नेपाल १२३ रनमै अलआउट

हिमाल प्रेस २९ माघ २०८२ १६:५५ | Thursday, February 12, 2026
8
SHARES
नेपाल १२३ रनमै अलआउट

काठमाडौँ- आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को दोस्रो खेलमा नेपालले इटालीसामु १२४ रनको लक्ष्य प्रस्तुत गरेको छ। भारतको मुम्बईस्थित वानखेडे रंगशालामा बिहीबार टस जितेर बलिङ रोजेको इटालीविरुद्ध पहिले ब्याटिङ गरेको नेपाल १९.३ ओभरमा १२३ रनमै समेटियो।

नेपालको सुरुवात राम्रो हुन सकेन। ओपनर कुशल भुर्तेल दोस्रो ओभरको अन्तिम बलमा अली हसनको बलमा कभरमा क्याच आउट भए। त्यसअघि नेपालले पहिलो ओभरमा वाइडबाट मात्र रन लिएको थियो। भुर्तेल आउट हुँदा नेपालले ८ रन मात्र बनाएको थियो।

त्यसपछि कप्तान रोहित पौडेलले इनिङ सम्हाल्दै आक्रामक ब्याटिङ गरे। उनले १४ बलमा २ चौकासहित २३ रन बनाए। उनको योगदानसँगै नेपालले पावरप्ले (६ ओभर) मा १ विकेट गुमाएर ४६ रन जोड्यो। तर सातौं ओभरको अन्तिम बलमा रोहित लङअनमा क्याच भए।

लगत्तै आसिफ शेख पनि २० रन (२० बल, २ चौका) बनाएर स्टम्प आउट भए। सुरुवाती तीन विकेट गुमाएपछि दबाबमा परेको नेपाल १० ओभरमा ३ विकेटको क्षतिमा ६७ रनको अवस्थामा थियो।

दीपेन्द्रसिंह ऐरी र आरिफ शेखले चौथो विकेटका लागि ४४ रनको साझेदारी गर्दै इनिङ उकास्ने प्रयास गरे। दीपेन्द्र १८ बलमा १७ रन बनाएर बोल्ड भए। आरिफ शेखले सर्वाधिक २७ रन (२४ बल, ३ चौका) बनाए पनि १६औं ओभरमा क्याच आउट भए।

मध्यक्रम चल्न नसक्दा नेपालले नियमित अन्तरालमा विकेट गुमायो। लोकेश बम ३ रनमै आउट भए भने गुल्सन झा ३ रनमा क्याच भए। नन्दन यादव शून्यमा रनआउट हुँदा नेपाल दबाबमा पर्‍यो।

अन्तिमतिर सन्दीप लामिछाने ५ रनमा र ललित राजवंशी शून्यमा आउट भए। करण केसीले भने ११ बलमा १ चौका र १ छक्कासहित अविजित १८ रन बनाए।

इटालीका स्पिनर बेन मानेन्टी अत्यन्त किफायती सावित भए। उनले ४ ओभरमा ९ रन मात्र खर्चिएर दबाब सिर्जना गरे। यस्तै देब्रेहाते स्पिनर क्रिशन कलुगामागेले ४ ओभरमा १८ रन दिँदै ३ विकेट लिए।

यसअघि नेपाल पहिलो खेलमा इंग्ल्यान्डसँग ४ रनले पराजित भएको थियो भने इटाली स्कटल्यान्डसँग हारेको थियो। नेपालले अब आइतबार वेस्ट इन्डिज र मंगलबार स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ।

प्रकाशित: २९ माघ २०८२ १६:५५ | Thursday, February 12, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast