काठमाडौँ- वरिष्ठ अभिनेता तथा निर्देशक नीर शाहले ‘कमला मिस’ नामक फिल्म बनाउने भएका छन्।
मनोवैज्ञानिक विषयवस्तुमा आधारित रहेर उनले फिल्म ‘कमला मिस’ बनाउन लागेका हुन्। शुभ मुहूर्त गर्दै शुक्रबार फिल्मको औपचारिक घोषणा गरिएको हो।
ललितपुरको इमाडोलस्थित न्यु मिलेनियम स्कुल परिसरमा शुभ मुहूर्तसँगै फिल्मको छायांकन सुरु गरिएको टिमले जनाएको छ।
फिल्मको कथा नाटककार विजय मल्लको नाटक ‘कोही किन बर्बाद होस्’ मा आधारित छ। पटकथा तथा संवाद लेखनमा नीर शाह, प्रजल दुलाल र सुगम दुलालले सहकार्य गरेका छन्।
फिल्ममा मानव मनोविज्ञानका सूक्ष्म आयामलाई केन्द्रमा राखिएको निर्देशक शाहले बताए। उनीसहित फिल्ममा बासना तिमिल्सिना, शिवम सराफ क्षेत्री, आरभ दाहाल, भावना मगर, सुशान्त कुमार श्रेष्ठ, जयन्त रेग्मीलगायत कलाकारको अभिनय रहनेछ।

विजय मल्ल स्मृति प्रतिष्ठानकाे प्रस्तुतीमा बन्ने फिल्ममा कार्यकारी निर्माता उमेश मल्ल र चैतन्य प्रधान छन्। सागर बोहरा मुख्य सहायक निर्देशक रहेकाे फिल्मका लाइन प्रोड्युसर पुष्कर लामा (प्रेम भोम्जन) हुन्।
निर्देशक शाहले एक दशकपछि फिल्म निर्देशनमा पुनरागमन गरेका हुन्। तीन सयभन्दा बढी फिल्ममा अभिनय गरेका शाहले निर्देशन गरेको फिल्ममा ‘वासुदेव’, ‘पच्चीस वसन्त’, ‘राजमती’, ‘वसन्ती’, ‘मसान’, ‘सेतोबाघ’लगायत छन्।
पछिल्लो समय शाह अभिनीत फिल्म ‘परान’ ले बक्स अफिसमा करिब १८ करोड रुपैयाँ कलेक्सन गरेको छ।




