा प्रवेश गर्न लागेको र उच्चस्तरीय खुलापन अझ विस्तार गर्ने तयारीमा रहेको बताए। यसले नेपालजस्ता साझेदार राष्ट्रहरूका लागि नयाँ अवसर सिर्जना गर्ने उनको भनाइ थियो।
उनले नेपालसँग घनिष्ठ सहकार्य गर्दै साझा विकास, पारस्परिक लाभ र सबै क्षेत्रका सहकार्य अझ गहिरो बनाउने तयारी व्यक्त गरे। साथै, नेपालस्थित चिनियाँ दूतावासले ‘जन-केन्द्रित कूटनीति’ अवलम्बन गर्दै यहाँ रहेका चिनियाँ नागरिकहरूको हकहित संरक्षणमा सक्रिय रहने प्रतिबद्धता जनाए।
राजदूत झाङले नेपाल-चीन रणनीतिक साझेदारीलाई अझ उचाइमा पुर्याउन तथा साझा भविष्यको समुदाय निर्माण गर्न दुवै देशले संयुक्त प्रयास गर्नुपर्नेमा जोड दिए।




