काठमाडौँ- नेपाल कम्युनिस्ट पार्टी (बहुमत)ले महासचिव धर्मेन्द्र बास्तोलाको पक्राउप्रति आपत्ति जनाउँदै तत्काल रिहा गर्न माग गरेको छ। पार्टीले मंगलबार राति प्रेस वक्तव्य जारी गर्दै पक्राउ परेका बास्तोलासहति पक्राउ परेका नेताहरूलाई तत्काल रिहा गर्न माग गरेको हो।
जारी वक्तव्यमा महासचिव बास्तोला र काभ्रे जिल्ला सेक्रेटरी विष्णु तिमिल्सिनालाई संगठनात्मक कामकै क्रममा साँझ काठमाडौँको खिचापोखरीस्थित टेबहालबाट गिरफ्तार गरिएको उल्लेख गरिएको छ।
वक्तव्यमा भनिएको छ, ‘हाम्रो पार्टीका महासचिव कमरेड धर्मेन्द्र बास्तोला ‘कञ्चन’ र काभ्रे जिल्ला सेक्रेटरी कमरेड विष्णु तिमिल्सिनालाई संगठनात्मक कामको सिलसिलामा भएको बेला आज मिति २०८२ फागुन ५ गते करिब ५ः४० बजे काठमाडौँको खिचापोखरी स्थित टेबहालबाट वर्तमान सरकारले गिरफ्तार गरेको छ। आजै देशव्यापी नेपाल बन्दको कार्यक्रम शान्तिपूर्णरुपमा र जनताको भरपुर सहयोगकासाथ सम्पन्न भए लगतै साँझको समयमा अत्यन्त कायरतापूर्ण शैलीमा गरिएको गिरफ्तारीप्रति पार्टी घोर भर्त्सना गर्दछ।’
पार्टीले चुनावको विरोधका क्रममा गरिएको गिरफ्तारीलाई न्यूनतम लोकतान्त्रिक अधिकारको उपहास भन्दै संवाद र सहमति विपरीत कदम भएको टिप्पणी गरेको छ ।मानवअधिकारवादी संघ–संस्थालाई रिहाइका लागि पहल गर्न अपिल समेत गरेको छ।




